नेकपा (एमाले) का नेता माधवप्रसाद ढुंगेलले अहिलेको संसद्मा भएको प्रतिनिधित्वले राजनीतिलाई स्थिरता नदिने बताएका छन् । हिजो (आइतबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले यस्तो बताएका छन् ।
उनले राष्ट्रपतिमा पार्टीले अघि सारेको उम्मेदवार सुवासचन्द्र नेम्वाङ योग्य र सक्षम भएकोले निर्वाचित हुने विश्वास दिलाए । उनले फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा चमत्कार हुने पनि दाबी गरे ।
ढुंगेलले आफूहरुले राष्ट्रपतिमा नेम्वाङको विजय नजिकैबाट हेरिरहेको पनि जिकिर गरे । उनले भने,‘राष्ट्रपतिको निर्वाचनमा हामीले अघि सारेको पात्र सुवास नेम्वाङ योग्य र सक्षम पात्र हो । उहाँ संविधानसभामा सबैभन्दा राम्रो भूमिका खेलेको, मध्यस्थतापनि गर्नसक्ने, संयोजन पनि गर्नसक्ने व्यक्ति हो । एमालेले सिंगो देशको साझा व्यक्तिको रुपमा आफूलाई खडा गर्नसक्ने, त्यो योग्यता प्राप्त गरेको र व्यवहारले प्रमाणित गरेको सुवास नेम्वाङलाई अघि सारेको हो । जनमत परिक्षण गर्नुभयो भने जनमतसंग्रह गर्ने हो भने सुवास नेम्वाङको ९० प्रतिशत मत आउँछ भन्ने कुरा मलाई विश्वास छ । त्यो व्यक्तित्व एमालेले अघि सारेको छ । यो कुनै ह्विप लाग्ने चुनाव होईन । सबैको मत रहनसक्छ। फागुन २५ गते एउटा नयाँ चमत्कारका साथ उहाँ विजयी हुनुहुन्छ । नेपाली जनताले आदिवासी जनजातिबाट एकपटक राष्ट्रपति भएको हेर्न चाहेका छन् । सबै हिसाबले उहाँ योग्य पात्र हो । हामीले त नेम्वाङको विजय नजिकैबाट हेरिरहेका छौं ।’
उनले समाजवादी मोर्चा बनाएपनि वा पाँच÷दश वटा दल एकै बनाएपनि देशमा कम्युनिष्ट आन्दोलनको केन्द्र एमाले हो भन्ने कुरामा कुनै कन्फ्युजन छ र ?भन्दै प्रश्न गरे । उनले बरु अहिले बिग्रिएको राजनीतिलाई सही ट्रयाकमा ल्याउनुपर्नेमा जोड दिए ।
उनले अहिले कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी, नेकपा (एकीकृत समाजवादी) लगायतको आठ दलको गठबन्धन बनेकोतर्फ ईंगित गर्दै राष्ट्रपतिको निर्वाचनअघि नै उक्त गठबन्धन भत्काउने आफूहरु लागिपर्ने उद्घोष गरे ।
उनले भने,‘अब नयाँ सहमति÷सम्झौता एक हप्ता वा दश दिनभित्र के–के हुन्छ ? त्यो हेरौं, एमाले गठबन्धन भत्काउँछ । आफ्नो अगुवाईमा नयाँ सरकार बनाउँछ । आफ्नो अगुवाईमा बन्न सकेन भने अरु कसैलाई अघि बढाउँछ । हामीले राजनीतिको शुद्धिकरण चाहेका छौं । कमरेड प्रचण्डको भूमिकाले राजनीतिलाई दुषित बनाएको छ । १० दिनभित्र यो आठ दलीय गठबन्धन कायम हुँदैन् । राष्ट्रपतिको निर्वाचनमा भोटरले ह्वीप मान्दैनन् । गोप्य मतदान योग्य उम्मेदवार नेम्वाङको पक्षमा हुन्छ ।’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस