Like us!
Follow us!
Connect us!
Watch us!

१५ प्रतिशत बोनस सेयर निर्णय गरेको कम्पनी तपाईले लगानी गरेको त परेन ?

अर्थ संसार

आइतबार, २२ माघ २०७९, २० : ५८ मा प्रकाशित

आइतबार दिनभरका प्रमुख समाचारहरू तल उल्लेख गरिएकाे छ :

१. समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि समेत गरी ३ प्रतिशत नगद लाभांश गरी कुल १८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

२. नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । समिक्षा अवधीसम्म आइपुग्दा कम्पनीको खुद नाफा २३७ प्रतिशतले बढेर ४४ करोड १ लाख ६० हजार रुपैयाँ पुगेको छ । कम्पनीको बीमा शुल्क पनि १.५९ प्रतिशतले बढेर १८ अर्ब ४० करोड रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १० रुपैयाँ ७३ पैसा र कम्पनीको प्रतिसेयर नेटवर्थ ११६ रुपैयाँ १ पैसा रहेको छ । 

३. मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाको १४ औँ वार्षिक साधारण सभा फागुन १७ गते न्यु बौवा होटल एण्ड गेष्ट हाउस, लालगढ धनुषामा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७८९ प्रतिशत नगद लाभांश गरी कुल १५.७८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । संस्थाले साधारण सभा तथा लाभांश प्रयोजनार्थ फागुन ५ बुकक्लोज गर्ने निर्णय गरेको छ त्यसैले फागुन ४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारणसभाका सहभागि हुन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

४. बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि ९ हजार ७ सय कित्ता आईपीओ निष्कासन गरेकाे छ । यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।  वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले लघुवित्तको आईपीओमा फागुन ८ गतेसम्म आवेदन दिन सक्नेछन् । संस्थाले सर्वसाधारणका लागि भने फागुन १८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्नेछ ।

५. नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (आइतबार) सेयर कारोबार मापक नेप्से परिसूचक १.५४ अंकले बढेर २०९६.०८ विन्दुमा पुगेकाे छ । नेप्से ०.०७ प्रतिशतले बढेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि १.८९ अंकले बढेर ४००.२६ विन्दुमा पुगेकाे छ । कूल २५८ वटा कम्पनीकाे ५२ लाख ६ हजार ३ सय ७० कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ९३ करोड १७ लाख १९ हजार एक सय ३ रूपैयाँ बराबरको कारोबार भएकाे छ ।

६. महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । संस्थाकाे पाचाैँ वार्षिक साधारण सभा फागुन २१ गते, आइतबार आगन्तुक रिसाेर्ट भ्युटार मार्ग, धुलिखेल, काभ्रेमा बिहान ११ बजेदेखि सुरू हुनेछ । सभामा संस्थाको सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको ४७.५ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि २.५ प्रतिशत नगद गरी कुल ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि फागुन ५ गते एकदिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, फागुन ४ गतेसम्म नेप्सेमा काराेबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

७. जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दाेश्राे त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।दाेश्राे त्रैमाससम्म आइपुग्दा संस्थाकाे खुद नाफा ३७.२५ प्रतिशतले घटेर २६ करोड ४७ लाख ८८ हजार रुपैयाँमा सिमित भएको छ । संस्थाकाे खुद व्याज आम्दानी पनि ४.८७ प्रतिशत र सञ्चालन मुनाफा ३७.२५ प्रतिशतले घटेकाे छ ।

८. नेपाल राष्ट्र बैंकले २१ अर्ब १० कराेड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले भाेलि सोमबार सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत ट्रेजरी बिक्री गर्न लागेको हो । राष्ट्र बैंकका अनुसार याे ट्रेजरी बिल साेमबार दिउँसो ३ बजे बोलकबाेल भएर मंगलबार बिक्री हुनेछ ।

९. नेपाल राष्ट्र बैंकले समस्याग्रस्त सुपर लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिलाई निलम्बन गरी उक्त संस्थाको व्यवस्थापन आफ्नो नियन्त्रणमा लिएको छ । राष्ट्र बैंककाे विभिन्न चरणमा भएको स्थलगत निरीक्षणका क्रममा सुपर लघुवित्त वित्तीय संस्था लिमिटेडका संस्थापक र सञ्चालकहरुले लामो समयदेखि कृत्रिम ऋणी खडा गरी ऋण प्रवाह गरेको देखिएको थियाे ।

१०. आइतबार एकैदिन सुनकाे भाउ ताेलामा २ हजार रुपैयाँले घटेर प्रतिताेला १ लाख ४ हजार १ सय रूपैयाँ कायम भएकाे छ । यस दिन चाँदीकाे मूल्य पनि तोलामा ४५ रुपैयाँले घटेर तोलाको १३ सय २० रुपैयाँ कायम भएको छ । 

हेर्न यहाँ क्लिक गर्नुहोला 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको