Like us!
Follow us!
Connect us!
Watch us!

आइतबार दिनभरका आर्थिक समाचार (भिडियाे)

अर्थ संसार

आइतबार, ०३ पुस २०७९, २१ : ५४ मा प्रकाशित

आज (पाैष ३ गते, आइतबार) दिनभरका प्रमुख आर्थिक समाचारहरू तल उल्लेख गरिएकाे छ ।

१. बाराही हाइड्रोपावरकाे आईपीओ आज बाँडफाँड गरिएकाे छ । गाेलाप्रथाबाट बाँडफाँड गर्दा ५१ हजार ५ सय २२ जनाले १० कित्ता सेयर प्राप्त गरेका छन् । कम्पनीकाे आईपीओकाे नतिजा iporesult.cdsc.com.np बाट हेर्न सकिन्छ । 

२. मुक्तिनाथ विकास बैंक लिमिटेडले लाभांश घाेषणा गरेकाे छ । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको १३.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७१०५  प्रतिशत नगद गरी कुल १४.२१०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

३. गत वर्ष ४६ प्रतिशत लाभांश वितरण गरेकाे मञ्जुश्री फाइनान्सले यस वर्ष भने लाभांश वितरण नगर्ने भएकाे छ । कम्पनीकाे पाैष १ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षकाे मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई कुनै पनि प्रकारकाे लाभांश वितरण नगर्ने निर्णय गरेकाे हाे ।

४. महालक्ष्मी विकास बैंक लिमिटेडले लाभांश घाेषणा गरेकाे छ । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई ४ प्रतिशत बाेनस सेयर र कर प्रयाेजनका लागि समेत गरी ६.४७ प्रतिशत नगद गरी कुल १०.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे हाे ।

५. साईन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको १४ औँ वार्षिक साधारण सभा पुस २५ गते, साेमबार ड्रिमल्यान्ड गोल्ड रिसोर्ट, मणिग्राम रुपन्देहिमा हुनेछ । सभाले बैंकले घाेषणा गरेको १३.३० प्रतिशत बोनस सेय र ०.७० नगद लाभांश (कर प्रयोजन) गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । बैंकले साधारण सभा तथा लाभांश प्रयोजनार्थ पुस १२ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ त्यसैले पुस ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

६. साताकाे पहिलाे काराेबार दिन आज (आइतबार) पनि सेयर बजारले ओरालो यात्रालाई निरन्तरता दिएको छ । नेप्से परिसूचक २७.५४ अंकले घटेर १८५५.०६ विन्दुमा झरेकाे छ । नेप्से १.४६ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ५.२२ अंकले घटेर ३६२.८२ विन्दुमा झरेकाे छ ।कूल २५० वटा कम्पनीकाे ३७ लाख ७८ हजार ९ सय ५१ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब १५ करोड ७१ लाख ५५ हजार रूपैयाँ बराबरको कारोबार भएकाे छ ।

७. नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । बैंककाे ४.७५ प्रतिशत बाेनसपछि नेप्सेले प्रतिकित्ता एक सय ७६ रूपैयाँ ६१ पैसा कायम हुनेगरी मूल्य समायाेजन गरेको छ । नेप्सेले अन्तिम कारोबार मूल्य एक सय ८५ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

८. सानिमा बैंक लिमिटेडकाे १८औँ वार्षिक साधारण सभा आज सम्पन्न भएकाे छ । बैंककाे साधारण सभा आम्रपाली बैक्ङ्क्वेट, बालुवाटार काठमाडौँमा सम्पन्न भएकाे हाे । सभामा गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई १० प्रतिशत बाेनस सेयर र ०.९८ प्रतिशत नगद गरी कुल १०.९८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिएकाे छ । 

९. सामुदायिक लघुवित्त वित्तिय संस्था लिमिटेड र विपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडबीच मर्जर सम्झौता भएको छ । यी दुई संस्थाबीच पाैष १ गते, शुक्रबार मर्जरको लागि प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको हाे। याेसँगै सामुदायिक लघुवित्तका आधारभुत शेयरधनीहरुको सेयर कारोबार रोक्का राखिएकाे छ । विपिडब्लु लघुवित्त भने नेप्सेमा सूचिकृत छैन । 

१०. नेपाल हाइड्रो डेभलपर्स लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । कम्पनीकाे साेह्राैँ वार्षिक साधारण सभा पाैष २९ गते, शुक्रबार लिसारा रिसेप्सन्स, नक्साल, काठमाडाैँमा बिहान ११ बजेदेखि सुरू हुनेछ । सभामा गत आर्थिक वर्ष २०७८/७९ काे मुनाफाबाट कम्पनीका शेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर र ०.२६३२ प्रतिशत नगद लाभांश (कर प्रयोजन) गरी कुल ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने पारित गरिनेछ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि पाैष ११ गते बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, पाैष ७ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भई कायम हुने सेयरधनीहरूले मात्रै साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

११. सुनकाे भाउ पुन: ताेलामा एक लाख नाघेकाे छ । आइतबार सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५ सय रुपैयाँ कायम भएको छ ।  आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर १३ सय ८० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । 

भिडियाे हेर्नुहाेस् :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको