Like us!
Follow us!
Connect us!
Watch us!

सर्वसाधारणका लागि आईपीओ निष्कासन. बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

अर्थ संसार

बुधबार, १८ माघ २०७९, १८ : १९ मा प्रकाशित

बुधबार दिनभरका प्रमुख आर्थिक समाचारहरू तल उल्लेख गरिएकाे छ :

१. शुभम पावर कम्पनी लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेकाे छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका  ४ लाख ८१ हजार ८ सय २२ कित्ता सेयर सर्वसाधारणहरुमा निष्कासन गरेकाे हो। यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले छिटोमा माघ २२ गतेसम्म र ढीलोमा फागुन ३ गतेसम्म आवेदन दिन सक्नेछन् ।

२. अपि पावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको साधारण सभा फागुन १४ गते मैत्रीहल, बानेश्वर ब्याङ्क्वेट थापागाउँमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीका सेयरधनीलाइ हाल कायम चुक्ता पूँजीको ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३९ प्रतिशत नगद लाभांश गरी कुल ७.८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । साथै सभाले ७.५ प्रतिशत बोनस सेयर वितरण पश्चात कायम चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद निष्काशनको प्रस्ताव समेत पारित गर्नेछ । कम्पनीले साधारणसभा तथा लाभांश प्रयोजनार्थ फागुन ४ गते बुकक्लोज गर्ने निर्णय गरेको छ त्यसैले फागुन ३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारणसभाका सहभागी हुन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

३. साना किसान विकास लघुवित्त वित्तिय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ । समिक्षा अवधिसम्म आइपुग्दा संस्थाकाे नाफा ३४ प्रतिशतले बढेर ४३ करोड ४९ लाख ५४ हजार रुपैयाँ पुगेको छ । संस्थाको सञ्चालन मुनाफा ३५ प्रतिशत र खुद व्याज आम्दानी पनि ३८ प्रतिशतले बढेको छ । संस्थाको ईपीएस ५५ रुपैयाँ ६१ पैसा पुग्दा प्रतिसेयर नेटवर्थ २४९ रुपैयाँ ४९ पैसा रहेको छ ।

४. सेयर बजारमा झिनाे सुधार देखिएकाे छ । नेप्से परिसूचक झिनाे अंकले बढ्दा काराेबार रकम भने अघिल्लाे दिनकाे तुलनामा घटेकाे छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक ४.९७ अंकले बढेर २११६.६५ विन्दुमा पुगेकाे छ । नेप्से ०.२४ प्रतिशतले बढेकाे हाे । यस्तै, सेन्सेटिभ परिसूचक पनि ०.५४ अंकले बढेर ४०१.१७ विन्दुमा पुगेकाे छ । कूल २६१ वटा कम्पनीकाे ५० लाख २४ हजार ३ सय ८१ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ७६ करोड ७० लाख ५१ हजार ९ सय १६ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

५. मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्न नेपाल धिताेपत्र बाेर्डमा निवेदन दिएकाे छ । कम्पनीले आयाेजना प्रभावित स्थानीय, वैदेशिक राेजगारीमा गएका नेपाली तथा सर्वसाधारणका लागि प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा २८ करोड रुपैयाँ बराबरको २८ लाख कित्ता आईपीओ निष्कासन गर्न सेबाेनमा निवेदन पेश गरेकाे हाे । 

६. स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले माघ २६ गतेबाट ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ अंकित दरमा २ अर्ब ४० करोड रुपैयाँ बराबरको २४ लाख कित्ता ऋणपत्र बिक्री गर्नेछ । जसमध्ये ९ लाख १२ हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यस ऋणपत्रमा वार्षिक १०.३० प्रतिशत ब्याजदर पाइनेछ । लगानीकर्ताले न्यूनतम २५ इकाइदेखि अधिकतम २ लाख ५० हजार इकाइसम्म आवेदन दिन सक्नेछन् । ऋणपत्रमा छिटोमा फागुन १ गतेसम्म र सो अवधिसम्म पूर्ण आवेदन नपरेमा ढिलोमा फागुन ११ गतेसम्म आवेदन दिन सकिनेछ ।

७. सिनर्जी पावर डेभलपमेन्ट कम्पनीले हकप्रद प्रस्ताव पारित गर्न विशेष साधारण सभा डाकेकाे छ । कम्पनीकाे विशेष साधारण सभा फागुन ४ गते कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौंमा बिहान ८ बजेबाट सुरु हुनेछ । सभामा कम्पनीले ५० प्रतिशत हकप्रद निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

८. चापमा परेको अर्थतन्त्र सुधार्न सरकारी खर्चमा व्यापक कटौती गर्ने निर्णय गरिएकाे छ । आन्तरिक र बाह्य दुवै कारणले चापमा परेको अर्थतन्त्र सुधारको लक्ष्यसहित सरकारले धेरै किसिमका खर्च शीर्षकमा व्यापक कटौती गरेको छ । बजेट र खर्चमा मितव्ययिता कायम राख्दै सरकारको वित्त सन्तुलन कायम राख्न अर्थ मन्त्रालयले मङ्गलबार यस्तो निर्णय गरेको हो ।

९. भारतीय आयल कर्पोरेसन (आइओसी) ले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ । आईओसीले पठाएको नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर ८ रूपैयाँ १ पैसा, डिजेल ७ रूपैयाँ ९८ पैसा, मट्टितेल ४ रूपैयाँ ६१ सैसाले बढेर आएको छ । त्यस्तै, हवाई इन्धन ७ रूपैयाँ ८० पैसाले बढेर आएको छ । आइओसीले पन्ध्र-पन्ध्र दिनमा पेट्रोलियम पदार्थको नयाँ मूल्य नेपाल आयल निगमलाई पठाउने गर्दछ । सोही मूल्यको आधारमा निगमले उपभोक्ता मूल्य तोक्नेछ ।

१०.  बुधबार सुनको भाउ तोलामा ५ सय रुपैयाँले बढेर प्रतिताेला १ लाख ६ हजार ३ सय रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर १३ सय ७० रुपैयाँ पुगेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको