Like us!
Follow us!
Connect us!
Watch us!

पर्यटन उद्योगलाई उच्च प्राथमिकतामा राख्दै समिति गठन गर्न सभामुखलाई परिसंघको आग्रह

अर्थ संसार

बुधबार, २५ माघ २०७९, १३ : ३० मा प्रकाशित

पर्यटन उद्योगलाई उच्च प्राथमिकतामा राख्दै समिति गठन गर्न सभामुखलाई परिसंघको आग्रह

नेपाल उद्योग परिसंघले प्रतिनिधिसभाका सम्माननीय सभामुख देवराज घिमिरेसँग भेटवार्ता गरेको छ । सभामुख कार्यालय सिंहदरबारमा परिसंघको तर्फबाट बधाई तथा शुभकामना दिँदै नेपालको पर्यटन उद्योगलाई उच्च प्राथमिकतामा राख्दै पर्यटन संसदीय समिति गठन गर्न आग्रह गरेको छ । 

परिसंघले नेपालको पर्यटन प्रबद्र्धनका लागि चालिनुपर्ने कदम, यूरोपियन यूनियनले राखेको सुरक्षा सूचीबाट हटाउन गरिनुपर्ने पहलका विषयमा पनि सम्माननीय सभामुखको ध्यानाकर्षण गराएको छ । 

परिसंघ पर्यटन समिति सभापति पम्फा धमलाले पर्यटन वैदेशिक मुद्रा आर्जन गर्ने महत्वपूर्ण स्रोत भएको र नेपालको पर्यटन अथाहा सम्भावना हुँदाहुँदै पनि देशले यसबाट अपेक्षाकृत रुपमा फाइदा लिन नसकेको बताइन् । सार्वजनिक तथा निजी क्षेत्रको समेत खर्बौको लगानी परिसकेको पर्यटन उद्योगबाट राज्यले अपेक्षाकृत रुपमा लाभ हासिल गर्न सक्नुपर्नेमा जोड दिदै उनले त्यसका लागि नीतिगत तहमा गम्भिर समीक्षा, छलफल र दिशानिर्देश गर्न संसदीय पर्यटन समिति गठन गर्न आग्रह गरिन् । 

परिसंघ समिति सदस्य छायाँ शर्माले विगतमा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको क्षेत्राधिकारमा पर्यटन क्षेत्रलाई राखेता पनि पर्यटन उद्योगका विषयलाई उच्च प्राथमिकतामा राख्दै समग्र आर्थिक विकासमा पर्यटन उद्योगको महत्वलाई अझ स्थापित गर्न, पर्यटन पूर्वाधार वैज्ञानिक तथा पर्यटनमैत्री बनाउन, पर्यटनसँग सम्बन्धित नीतिगत विषयमा गम्भिर छलफल, परामर्श, निर्देशित गर्दै यसबाट अपेक्षाकृत लाभ राज्यले प्राप्त गर्न संघीय संसद्मा पर्यटन संसदीय समिति गठन गर्न आवश्यक रहेको महसुस निजी क्षेत्रले गरेको बताए । 

परिसंघका महानिर्देशक दीपकराज जोशीले पर्यटन संसदीय समिति गठनका लागि पर्यटन उद्योगसँग सम्बन्धित सबै संघ संस्थाको ऐक्यबद्धता रहेको बताए । उनले उच्च सम्भावना र बलियो भविष्य रहेको पर्यटनका माध्यमबाट देशलाई छिटो समृद्ध बनाउन पर्यटनलाई उच्च प्राथमिकतामा राख्नुपर्ने र त्यसका लागि समेत संसदीय समिति आवश्यक रहेको बताए । 

संसदीय पर्यटन समिति गठन गर्न नेपाल उद्योग परिसंघ, होटेल संघ नेपाल (हान), नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा), ट्रेकिङ्ग एजेन्सिज् एसोसिएसन अफ नेपाल  (टान), प्यासेफिक एसिया ट्राभल एसोसिएसन (पाटा), नेपाल एसोसिएसन अफ टूर अपरेटसर्स (नाटो), नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्ट्स (नारा), टूरिष्ट गाईड एसोसिएसन अफ नेपाल, नेपाल पर्यटक यातायात व्यवसायी संघ, नेपाल क्यानोनिङ एसोसिएसनले संयुक्त रुपमा संसद् सचिवालयमा अनुरोध पत्र समेत दिइसकेका छन् । 

सभामुख घिमिरेले मुलुकको आर्थिक विकासको महत्वपूर्ण क्षेत्र पर्यटन भएको बताउनुहुँदै संसदीय पर्यटन समिति गठनका लागि निजी क्षेत्रको सुझावलाई स्वागत गरे । यस सम्बन्धमा आफ्नो ध्यानाकर्षण भएको उनले बताए । 

भेटमा प्यासेफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपालका प्रमुख कार्यकारी अधिकृत एवं परिसंघ पर्यटन समिति सदस्य सुरेश बुडाल, परिसंघ निर्देशक हिमाल पौडेल, आरती लामालगायत सहभागी थिए । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको