Like us!
Follow us!
Connect us!
Watch us!

मंगलबार दिनभरको समाचार एकैपटक (भिडियो)

अर्थ संसार

मंगलबार, २७ मंसिर २०७९, २२ : २३ मा प्रकाशित

आज (मंसिर २७ गते, मंगलबार) दिनभरका प्रमुख आर्थिक समाचारहरू तल उल्लेख गरिएकाे छ । 

१. वाणिज्य बैंकहरुले पुसमा पनि ब्याजदर स्थिर राख्ने निर्णय गरेका छन् । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको सोमबार बसेको बैठकमा बैंकरहरुले मंसिरकै ब्याजदरलाई पुसमा निरन्तरता दिने निर्णय गरेका हुन्। जस अनुसार अब पुसमा पनि बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर १२.१३३ प्रतिशत, संस्थागत मुद्दति निक्षेपको ब्याजदर १०.१३३ प्रतिशत र रेमिट्यान्समा १२.१३३ प्रतिशत ब्याजदर कायम गर्नेछन् ।

२. अपर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडले १:१ को अनुपातमा १०० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रकृया अघि बढेकाे छ । कम्पनीले प्रति सेयर एक सय रूपैयाँ दरले हुने १० कराेड ५९ लाख कित्ता हकप्रद सेयर निष्कासन गर्न बिक्री प्रबन्धकमा  नागरिक लगानी कोषलाई  नियुक्त गरेको छ  । नागरिक लगानी कोषले आफु मुख्य निष्कासन तथा बिक्री प्रबन्धक भई सनराइज क्यापिटल लिमिटेडलाई सहनिष्काशन तथा बिक्री प्रवन्धकको रुपमा नियुक्त्त गरेको छ ।

३. कच्चा तेलको मूल्य सन् २०२२ को न्यून स्तरमा झरेको छ। इकोनोमिक टाइम्समा प्रकाशित एक रिपोर्टका अनुसार कच्चा तेलको मूल्य प्रतिब्यारेल ७६ डलर नजिक कारोबार भइरहेको छ । उक्त मूल्य गत मार्चमा १२९ डलरबाट तीव्र गिरावट आएपछि २०२२ मा सबैभन्दा न्यून स्तरमा झरेको हो । आगामी दिनमा कच्चा तेलको भाउमा अझै गिरावट आउन सक्ने विज्ञहरु बताउँछन् ।

४. विजय लघुवित्त र नयाँ सारथी लघुवित्तबीच मर्जर सम्झौता भएको छ । यी दुई संस्थाबीच हिजाे (साेमबार) मर्जरको लागि प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको छ । याेसँगै नेप्सेमा आधारभूत सेयरधनीको सेयर कारोबार रोक्का गरिएकाे छ ।

५. नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलबार एकैचाेटी ३ कम्पनीको साधारण सेयर (आईपीओ) सूचिकृत भएको छ । इष्टर्न हाइड्राेपावरको ६२ लाख कित्ता, पिपुल्स हाइड्राेपावरको ३ कराेड २० लाख कित्ता र श्रृजनशिल लघुवित्तको १० लाख ९३ हजार ७ सय ५० कित्ता आईपीओ नेप्सेमा सूचिकृत भएको हो ।यी ३ वटै कम्पनीकाे काराेबार बुधबारबाट नेप्सेमा सुरू हुनेछ । 

६. मंगलबार नेप्से परिसूचकसँगै काराेबार रकम पनि घटेकाे छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक २.५७ अंकले घटेर १८९९.७० विन्दुमा पुगेकाे छ । नेप्से ०.१३ प्रतिशतले घटेकाे हो । सेन्सेटिभ परिसूचक पनि १.६३ अंकले घटेर ३७१.३० विन्दुमा झरेको छ । कूल २४८ वटा कम्पनीकाे २० लाख ५८ हजार ५ सय १० कित्ता सेयर खरिदबिक्री हुँदा ७७ करोड ७० लाख ८९ हजार एक सय ६५ रूपैयाँ बराबरको कारोबार भएकाे छ ।

७. शुभम पावर कम्पनी लिमिटेडले पाैष ६ गते, बुधबारदेखि वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता एक सय अंकित दरमा  ५८ हजार ५८ कित्ता सेयर निष्कासन गर्न लागेको हो । वैदेशिक रोजगारीमा गएका नेपालीले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म पाैष २० गतेसम्म आवेदन दिन पाउनेछन् ।

८. एशियन हाइड्रोपावरले आजदेखि पहिलाे चरणकाे आईपीओ निष्कासन गरेकाे छ । कम्पनीले प्रतिकित्ता एक सय अंकित दरमा  ३ लाख ४० हजार कित्ता सेयर आयोजना प्रभावित स्थानीयका लागि र ८४ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा गएका नेपालीका लागि निष्कासन गरेकाे हो । यस आईपीओमा स्थानीय तथा वैदेशिक रोजगारीमा गएका नेपालीले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । उक्त आईपीओमा स्थानियले छिटोमा पाैष १२ गतेसम्म र ढिलोमा पाैष २७ गतेसम्म आवेदन दिन सक्नेछन् ।  वैदेशिक रोजगारीमा गएका नेपालीहरूले भने पाैष १२ गतेसम्म मात्रै आवेदन दिन पाउनेछन् ।

९.  नबिल बैंक लिमिटेडले केही संस्थापक सेयरहरू बिक्री गर्न लागेको छ । बैंककाे संस्थापक शेयरधनी हिमालयन क्यापिटल मार्केट्स एन्ड इन्भेष्टमेन्टले आफ्नाे नाममा रहेकाे ३ लाख २ हजार ५ सय ४५ कित्ता संस्थापक सेयर बिक्री गर्न निवेदन दिएका हुनाले बैंकले उक्त सेयर बिक्री गर्न लागेकाे हाे ।

१०. प्रभु बैंक लिमिटेडले मंसिर २८ गतेदेखि ४० लाख कित्ता संस्थापक सेयरहरू बिक्री गर्ने भएकाे छ । उक्त सेयरकाे मूल्य प्रतिकित्ता १२६ रुपैयाँ तोकिएको छ । लगानीकर्ताहरूले साेही मूल्यलाई आधार मानेर सो वा साे भन्दा बढी मूल्य कबोल गरी बोलपत्र पेश गर्नुपर्नेछ । उक्त सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनी, अन्य इच्छुक व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले पुस १३ गते कार्यालय समयभित्र न्यूनतम १० हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

११.  मंगलबार सुनकाे मूल्य ताेलामा २ सय रूपैयाँले घटेर प्रतिताेला एक लाख रूपैयाँमा काराेबार भएकाे छ । मंगलबार चाँदीको मूल्य भने स्थिर रही प्रतिताेला १३ सय ९० रुपैयाँमा काराेबार भएकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको