Like us!
Follow us!
Connect us!
Watch us!

२० % बोनस सेयर घोषणा गरेको कम्पनी तपाईले लगानी गरेको त परेन ? (अर्थसंसार बुलेटिन)

अर्थ संसार

मंगलबार, २४ माघ २०७९, २० : ३० मा प्रकाशित

आज (माघ २४ गते, मंगलबार) दिनभरका प्रमुख आर्थिक समाचारहरू तल उल्लेख गरिएकाे छ :

१. आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.०५२६ प्रतिशत नगद लाभांश गरी कुल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

२. नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा २ वटा म्युचुअल फण्डको इकाई सूचीकृत भएकाे छ । स्टकका अनुसार एनआईबिएल ग्रोथ फण्ड काे १३ कराेड २० लाख र 'सानिमा ग्रोथ फण्ड' काे ६ कराेड ७२ लाख ५३ हजार २ सय ६० इकाई नेप्सेमा काराेबार हुन सक्ने गरी सूचीकृत भएकाे हाे ।

३. साहस उर्जा लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मकाे अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेकाे छ । समिक्षा अवधिसम्ममा कम्पनीकाे नाफा ३७.२६ प्रतिशतले घटेर २१ करोड ५९ लाख ९५ हजार रुपैयाँमा सिमित भएकाे छ । पुस मसान्तसम्म आइपुग्दा कम्पनीको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ३४ पैसा र प्रतिसेयर नेटवर्थ १६४ रुपैयाँ १८ पैसा रहेकाे छ ।

४. सेयर बजारमा सकारात्मक माहाेल देखिएकाे छ । राष्ट्र बैंकको रिपोर्टले लगानीकर्ताको मनोबल बढाएकाे देखिएकाे छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार नेप्से परिसूचक ७६.६४ अंकले बढेर २१७७.३४ विन्दुमा पुगेकाे छ । नेप्से ३.६५ प्रतिशतले बढेकाे हाे । यस्तै, सेन्सेटिभ परिसूचक पनि १२.८५ अंकले बढेर ४१५.०१ विन्दुमा पुगेकाे छ । कूल २६० वटा कम्पनीकाे ९३ लाख ३३ हजार ७ सय ८८ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ३६ करोड २२ लाख ६७ हजार रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

५. बेष्ट फाइनान्स कम्पनी लिमिटेडले फागुन १ गते, साेमबारदेखि सेयर लिलाम बढाबढ गरी बिक्री गर्ने भएको छ । फाइनान्सले बिक्री खुल्ला गरेकाे हकप्रदमा आवेदन नपरेकाे संस्थापक समूहकाे ५ लाख ५६ हजार ६ सय ७४ दशमलव ५७ कित्ता र सर्वसाधारण समूहकाे ५८ हजार ४ सय २९ दशमलव ९० कित्ता गरी कूल ६ लाख १५ हजार एक सय ४ दशमलव ४७ कित्ता सेयरहरू लिलामीमा बिक्री गर्न लागेकाे हाे । 

६. साना तथा मझौला कम्पनीको छुट्टै कारोबार हुने गरी अबको २ महिनाभित्र ‘एसएमई प्लेटफर्म’ सञ्चालनमा आउने भएको छ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले पत्रकार सम्मेलनमा बोल्दै यस्तो बताएका हुन् । उनले आवश्यक नियामवली ९५ प्रतिशत भएको जानकारी गराउँदै दुई महिना भित्रैमा एसएमई प्लेटफर्म सञ्चालनमा आउने बताएका छन् ।

७.  किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । समीक्षा अवधसम्ममा संस्थाकाे नाफा ९६.५० प्रतिशतले घटेर १५ लाख ८२ हजार रुपैयाँमा सिमित भएकाे छ । यसै अवधिमा संस्थालाई ४ करोड १९ लाख रुपैयाँ सञ्चालन घाटा भएको छ । संस्थाको प्रतिसेयर आम्दानी ६७ पैसा र प्रतिसेयर नेटवर्थ १७४ रुपैयाँ ७२ पैसा रहेकाे छ ।

८. नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टीतेलको भाउ प्रतिलिटर ३ रूपैयाँका दरले बढाएको छ । निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी मूल्य बढाएको हो । नयाँ मूल्यअनुसार अब पेट्राेल प्रतिलिटर १७८ रुपियाँ र डिजेल/मट्टीतेल प्रतिलिटर १७५ रुपैयाँ पुुगेको छ ।

९. प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरकारी बिदा धेरै भएकाले सेवा प्रवाह प्रभावित भएको र त्यसमा पुनर्विचार आवश्यक भएको बताएका छन् । मंगलबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा बोल्दै प्रधानमन्त्रीले यस्ताे बताएका हुन् ।

१०.  मंगलबार सुन र चाँदी दुवैको भाउ स्थिर रहेको छ । आज पनि सुन प्रतिताेला  १ लाख ४ हजार ६ सय रूपैयाँ र चाँदी प्रतिताेला १३ सय २० रुपैयाँमा नै काराेबार भएकाे छ ।

Click Here

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको