Like us!
Follow us!
Connect us!
Watch us!

बम्पर लाभांश पारित गर्न साधारणसभा आह्वान

अर्थ संसार

सोमबार, २३ माघ २०७९, १७ : ४३ मा प्रकाशित

बम्पर लाभांश पारित गर्न साधारणसभा आह्वान

माघ २३ गते, साेमबार दिनभरका प्रमुख आर्थिक समाचारहरू तल उल्लेख गरिएकाे छ :

१. सुपर मादी हाइड्रोपावरले सर्वसाधारणका लागि निष्कासन गरेकाे आईपीओ बाँडफाँड भएको छ । गोलाप्रथाबाट गरिएको बाँडफाँडमा १ लाख ७४ हजार ३०० जनाले १० कित्ताका दरले सेयर पाएका छन् ।  बाँकी ११ लाख २४ हजार ३९३ आवेदकको हात खाली भएको छ ।  कम्पनीकाे आईपीओकाे नतिजा iporesult.cdsc.com.np मा गएर हेर्न सकिनेछ। 

२. सुपरमाई हाइड्रोपावर कम्पनी लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेकाे छ । कम्पनीले सर्वसाधारणहरूका लागि ४ लाख १५ हजार कित्ता आईपीओ निष्कासन गरेकाे हाे । यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले छिटोमा माघ २६ गते गतेसम्म ढीलोमा फागुन ८ गतेसम्म आवेदन दिन सक्नेछन् ।

३. उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । संस्थाकाे चाैँथाे वार्षिक साधारण सभा फागुन १८ गते, बिहीबार बैजनाथ १, गाभर भ्याली, बाँकेमा सञ्चालन हुनेछ । सभामा संस्थाको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ६१.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ३.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि फागुन ४ गते एकदिन बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले फागुन ३ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भई कायम हुने सेयरधनीहरूले मात्रै सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

४. पछिल्लाे समय विभिन्न सञ्चार माध्यमहरूमा प्रकाशन भएका समाचारहरूकाे स्पष्टिकरण दिँदै नियामक निकाय नेपाल धिताेपत्र बाेर्डका अध्यक्ष रमेश कुमार हमालले प्रेस वक्तव्य सार्वजनिक गरेका छन् । उनले आफूमाथिका आरोप निराधार र कपोकल्पित भएकाे बताएका छन् । आफ्नाे व्यक्तिगत चरित्रहत्या गर्ने उद्धेश्यले प्रायोजित रुपमा समाचार प्रकाशन भएकाे उनी बताउँछन् । उनले निश्चित स्वार्थसमुहको लाभका लागी मनगढन्ते समाचार सम्प्रेषण गर्नु भन्दा लगानीकर्ताको हितमा हुनुपर्ने सुधारका कार्यमा सकारात्मक सुझावसहित सहयोगको अपेक्षा राखेेकाे बताएका छन् ।

५. नेप्से परिसूचक पुन: २१ सय विन्दुमाथि उक्लिएकाे छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार साेमबार नेप्से परिसूचक ४.५७ अंकले बढेर २१००.६५ विन्दुमा पुगेकाे छ । नेप्से ०.२२ प्रतिशतले बढेकाे हाे । यस्तै, सेन्सेटिभ परिसूचक पनि १.७६ अंकले बढेर ४०२.०१ विन्दुमा पुगेकाे छ । कूल २५९ वटा कम्पनीकाे ३९ लाख २२ हजार २ सय १६ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ४७ करोड ४१ लाख ६१ हजार रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

६. नेपाल राष्ट्र बैंकले ७ अर्ब रूपैयाँ बराबरकाे विकास ऋणपत्र बिक्री गर्ने भएकाे छ । बैंकले ५ वर्ष अवधिकाे "विकास ऋणपत्र २०८४ (ञ)" नामकाे ऋणपत्र बिक्री गर्न लागेकाे हाे । उक्त ऋणपत्रकाे व्याजदर बाेलकबाेलकाे माध्यमबाट निर्धारण हुनेछ ।  उक्त ऋणपत्रकाे बाेलकबाेल भाेलि माघ २४ गते मंगलबार अपरान्ह ३ बजेसम्म हुनेछ । खरिदकर्ताले घटीमा रु ५० हजार र बढीमा कूल निष्कासित रकमको सीमामा नबढाई रु ५० हजारले भाग गर्दा निःशेष भाग जाने अङ्क बराबर खरिद गर्न पाउनेछन्  ।

७. नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सूचीकृत कम्पनीहरूलाई सूचीकृत संगठित संस्थाको वर्गिकरणका लागि आवश्यक विवरण उपलब्ध गराउन आग्रह गरेकाे छ । नेप्सेले धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम ११ बमोजिम सूचीकृत संगठित संस्थाहरुको वर्गिकरण गर्नुपर्ने व्यवस्था भएकोले सो का लागि फागुन १० गतेसम्ममा विवरण उपलब्ध गराउन अनुराेध गरेकाे हाे ।

८. सनराईज बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई लाभांश लिन अनुरोध गरेको छ । बैंककाे विभिन्न साधारण सभाबाट पारित गरिएकाे नगद लाभांश हालसम्म पनि कतिपय सेयरधनीहरुले नलिएकोले बैंकले साेही लाभांश लिन अनुरोध गरेको हो । सेयरधनीहरुले बैकको सेयर राजिष्ट्रार सनराईज क्यापिटलको कार्यालय कमलपोखरी काठमाण्डौमा सम्पर्क गरी लाभांश लिन सक्नेछन् ।

९.  नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो ६ महिनाकाे तथ्याङ्क सार्वजनिक गरेकाे छ । राष्ट्र बैंकले सार्वजनिक गरेकाे रिपाेर्ट हेर्दा अर्थतन्त्रमा सुधार देखिएकाे छ । राष्ट्र बैंककाे रिपाेर्ट अनुसार मुद्रास्फीति ७.२६ प्रतिशत रहेको छ । आयात २०.७ प्रतिशतले घट्दा निर्यात पनि ३२.६ प्रतिशतले घटेकाे छ । यस्तै, पछिल्लाे ६ महिनामा कुल वस्तु व्यापार घाटा १९.२ प्रतिशतले घटेको छ ।  नेपाल भित्रिने रेमिट्यान्स पनि २४.३ प्रतिशतले बढेकाे छ । यता शोधनान्तर स्थिति पनि ९७ अर्ब १० करोडले बचतमा रहेको छ ।

१०. सोमबार सुनकाे भाउ ताेलामा ५ सय रुपैयाँले बढेर प्रतिताेला १ लाख ४ हजार ६ सय रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको भाउ भने स्थिर रही प्रतितोला १३ सय २० रुपैयाँमा नै काराेबार भएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको