अर्थ संसार, काठमाडौँ– पुरानो बसपार्कअघि एक मोटरसाइकलको ठक्करबाट घाइते बनेका बटुवाको उपचारका क्रममा मृत्यु भएको छ ।
आज बिहान ५ बजे बा८३प ५७८७ नंको मोटरसाइकलको ठक्करबाट शंखरापुर नगरपालिका–९ का ४५ वर्षीय हरि थापा घाइते हुनुभएको थियो । वीर अस्पताल ट्रमा सेन्टरमा उपचार हुँदाहुँदै उहाँको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी वृत्त दरबारमार्गका प्रहरी निरीक्षक सुनिलजंग शाहले जानकारी दिनुभयो ।
मोटरसाइकल चालक भक्तपुर चाँगुनारायण नगरपालिकाका २८ वर्षीय योगेन्द्र तामाङको पनि ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
पुरानो बसपार्कमा भ्यू टावर निर्माण गर्न थालेपछि खुला मञ्चमा बसपार्क सारिएपछि बसपार्क अव्यवस्थित बनेको यात्रुहरुको गुनासो छ ।
सारिएको बसपार्क कालोपत्र गरेको एक वर्ष पनि नपुग्दै भत्किएर खाल्डाखुल्डी बनेको छ । वीर अस्पताल अघिको बसपार्कमा मोटरसाइकल, कारलगायत निजी सवारीसाधन पनि प्रवेश गर्न दिँदा दुर्घटना बढ्ने खतरा रहेको यात्रु बलराम महर्जनले बताउनुभयो ।
बसपार्कमा पेटी पनि नहुँदा बस कुरेर बस्ने यात्रुलाई पनि ठक्कर दिने सम्भावना बढेको छ । बसपार्कमा कालोपत्र गरेको एक वर्ष पनि नपुग्दै खाल्डाखुल्डी परेकाले कसले पुनः निर्माण गर्ने भन्ने विषयमा छलफल भइरहेको काठमाडौँ महानगरपालिका राजश्व विभागका उपप्रमुख महेश काफ्लेले बताउनुभयो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस