Like us!
Follow us!
Connect us!
Watch us!

३ कम्पनीकाे काराेबार फुकुवा, पछिल्लो ६ महिनाको तुलनामा अझ धेरै डिपोजिट बढ्ने

अर्थ संसार

बुधबार, ११ माघ २०७९, १७ : ५६ मा प्रकाशित

आज (बुधबार) का प्रमुख समाचारहरू तल उल्लेख गरिएकाे छ :

१. बुधबार नेप्से परिसूचकसँगै काराेबार रकम पनि बढेकाे छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक १०.३७ अंकले बढेर २१८३.६२ विन्दुमा पुगेकाे छ । नेप्से ०.४८ प्रतिशतले बढेकाे हो । यता सेन्सेटिभ परिसूचक भने १.३० अंकले घटेर ४१४.२४ विन्दुमा पुगेको छ । कूल २६१ वटा कम्पनीकाे ९५ लाख ३२ हजार ८ सय ६७ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ४६ कराेड ६५ लाख ८ हजार रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

२. लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको लाभांश संसोधन भएको छ । नेपाल बीमा प्राधिकरणकाे निर्देशनपछि कम्पनीले लाभांश संसोधन गरेको हो  । अब कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई ६.९९ प्रतिशत बाेनस सेयर र ०.३६७९ प्रतिशत नगद लाभांश वितरण गर्नेछ ।

३. नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सरकारी स्वामित्वका तीन बैंकहरुलाइ पनि मर्जरमा जान सुझाव दिएका छन् ।  मंगलबार राष्ट्रिय वाणिज्य बैंकको वार्षिकोत्सव कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले सरकारको लगानी रहेका तीन वटा वाणिज्य बैंक पनि आपसी छलफल गरेर मर्जरमा जानुपर्ने सुझाव दिएका हुन् ।  पछिल्लो समय निजी क्षेत्रका वाणिज्य बैंकको मर्जरले सरकारी बैंक सानो हुन नखोज्दा खोज्दै पनि सानो बन्नुपर्ने अवस्था आएको भन्दै सरकारी बैंकले पनि अहिलेको आवश्यकतालाई बुझेर मर्जरमा जानुपर्ने उनकाे तर्क छ । 

४. नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले थप ३ कम्पनीकाे काराेबार फुकुवा गरेकाे छ । नेप्सेले सगरमाथा इन्स्याेरेन्स कम्पनी, प्रभु इन्स्याेरेन्स कम्पनी लिमिटेड र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडकाेआधारभूत सेयरधनीबाहेकको सेयरधनीहरूको सेयर कारोबार फुकुवा गरेको हो । याे सँगै अब भाेलि बिहीबारबाट दाेश्राे बजारमा तीन वटै कम्पनीकाे काराेबार सुरू हुनेछ । 

५. आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीहरूको बैंक खातामा नगद लाभांश पठाएको छ । हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुकाे सम्बन्धित बैंक खातामा ३ प्रतिशत लाभांश जम्मा गरिएकाे संस्थाले जनाएकाे छ । संस्थाले हालसम्म पनि आफ्नो सेयर प्रमाणपत्रहरु अभौतिकीकरण नगराउने सेयरधनीहरुलाई यथाशीघ्र आफ्नो सेयर प्रमाणपत्र अभौतिकीकरण गराई हितग्राही खातामा आफ्नो बैंक खाता अद्यावधिक गराएर नगद लाभांश लिन अनुरोध गरेको छ । 

६. बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । कम्पनीकाे चाैधाैँ वार्षिक साधारण सभा फागुन ५ गते हुनेछ । सभामा वित्तीय विवरणहरू स्विकृत गर्ने, सञ्चालक नियुक्त गर्ने, ॠण अनुमाेदन गर्ने लगायतका प्रस्तावहरू पारित गरिनेछ ।

७. नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बैंकहरुमा निक्षेप आउने क्रम बढ्दो चरणमा रहेको र चालु आर्थिक वर्षको बाँकी ६ महिनाको अवधिमा पछिल्लो ६ महिनाको तुलनामा अझ धेरै डिपोजिट बढ्न सक्ने देखिएको बताएका छन् । पत्रकारहरूसँगकाे अन्तरक्रिया कार्यक्रममा बाेल्दै उनले यस्ताे बताएका हुन् । आउने ६ महिनामा बैंकहरुमा ६० देखि ६५% डिपोजिट थपिने उनकाे तर्क छ ।

८. एशियन हाइड्रोपावर कम्पनी लिमिटेडले पहिलाे चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि निष्कासन गरेकाे आईपीओ बाँडफाँड गरिएकाे छ । उक्त आईपीओ हिजाे बाँडफाँड गरिएकाे हाे । कम्पनीकाे आईपीओकाे नतिजा निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडकाे वेबसाइटबाट हेर्न सकिन्छ ।

९. जिल्ला प्रहरी परिसर, काठमाण्डौँले बोतल र जर्किनमा पेट्रोलियम पदार्थ नबेच्न अनुराेध गरेकाे छ ।  सुरक्षा संवेदनशीलताको सूचना विपरित पेट्रोलियम पदार्थको बिक्री वितरण गरिएको पाइएमा प्रचलित कानून बमोजिम हदैसम्मको कानूनी कारबाही हुने प्रहरीले जनाएकाे छ ।

१०.  बुधबार सुनकाे भाउ ताेलामा एक सय रूपैयाँले घटेर प्रतितोला एक लाख ६ हजार २ सय रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको भाउ भने स्थिर रही ताेलामा १३ सय ६५ रुपैयाँ नै कायम रहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको