Like us!
Follow us!
Connect us!
Watch us!

दुई कम्पनीको लाभांश घोषणा, सेयर बजार घट्दा राजश्वमा पनि भारी गिरावट

अर्थ संसार

विहीबार, १९ माघ २०७९, १८ : ०० मा प्रकाशित

दुई कम्पनीको लाभांश घोषणा, सेयर बजार घट्दा राजश्वमा पनि भारी गिरावट

बिहीबार दिनभरका प्रमुख आर्थिक समाचार तल उल्लेख गरिएकाे छ :

१. आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.०५ प्रतिशत नगद लाभांश गरी कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।

२. कालिञ्चोक दर्शनकाे आईपीओ बाँडफाँड आज सम्पन्न भएकाे छ । मागभन्दा धेरै आवेदन परेकाे हुनाले कम्पनीकाे आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड गरिएकाे थियाे । गाेलाप्रथाद्वारा बाँडफाँड गर्दा ८९ हजार ६ सय ४० जना लगानीकर्ताले १० कित्ता सेयर प्राप्त गरेका छन् । कम्पनीकाे आईपीओकाे नतिजा सिडीएसले आईपीओकाे नतिजा हेर्नका लागि सञ्चालनमा ल्याएकाे वेबसाइट iporesult.cdsc.com.np बाट हेर्न सकिन्छ । 

३. नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५२६ प्रतिशत नगद लाभांश गरी कुल १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।

४. निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा आह्वान गरेको छ ।  संस्थाको २४ औँ बार्षिक साधारणसभा फागुन १२ गते संस्थाको केन्द्रिय कार्यालय नक्सालमा बिहान १० बजेदेखि सुरु हुनेछ । सभामा सेयरधनीलाइ हाल कायम चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । लघुवित्तले साधारणसभा तथा लाभांश प्रयोजनार्थ फागुन २ बुकक्लोज गर्ने निर्णय गरेको छ त्यसैले फागुन १ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारण सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

५. सेयर बजार पुन: ओरालो लागेकाे छ । आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक २२.१२ अंकले घटेर २०९४.५४ विन्दुमा झरेकाे छ । नेप्से १.०४ प्रतिशतले घटेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि २.७४ अंकले घटेर ३९८.४२ विन्दुमा झरेको छ ।  कूल २५७ वटा कम्पनीकाे ५८ लाख ९८ हजार ९ सय ३ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ९ करोड ६४ लाख १९ हजार एक सय ६१ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

६. नेपाल सेयरधनी संघले धितोपत्र बोर्डका अध्यक्ष हमालका बारेमा विभिन्न सञ्चार माध्यमहरुमा आएको समाचारका विषयमा सत्यतथ्य छानबिनको माग गरेको छ । बुधबार एक बिज्ञप्ती जारी गर्दै संघले यस्तो माग गरेको हो । पूँजी बजारको सर्वोच्च नियमनकारी निकायका अध्यक्षका बारेमा प्रवाह भएका समाचारहरुले पूँजी बजारको स्वच्छता र लगानीकर्ताहरूको मनोबलमा गम्भीर नकारात्मक असर पर्ने संघले जनाएको छ ।

७. नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स कम्पनी लिमिटेडकाे सेयरमूल्य समायाेजन भएकाे छ । कम्पनीकाे ६.५० प्रतिशत बाेनस सेयरपछि नेप्सेले प्रतिकित्ता ३ सय ४२ रूपैयाँ ७२ पैसा कायम हुने गरी मूल्य समायाेजन गरेकाे हाे ।

८.  मर्जर पस्ताव पारित गर्न सगरमाथा र लुम्बिनी जनरल इन्स्याेरेन्सले फागुन ११ गते वार्षिक साधारण सभा डाकेका छन् । सभामा यी दुइ कम्पनी मर्ज हुने प्रस्ताव पारित हुनेछ । यी दुई कम्पनीको सेयर स्वाप रेसियो १००ः८० कायम भएको छ । साथै सभामा सगरमाथा इन्स्याेरेन्सले १२.४०% बोनस सेयर र कर तिर्न ०.६५२६% नगद लाभांश वितरण गर्ने प्रस्ताव र लुम्बिनी जनरल इन्स्याेरेन्सले ६.९९% बोनस सेयर र कर तिर्न ०.३६७९% नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरिनेछ । दुवै कम्पनीले  माघ २७ गते बुक क्लोज गर्नेछन् । त्यसैले, माघ २६ गतेसम्म  कायम सेयरधनीले मात्रै सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

९. सेयर बजार घट्दा सरकारले पूँजी बजारबाट उठाउने राजश्वमा पनि भारी गिरावट देखिएकाे छ । चालु आर्थिक वर्षको ६ महिना अर्थात् पुस मसान्तसम्ममा सरकारले पूँजी बजारबाट १ अर्ब २३ करोड ५७ लाख रुपैयाँमात्रै राजश्व संकलन गरेको सीडीएससीले जनाएको छ । गत आर्थिक वर्षको साेही अवधिसम्म सरकारले पूँजी बजारबाट ८ अर्ब ६ करोड ८७ लाख रुपैयाँ राजश्व संकलन गरेको थियो ।

१०.  सुनकाे मूल्यमा फेरि नयाँ रेकर्ड बनेकाे छ । बिहीबार सुनकाे भाउ ताेलामा १२ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ७ हजार ५ सय रुपैयाँ कायम भएको छ । यो नेपाली बजारमा हालसम्मकै उच्च मूल्य हो । आज चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले बढेर १३ सय ९५ रुपैयाँ कायम भएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको