Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा २ कम्पनीको बोनस सेयर सूचीकृत, लिबर्टी इनर्जीले पायो हकप्रद निष्कासनको अनुमति

अर्थ संसार

बुधबार, १७ फागुन २०७९, १८ : ११ मा प्रकाशित

बुधबार दिनभरका प्रमुख आर्थिक समाचारहरू तल उल्लेख गरिएकाे छ :

१. सुर्योदय वोमी लघुवित्त वित्तिय संस्था लिमिटेडले लाभांश घाेषणा गरेको छ । संस्थाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई १५% बोनस सेयर वितरण गर्ने घाेषणा गरेको हो । संस्था हालै मर्जमा गएका कारण कर छुट हुने भएकाले संस्थाले नगद भने प्रस्ताव गरेकाे छैन ।

२. बिपिडब्लु लघुवित्त वित्तिय संस्था लिमिटेडले पहिलो चरणमा वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि निष्कासन गरेको आईपीओ बाँडफाँड गरिएको छ । उक्त आईपीओ हिजो फागुन १६ गते बाँडफाँड गरिएको हो । संस्थाले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई ९ हजार ७ सय कित्ता सेयर निष्कासन गरेको थियो । रितपुर्वक आवेदन दिने १५ हजार ९ सय १८ जना आवेदक मध्यहरुबाट गोलाप्रथाद्धारा ९ सय ७० जना आवेदकलाई समान १० कित्ताका दरले ९ हजार ७०० कित्ता सेयर बाँडफाँड गरिएको कम्पनीले जनाएको छ । 

३. स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाको छैठौँ वार्षिक साधारण सभा चैत्र ११ गते डार्सिज इन्टरनेशनल होटल, बुटवल रुपन्देहीमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.०५ प्रतिशत नगद लाभांश गरी कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । संस्थाले साधारणसभा प्रयोजनको लागि चैत्र ३ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ । जस अनुसार अनुसार चैत्र २ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

४. अपर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद निष्कासन गर्ने अनुमति पाएकाे छ । कम्पनीले नियमनकारी निकाय विद्युत नियमन आयोगबाट १ बराबर १ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने अनुमति पाएकाे हाे । अब उक्त हकप्रद प्रस्ताव सेबाेनमा निवेदन दिएर त्यहाँबाट स्विकृत भएपछि निष्कासन गरिनेछ ।

५. आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले छैठौं वार्षिक साधारण सभा बोलाएको छ । संस्थाको सभा चैत ११ गते, संस्थाको केन्द्रिय कार्यालय ककनी, नुवाकोटमा बस्नेछ । सभाले हाल कायम रहेको चुक्ता पुँजीको १४.२८५७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका ०.७१४३ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि फागुन २६ गते बुक क्लोज गर्ने भएकोले तसर्थ फागुन २५ गते सम्म कायम शेयरधनीहरुले लाभांश पाउने र सभामा उपस्थित हुन पाउनेछन् ।

६.  बुधबार सेयर बजार दाेहाेराे अंकले घटेकाे छ । आज नेप्से परिसूचक २४.४४ अंकले घटेर १९९५.४९ विन्दुमा झरेकाे छ । कुल २ सय ५७ वटा कम्पनीकाे ३७ लाख २९ हजार ९ सय ७६ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब २८ कराेड ८३ लाख ६३ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे छ ।

७. लिबर्टी इनर्जी कम्पनी लिमिटेडले हकप्रद निष्कासन गर्ने अनुमति पाएकाे छ । कम्पनीले नियमनकारी निकाय विद्युत नियमन आयोगबाट हाल कायम रहेको चुक्ता पुँजीको १ बराबर ०.५ को अनुपातमा ५० प्रतिशतले हुन आउने ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता  हकप्रद निष्कासन गर्ने अनुमति पाएकाे हाे । अब उक्त हकप्रद प्रस्ताव सेबाेनमा निवेदन दिएर त्यहाँबाट स्विकृत भएपछि निष्कासन गरिनेछ ।

८. नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधबार २ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । सानिमा बैंक लिमिटेडको १०  प्रतिशत बोनसबापतकाे १ करोड १३ लाख २७ हजार ३७७ दशमलव ३३ कित्ता र सीवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको ३० प्रतिशत बाेनस बापतकाे ३ लाख ६४ हजार ९ सय २५ दशमलव ५१ कित्ता सेयर सूचीकृत भएको हो ।

९. सिद्धार्थ र प्रिमियर इन्स्योरेन्स एक आपसमा मर्ज भइ आजबाट एकीकृत कारोबार सुरु गरेका छन् । दुवै कम्पनी एक आपसमा गाभिएपछि सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार सुरू भएकाे हाे । दुई कम्पनी एक बराबर एक (१ः१) को सेयर स्वाप रेसियोमा मर्जर भएका हुन् ।  

१०. बुधबार सुनकाे भाउ ताेलामा ५ सय रूपैयाँले बढेर प्रतिताेला १ लाख २ हजार ३ सय रुपैयाँ कायम भएको छ ।  यता, बुधबार चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर १२ सय ७० रुपैयाँ कायम भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको