क्रिस लिनको पहिलो अर्धशतक र बलरहरुको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्चिमले चितवन राइनोजलाई पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा शीर्ष स्थानमा रहँदै प्लेअफमा पुगेको छ । चितवनलाई ४९ रनले पराजित गर्दै सुदूरपश्चिमल क्वालिफायर वान खेल्ने पक्का गरेको हो ।
लिग चरणमा लगातार ६ खेल जित्दै १२ अंक जोडेको अपराजित सुदूरपश्चिमले शीर्ष दुईमा रहने पक्का गरेपछि पहिलो क्वालिफायर खेल्ने भएको हो । चितवनको भने यो चौथो हार हो । ६ खेलबाट ४ अंक रहेको चितवन छैटौं स्थानमा छ र प्लेअफ पुग्ने होड कमजोर बनेको छ ।
सुदूरपश्चिमसँग चितवन हारेपछि तेस्रो स्थानमा रहेको विराटनगर किंग्स पनि लिगको एक खेल अगावै प्लेअफ पुगेको छ । विराटनगरले ६ खेलबाट ८ अंक जोडेर तेस्रो स्थानमा छ । अब विराटनगरलाई लुम्बिनी बाहेक कुनै पनि टिमले भेट्न नसक्ने भएपछि विराटनगरलाई फाइदा पुगेको हो ।
यस्तै बिहीबार पोखरा एभेन्जर्स र चितवन राइनोजको हारपछि लुम्बिनी लायन्सलाई फाइदा पुगेको छ । लुम्बिनीले शुक्रबार जनकपुरलाई पराजित गरेमा प्लेअफ पुग्नेछ । सुदूरपश्चिमले दिएको १७० रनको लक्ष्य पछ्याएको चितवनले १७.१ ओभरमा सबै विकेट गुमाएर १२० रनमा अलआउट भयो ।
चितवनका लागि रवि बोपाराले सर्वाधिक २९ रन बनाउँदा देव खनालले २८, ओपनर अर्जुन साउदले १६ र कप्तान कुशल मल्लले १५ रन बनाए । चितवनलाई अलआउट गर्न सुदूरपश्चिमका लागि पुनित मेहराले ३ विकेट लिए । दीपेन्द्र सिंह ऐरी, हिक्मत महरा, अविनाश बोहरा र इशान पाण्डेले १–१ विकेट लिए । त्यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको साविक उपविजेता सुदूरपश्चिमले क्रिस लिनको अर्धशतकमा २० ओभरमा ४ विकेट गुमाएर १६९ रन बनाएको थियो ।
नियमित ओपनर जोश ब्राउनलाई आराम दिएपछि विनोद भण्डारीसँग ओपनिङ गरेका लिनले सर्वाधिक ७५ रन बनाए । आरिफ शेखले र कप्तान दीपेन्द्रले अविजित रहँदै समान २४ रन बनाए । विनोद भण्डारीले २१ र पुनित मेहराले १३ रन जोडे । बलिङमा चितवनका सैफ जैबले २ तथा रन्जित कुमार र जर्ज स्क्रिम्शले १–१ विकेट लिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस