Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश घोषणा, सेयर बजार  २२ सय विन्दुमाथि

अर्थ संसार

सोमबार, २५ पुस २०७९, १७ : ५३ मा प्रकाशित

आज (पाैष २५ गते, साेमबार) दिनभरका प्रमुख आर्थिक समाचारहरू तल उल्लेख गरिएकाे छ ।

१. प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ६.७० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.३५ प्रतिशत नगद  लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बीमा प्राधिकरणले स्वीकृति दिएपछि र  कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ ।

२. अनलाइन मार्फत हुने अवैध डिजिटल कारोबारका वेबसाइट, एप र सञ्जालसम्मको पहुँच  रोक्न नेपाल  दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई निर्देशन दिएको छ । अनलाइन प्रविधिमार्फत हुने क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाइपर नेटवर्किङ, अनलाइन सेवालगायतका गैरकानुनी क्रियाकलाप तथा आर्थिक  अपराधसँग  सम्बन्धित  वेबसाइट,  एप, अनलाइन सञ्जाललगायतका भर्चुअल माध्यम  नेपालभित्र  प्रयोग,  सञ्चालन  र  व्यवस्थापन  नगर्न प्राधिकरणले  निर्देशन  दिएको हो ।

३. नेपाली सेयर बजार  २२ सय विन्दुमाथि पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार साेमबार नेप्से परिसूचक ४७.१५ अंकले बढेर २२११.७६ विन्दुमा पुगेकाे छ । नेप्से २.१८ प्रतिशतले बढेकाे हाे । यस्तै, सेन्सेटिभ परिसूचक पनि ८.६८ अंकले बढेर ४१९.९१ विन्दुमा पुगेकाे छ । कूल २५७ वटा कम्पनीकाे एक कराेड ४६ लाख ७६ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ३१ करोड ४३ लाख ७ हजार रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ । बढेकाे बजारमा हाइड्राेपावरतर्फ लगानीकर्ताकाे आकर्षण देखिएकाे छ ।

४. ग्लोबल आईएमई बैङ्क र बैङ्क अफ काठमाण्डूको एकीकृत कारोबार आजदेखि सुरू भएकाे छ । ग्लोबल आइएमई बैंक लिमिटेडको नामबाट एकिकृत कारोबार सुरू भएकाे हाे । दुवै बैंक १ः१ अर्थात बराबरी हैसियतमा मर्जरमा गएर आजदेखि एकीकृत कारोबार सुरु गरेका हुन् ।

५. नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा २ वाणिज्य बैंककाे काराेबार राेक्का हुने भएकाे छ ।  नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपाल लिमिटेडले पुस २७ गतेदेखि एकिकृत काराेबार सुरू गर्ने भएका छन् । याेसँगै दुवै बैंकको सेयर कारोबार पुस २७ गतेदेखि १५ दिनका लागि रोक्का हुने भएको हाे ।

६. सानिमा मिडिल तमोर हाइड्रोपावर कम्पनी लिमिटेडले माघ ४ गते, साेमबारदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र  वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई आईपीओ निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता एक सय अंकित दरमा आयोजना प्रभावित स्थानीयको लागि ३३ लाख ३२ हजार ५ सय कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई  ४ लाख ९९ हजार ८ सय ७५ कित्ता आईपीओ निष्कासन गर्न लागेकाे हाे । स्थानीय तथा वैदेशिक रोजगारीमा गएका नेपालीले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । उक्त आईपीओमा स्थानियले छिटोमा माघ १८ गतेसम्म र ढिलोमा फागुन ४ गतेसम्म आवेदन दिन सक्नेछन् ।  वैदेशिक रोजगारीमा गएका नेपालीहरूले भने माघ १८ गतेसम्म मात्रै आवेदन दिन पाउनेछन् ।

७. नेपाल राष्ट्र बैंकले २ अर्ब १० कराेड रुपैयाँ बराबरकाे रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएकाे छ । बैंकले उपदान तथा पेन्सन काेषमा रहेकाे २ अर्ब १० कराेड रूपैयाँ बराबरकाे रकम  ३६६ दिनकाे अवधिका लागि बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्न लागेकाे हाे । बैंक तथा वित्तीय संस्थाले पाैष २६ गते बेलुका ७ बजेभित्र आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको व्याजदर समेत खुलाएर राष्ट्र बैंकमा पेश गर्नुपर्नेछ ।

८. एभरेष्ट बैंक लिमिटेडले आजबाट ऋणपत्र निष्कासन गरेकाे छ । बैंकले १० वर्ष अवधि भएकाे वार्षिक ७.५ प्रतिशत व्याज भएकाे "एभरेष्ट बैंक लिमिटेड उर्जा ऋणपत्र, २०८९" नाममा ऋणपत्र निष्कासन गरेकाे हाे । बैंकले प्रतिकित्ता १००० रूपैयाँ अंकित दरमा २ अर्ब रूपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्कासन गर्नेछ । जसमध्ये बैंकले सर्वसाधारणका लागि ८  लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई १२ लाख कित्ता बिक्री गर्नेछ ।लगानीकर्ताले यस ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम ८ लाख कित्ताका लागि छिटोमा पाैष २८ गते र ढिलोमा माघ १० गतेसम्म आवेदन दिन सक्नेछन् ।

९. नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा पनि घटेको छ ।  नेपाल आयल निगमले आइतबार मात्रै हवाई इन्धनको मूल्यमा प्रतिलिटर २० रुपैयाँ घटाएको थियो ।  वायुसेवा सञ्चालक संघका अनुसार काठमाडौंबाट धनगढीको उडानमा सबैभन्दा धेरै ८ सय ८५ रुपैयाँ भाडा घटेको छ । अन्य रूटमा पनि साेही अनुसार भाडादर घटेकाे छ । यो भाडादर पुस २७ गतेबाट बाट लागु हुने वायुसेवा सञ्चालक संघले जनाएको छ ।

१०. सुनको भाउ लगातार बढेर रेकर्ड नजिक पुगेकाे छ । सोमबार सुनकाे भाउ ताेलामा ६ सय रुपैयाँले बढेर प्रतिताेला १ लाख ३ हजार ९ सय रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर १३ सय ९० रुपैयाँ कायम भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको