Like us!
Follow us!
Connect us!
Watch us!

कहाँ आफ्नो सम्पत्ति खर्चेर गरीबको ऋण तिरिदिने शंखधर, कहाँ बेतुकमा उफ्रिने दुर्गा प्रसाईं !

अर्थ संसार

बुधबार, ०१ चैत्र २०७९, १७ : १० मा प्रकाशित

कहाँ आफ्नो सम्पत्ति खर्चेर गरीबको ऋण तिरिदिने शंखधर, कहाँ बेतुकमा उफ्रिने दुर्गा प्रसाईं !

पछिल्लो समयका विवादित व्यवसायी हुन् दुर्गा प्रसाईं । उनी विवादमा तानिनुको मुख्य विषय हो उनको "राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ" नामक महाभियान ।

प्रसाईले "राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ" महाभियान नाम दिएर नेपालको पूर्वी जिल्ला झापाबाट अभियानको सुरुवात गरेका थिए । अभियानको सुरुमै पूर्व राजा ज्ञानेन्द्र शाहसहित पूर्वराजपरिवारका सदस्य मञ्चमै देखिएका थिए । राजसंस्थाको अन्तपछि पहिलोपटक १३ फरवरीमा पूर्वराजा शाह झापामा एउटा राजनीतिक मञ्चमै देखिएका थिए । उक्त कार्यक्रमको संयोजन व्यवसायी दुर्गा प्रसाईंले गरेका थिए । पूर्व राजालाई नै बोलाएर कार्यक्रम गरेपछि उनको समर्थनमा जनलहर उर्लिएको थियो ।

आजकाल उनले सोहि  महाभियानको नाममा पूर्वदेखि पश्चिमसम्म अनेकौँ कार्यक्रम गरी अराजकता फैलाइरहेका छन् । हरेक कार्यक्रममा आफ्नो भाषणमा उनले सधैँ शंखधर साख्वाको नाम लिने गर्छन् । आफूलाई सधैँ शंखधर साख्वासँग तुलना गर्ने उनी साँच्चीकै तुलनाका लागि लायक छन् त ? यतिबेला यो प्रश्न चिन्ह खडा गर्नु अत्यावश्यक बनेको छ ।

आखिर को थिए शंखधर साख्वा ? उनले के गरेका थिए ?

शंखधर साख्वा नेपालका राष्ट्रिय विभूति हुन् । आजभन्दा ११४१ वर्ष पहिले काठमाडौंवासीलाई ऋणमुक्त गरेर उनैले नेपाल संवत् सुरुवात गरेको भन्ने मान्यता छ । राष्ट्रिय विभूति शंखधर साख्वाःले विसं ९३७ (ईसं ८८०) मा कान्तिपुर र भादगाउँका गरीब जनताको ऋण मोचन गरी नेपाल सम्बतको थालनी गरेका थिए ।

शंखधर कुनै राजा–महाराजा नभई एक व्यापारी भएको कुरा इतिहासले बताउँछ । उनी एउटा व्यापारी भए पनि समाजसेवी थिए । उनले आफूलाई तिर्नुपर्ने हजारौं मानिसको ऋणमोचनको घोषणा गरेर ऐतिहासिक र साहसिक कार्य गरेका थिए। उक्त ऋणमोचन गर्ने घोषणा गरेको दिनलाई तत्कालीन राज्यले समेत ठूलो महत्व दियो र सोही दिनलाई नेपाल संवत् सुरु भएको घोषणा गर्यो ।

शंखधर साख्वाले ऋणमोचन घोषणा गरेको ११ सय वर्षपछि उनको यस अतुलनीय योगदानको सम्मान गर्ने भन्दै उनलाई राष्ट्रिय विभूति घोषणा गरिएको थियो । गरिब जनताको ऋणमोचन गराई सामाजिक सेवाको नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक सम्बत चलाएको कदर गर्दै २०५६ को नयाँ वर्षका दिन तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्टिय विभूति घोषणा गरेका थिए । विसं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल सम्बतले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए ।

दुर्गा प्रसाईंले आफ्ना मन्तव्यमा यीनै शंखधर साख्वाको नाम लिन्छन् । शंखधर साख्वाको नाम लिई आफूलाई उनीसँग तुलना गरीरहँदा आफूले भने उनै साख्वाले झैँ योगदान पुर्याउन सक्छु र भन्ने बारेमा सोच्नु पर्ने होइन र ? शंखधर साख्वाले जनताको ॠणमोचन गरेझैँ दुर्गा प्रसाईंले पनि जनताको ॠण मोचन गरिदिने क्षमता राख्छन् र ? यदि राख्दैनन् भने हुनै नसक्ने २० लाख मुनिको ॠण मिनाहा हुनुपर्छ भन्दै हिँडेर जनतामा झुठो आश्वासन पलाउने ठाउँ किन दिईरहेका छन् ?

बैंक तथा वित्तीय संस्थाविरुद्ध बोल्दै प्रसाईंले अनेकौँ कृयाकलापको नेतृत्व गरिरहेका छन् । उनको आह्वानमा बैंक तथा वित्तीय संस्थाहरूका कर्मचारीलाई कालोमोसो दल्नेसम्मका अराजकताका कामहरू भए । अभियानकै क्रममा उनले एक कार्यक्रममै, "सतिश पोख्रेलको नेतृत्वमा देशभरि लघुवित्तका मान्छेलाई कालोमोसो दल्ने समूह बनाएको, लघुवित्तका मान्छे गाउँमा आए भने च्याप्प समाउने, कालोमोसो दल्ने। बैंकका कर्मचारीले टर्चर गरे भने बैंकको बाहिर रुँघेर बस्ने र कालोमोसो दल्ने, बैंकभित्र छिर्यो भने पो मुद्दा लाग्छ" लगायतका कुरा बोलेका थिए ।

प्रसाईँले खुलमखुल्ला नीति ऐन कानुन सबै विपरित भएर बोल्दै हिँड्दा पनि सरकार भने खै किन मौन छ । यतिबेला विश्वमा नै बैंकहरू संकटमा गएका छन् । विश्व बजार संकटबाट आत्तिरहँदा नेपाल पनि यसबाट अछुतो रहन सकेको छैन । नेपालमा पनि बैंकहरू डुब्ने हुन् की भनेर आम सर्वसाधारण आत्तिएका छन् । यद्यपी नेपालमा अहिले त्यस्तो अवस्था आउने सम्भावना छैन । यसैबीच, लघुवित्त संकट तथा सहकारी फरार भईरहेका खबरहरू हामीले सुनिरहेकै छौँ । यही माहोलमा प्रसाईँले २० लाख भन्दा मुनीको ॠण मिनाहा गर्नुपर्ने भन्दै भाषण दिँदै आएका छन् । हुँदै नहुने कुरा खुल्लेआम बोल्दै हिँड्नु भनेको अराजकताको पराकाष्ठा नाघ्नु जत्तिकै हो ।

नियामक निकाय राष्ट्र बैंक, गभर्नर लगायत अन्य सरोकारवालाहरूले ॠण लिएपछि तिर्नैपर्ने ॠणीहरूको दायित्व रहेको र यसबाट पञ्छिन खोज्नु गैरकानुनी र गलत भन्दै आएका छन् । ॠण लिएर तिर्दिन भन्नु गलत रहेको भन्दै बैंक तथा वित्तीय संस्थाले प्रेस विज्ञप्ति समेत सार्वजनिक गरिरहेका छन् । यति हुँदाहुँदै पनि प्रसाईँले भने २० लाखमुनीको ॠण मिनाहा हुनुपर्छ भन्न छाडेका छैनन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको