Like us!
Follow us!
Connect us!
Watch us!

लाईभ फ्लोरसिट बन्द : कार्यान्वयन त भयो, कम पूँजी भएकालाई कतै अन्याय त भएन ?

निशा हुमाँगाई

बुधबार, १० फागुन २०७९, १७ : २५ मा प्रकाशित

लाईभ फ्लोरसिट बन्द : कार्यान्वयन त भयो, कम पूँजी भएकालाई कतै अन्याय त  भएन ?

नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) ले पत्राचार गरेपछि बाेर्डकाे आग्रहमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले यही वैशाख ७ गते बुधबारदेखि कारोबार अवधिमा फ्लोरसिट हेर्ने सुविधा बन्द गराएको त आम लगानीकर्ताहरूलाई यथावतै छ ।  

कारोबार समयमा नै फ्लोरसिटमार्फत् कारोबारमा संलग्न धितोपत्र दलाल व्यवसायी तथा धितोपत्र व्यापारीको क्रम संख्या खुल्ने विवरण प्रवाह हुने गरेकोमा उक्त विवरण हटाउन सरोकारवाला पक्षबाट बोर्डमा सुझाव तथा गुनासो प्राप्त भएको भन्दै धितोपत्र बजार संचालन नियमावली, २०६४ को नियम २७ को उपनियम (४) को प्रतिकुल नहुने गरी उक्त विवरण कारोबार समयपश्चात् प्रवाह गर्ने व्यवस्था गर्न बोर्डले नेप्सेलाई पत्राचार गरेको थियाे । साेही बमाेजिम नेप्सेले लाइभ फ्लोरसिट बन्द गरेकाे थियाे । 

नेप्सेले लाइभ फ्लोरसिट बन्द गरेसँगै हाल लगानीकर्ताहरुले कारोबार चलिरहेको समयमा कुन ब्रोकरबाट कुन सेयर कति मात्रामा किनबेच भयो भन्ने विवरण हेर्ने अवसर पाउँदैनन् । 

लाइभ फ्लोरसिट बन्द भएपछि लगानीकर्ताहरूको दुई मत देखिएको छ । एकथरी लगानीकर्ताले लाईभ फ्लोरसिट बन्द गर्दा चलखेल रोकिएको बताउँदै आईरहेका छन् भने अर्को थरी लगानीकर्ताले सूचना लुकाएको आरोप लगाउँदै आएका छन् ।  लाईभ फ्लोरसिट बन्द गर्दा बजारको तौल तरिका बुझ्न गाह्रो भएको केही लगानीकर्ताको गुनासो छ । लाईभ फ्लोरसिट फेरि खुलाउनुपर्ने माग पनि लगानीकर्ताहरूले राख्दै आएका छन् ।

सेयर बजार जोखिमको क्षेत्र हो । आफ्नो लगानी सुरक्षित राख्ने हेतुले लगानीकर्ताहरूले अध्ययनका विभिन्न औजार प्रयोग गरिरहेका हुन्छन् । तीनैमध्येको एक हो फ्लोरसिट एनालाईसिस । पछिल्लो समय फ्लोरसिट एनालाईसिस पनि लगानीकर्ताहरूले लगानी गर्नु अगावै अध्ययन गर्ने एउटा महत्वपूर्ण टुल बनिसकेको छ ।

सामान्य अर्थमा बुझ्नुपर्दा फ्लोरसिट एनालाईसिस भनेको फ्लोरसिटमा उपलब्ध भएका तथ्यांकहरुलाई अध्ययन र विश्लेषण गर्ने कार्य हो । फ्लोरसिट एनालाईसिसले आम लगानीकर्ताहरूलाई सेयर कारोबारका लागि विश्लेषण गर्न सहजिकरण गर्दछ । लाईभ फ्लोरसिटबाट लगानीकर्ताहरूले कुन ब्रोकरले कुन स्टक आक्रामक रुपमा खरिद तथा बिक्री गरिरहेको विश्लेषण गर्न सक्थे । यसो हुँदा भने लगानीकर्ता तथा ब्रोकरको रोजाइमा कुन स्टक छ भन्ने थाहा हुन्थ्यो र लगानीकर्तालाई सेयर खरिदबिक्रीको एउटा रणनिती बनाउन मद्दत पुग्थ्यो । तर अहिले लाईभ फ्लोरसिट बन्द हुँदा यस्तो विश्लेषण गर्न नपाईएको लगानीकर्ताको गुनासो छ ।

लाईभ फ्लोरसिट हटाएपछि लगानीकर्ताहरूलाई फाइदा भयो की बेफाइदा भयो भन्ने विषयमा हामीले बजारका केही लगानीकर्ताहरूको धारणा बुझेका छौँ । उनीहरूको धारणा तल प्रस्तुत गरिएको छ :

रोहन कार्की

लाईभ फ्लोरसिट हुँदा केही समुहले त्यसको मिसयुज गरेका भएतापनि लाईभ फ्लोरसिट हट्न नहुने रोहन कार्की बताउँछन् । कारोबार समयमा लाईभ फ्लोरसिट हेर्ने व्यवस्था फेरि सुचारू हुनुपर्ने उनको माग छ । लगानीकर्ताहरूलाई लाईभ फ्लोरसिट हेरेर लगानी गर्न सहज हुने उनको धारणा छ ।

कमल पन्थी

अर्का लगानीकर्ता कमल पन्थी लाईभ फ्लोरसिट हट्नु सही रहेको तर्क गर्छन् । लाईभ फ्लोरसिटको फाइदा र बेफाईदा दुवै रहेपनि लाईभ फ्लोरसिट हट्नैपर्ने उनले बताए । लगानीकर्ताहरूले ब्रोकरहरूले कति खरिदबिक्री गरे सो अनुसार आफ्नो योजना बनाउने भन्दा पनि सधैँ आफू स्वयंमले निर्णय लिनुपर्ने उनी बताउँछन् ।

बिक्रम महर्जन

लाईभ फ्लोरसिटले लगानीकर्तालाई डिसिजन मेकिङमा सहजिकरण गर्ने लगानीकर्ता बिक्रम महर्जन बताउँछन् । लाईभ फ्लोरसिटमा कुन ब्रोकरले कति सेयर किन्यो कति बेच्यो भन्ने तथ्याङ्क हेरेर आफूले पनि सोही अनुसार निर्णय लिन सजिलो हुने उनको तर्क छ । अहिले लाईभ फ्लोरसिट बन्द भएर कारोबार सकिएपछि मात्रै हेर्न मिल्ने व्यवस्था हुँदा भोलिपल्ट कारोबार समयका लागि मात्रै सोही अनुसारको रणनीति बनाउनु पर्छ । यसो हुँदा एक दिन ढिला भइसक्ने उनी बताउँछन् । त्यसैले, लाईभ फ्लोरसिट पुन सुचारू हुनुपर्ने उनको माग छ ।

एसपी चौलागाईँ

लगानीकर्ता एसपी चौलागाईँ भन्छन् लाईभ फ्लोरसिट हुँदा लगानीकर्ताहरूले यो ब्रोकरले यो सेयर किन्यो यो बेच्यो भनेर दौडधुप गर्थे अहिले त्यो खालको रफ्तारले चलेको छैन । समग्रमा अरू देशहरूमा पनि ट्रेडिङ समयमा कुन ब्रोकरबाट कति खरिदबिक्री भयो त्यो नदेखिने हुँदा यो स्वभाविक पनि रहेको उनले बताए । लाईभ फ्लोरसिट हेर्न मिल्ने व्यवस्था हट्नु ठूला लगानीकर्ताहरूका लागि फाईदा रहेको र साना लगानीकर्ताहरूका लागि बेफाईदा रहेको उनको तर्क छ । आफूलाई जानकारी भएसम्म यो विषय ठूला लगानीकर्ताकै इन्टेनसनमा उनीहरुकै हक हितका लागि आएको उनी बताउँछन् । सेयर बजारमा साना लगानीकर्तामैत्री वातावरण बन्न नसकेको उनको गुनासो छ ।

यसै सन्दर्भमा आधारित रही हामीले नेपाल स्टक एक्सचेञ्ज नेप्सेका निवर्तमान प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदसँग पनि कुराकानी गर्यौँ ।

उनले भने, "तत्कालिन अवस्थामा बजारमा म्यानिपुलेसन भयो भन्ने व्यापक कमेन्ट आएपछि धितोपत्र बोर्डको आग्रहमा लाईभ फ्लोरसिट हेर्न मिल्ने व्यवस्था हटाउने निर्णय गरिएको थियो । नियामक निकाय भन्दा पनि लगानीकर्ता र ब्रोकरहरू नियम कानुनमा बसेर काम गर्ने हो भने लाईभ फ्लोरसिट देखाउँदा राम्रो हुन्छ । तर कानुनको लुपहोल्स प्रयोग गरेर भोलि मार्केटमा म्यानिपुलेसन हुने भएर बन्द गरेको हो । लगानीकर्ताहरूलाई चाहीँ लाईभ फ्लोरसिट हेर्न नपाएपछि वास्तवमा मार्केट कहाँ जाँदैछ, कुन ब्रोकरमार्फत् कसको कति खरिदबिक्री भईराखेको छ भन्ने हेर्न नपाउँदा गाह्रो भएको बताए ।"

त्यस्तै, लाईभ फ्लोरसिट हटाएपछि यसकाे प्रभावकारिताकाे लागि नियमनकारी निकायले के गरिरहेकाे छ भन्ने बुझ्न हामीले नेपाल धिताेपत्र बाेर्डसँग पनि कुरा गर्याैँ । लाईभ फ्लोरसिट हर्न मिल्ने व्यवस्था हटाउन नेप्सेलाई पत्राचार गरेपछि र साे व्यवस्था कार्यान्वयनमा आएपछि यसकाे प्रभावकारिता हेर्न कुनै पनि प्रकारकाे अध्ययनका लागि सेबाेन अग्रसर भएकाे पाइएन । 

लाईभ फ्लोरसिट बन्द गर्ने व्यवस्थाकाे कार्यान्वयन भएकाे त ११ महिना लागिसक्याे । तर यस व्यवस्थाले कम पूँजी भएकालाई कतै अन्याय त  भएन ? भन्ने प्रश्न चिन्ह भने सधैँ खडा रहन्छ । हामीले माथि केही लगानीकर्ताहरूकाे धारणा पनि बुझ्याैँ । अधिकांश लगानीकर्ताले याे व्यवस्थाले साना लगानीकर्ताहरू मर्कामा परेकाे राय पेश गरेका छन् । यति मात्रै नभएर कति आम लगानीकर्ताहरूले समाजिक सञ्जाल लगायत अनेकौँ माध्यमबाट लाईभ फ्लोरसिट हेर्न मिल्ने व्यवस्था पुन: सुचारू हुनुपर्ने आवाज बारम्बार उठाउँदै आइरहेका छन् ।   

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Laaj sharanam

धेरै पढिएको