Like us!
Follow us!
Connect us!
Watch us!

बम्पर लाभांश घोषणा, २०० प्रतिशत हकप्रद निष्कासन गर्ने

अर्थ संसार

आइतबार, १५ माघ २०७९, १७ : ३५ मा प्रकाशित

आइतबार दिनभरका प्रमुख आर्थिक समाचारहरू तल उल्लेख गरिएकाे छ :

१. उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले बम्पर लाभांश घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ६१.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ३.२५ प्रतिशत नगद गरी कुल ६५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।

२. हिमालयन उर्जा विकास कम्पनी लिमिटेडले हाल कायम चुक्ता पूँजीको २०० प्रतिशत हकप्रद निष्कासन गर्ने भएको छ । कम्पनीकाे गत शुक्रबार बसेको सञ्चालक समितिकाे बैठकले १ः२ को अनुपातमा २ सय प्रतिशत हकप्रद निष्कासन गर्ने निर्णय गरेको हो । सञ्चालक समितिले प्रस्ताव गरेकाे हकप्रद सेयर विद्युत नियमन आयोगबाट सहमति प्राप्त भएपछि र आगामी बस्ने कम्पनीको वार्षिक साधारण सभाबाट अनुमोदन गरी सेबाेनबाट स्वीकृति प्राप्त भएपछी मात्र बिक्री गरिनेछ ।

३. सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ११ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५८ प्रतिशत नगद लाभांश गरी कुल ११.५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ । 

४. मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनी लिमिटेडले आजदेखि पहिलाे चरणकाे आईपीओ निष्कासन गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि आईपीओ निष्कासन गरेकाे हो । कम्पनीले स्थानीयलाई ७ लाख ६० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १ लाख ५२ हजार कित्ता सेयर बिक्री गरेकाे छ । यस आईपीओमा स्थानियले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म र वैदेशिक राेजगारीमा गएका नेपालीहरूले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले छिटोमा माघ २९ गतेसम्म  आईपीओ भर्न सक्नेछन् । आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि आवेदन दिने म्याद फागुन १५ गतेसम्म लम्बिनेछ ।

५. आशा लघुवित्त वित्तिय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । समिक्षा अवधिसम्म आइपुग्दा संस्थाकाे नाफा ५८ प्रतिशतले घटेर ३ करोड ६९ लाख ४१ हजार रुपैयाँमा झरेकाे छ । संस्थाको खुद व्याज आम्दानी पनि २४.३४ प्रतिशत र सञ्चालन मुनाफा ५९.०६ प्रतिशतले घटेको छ । संस्थाको ईपीएस २२ रुपैयाँ १७ पैसा पुग्दा प्रतिसेयर नेटवर्थ १९७ रुपैयाँ ८७ पैसा रहेको छ ।

६. आइतबार नेप्से परिसूचक दाेहाेराे अंकले घटेकाे छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (आइतबार) सेयर कारोबार मापक नेप्से परिसूचक १४.६८ अंकले घटेर २१६८.५३ विन्दुमा झरेकाे छ । नेप्से ०.६७ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि २.८३ अंकले घटेर ४१०.३१ विन्दुमा झरेकाे छ । कूल २६७ वटा कम्पनीकाे ८२ लाख ७६ हजार ७ सय ५१ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब एक करोड ७० लाख ६३ हजार रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

७. हाइड्रोइलेक्ट्रोसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड एचआईडीसीएलले यसअघि चार पटक लिलामीमा बिक्री खुल्ला गरेकाे संस्थापक सेयर बिक्री नभएपछि माघ २२ गते, आइतबारदेखि पुन: लिलाम बढाबढ गरी बिक्री खुल्ला गर्ने भएकाे छ । कम्पनीले जारी गरेकाे हकप्रद सेयरमध्ये संस्थापक समूह अन्तर्गत बिक्री नभएकाे २ करोड २१ लाख ९७ हजार ३२५ कित्ता सेयर पुन: लिलाम बढाबढ गरी बिक्री खुल्ला गर्न लागेकाे हाे । उक्त सेयरको न्यूनतम मूल्य प्रतिसेयर एक सय रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्युनतम एक सय कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण सेयरका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले माघ २२ गतेदेखि फागुन ८ गतेभित्र शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

८. अपि पावर कम्पनी लिमिटेडले हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद निष्कासन गर्न नियमनकारी निकाय विद्युत नियमन आयोगबाट सहमति पाएको छ । कम्पनीले सञ्चालन गरी विद्युत उत्पादन गरिरहेको आयोजनाहरुको ऋणमोचन गर्न १ः०.४० को अनुपातमा १०० अंकित दरका १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद निष्कासन गर्ने निर्णय गरेकाे थियाे । साेही हकप्रद निष्कासन गर्न विद्युत नियमन आयोगको पूर्व स्वीकृति प्राप्त भएकाे हाे ।

९. अनुमति बिना कमोडिटी मार्केट सञ्चालनप्रति धिताेपत्र बाेर्डले ध्यानाकर्षण जनाएकाे छ । वस्तु विनिमय बजार सम्बन्धी ऐन, २०७४ को दफा ३ बमोजिम अनुमतिपत्र प्राप्त नगरी कसैले पनि वस्तु विनिमय बजार र सोसँग सम्बन्धित व्यवसाय सञ्चालन गर्न नहुने व्यवस्था रहेको छ । बोर्डले हालसम्म वस्तु विनिमय बजार र सोसँग सम्बन्धित व्यवसाय गर्न कसैलाई पनि अनुमति प्रदान गरेकाे छैन । कमोडिटी मार्केट सञ्चालनका लागि सेबाेनले दुई वटा लाइसेन्स वितरण गर्ने प्रकृया सर्वोच्च अदालतको अल्पकालिन आदेश बमाेजिम यतिबेला स्थगित गरिएकाे छ । त्यसैले वस्तु विनिमय बजार र सोसँग सम्बन्धित व्यवसायहरु अनुमति नलिई संचालन गरेमा गैरकानुनी हुने र प्रचलित कानुन बमोजिम कारबाही हुने  बाेर्डले जनाएकाे छ ।

१०.  आइतबार सुनकाे भाउ तोलामा २ सय रुपैयाँले बढेर प्रतिताेला १ लाख ६ हजार रुपैयाँ कायम भएको छ ।  आइतबार चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले घटेर १३ सय ६५ रुपैयाँ कायम भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको