Like us!
Follow us!
Connect us!
Watch us!

फोहोर बोक्ने गाडीलाई टाइम कार्ड लागु

अर्थ संसार

आइतबार, १२ चैत्र २०७९, ०७ : १३ मा प्रकाशित

फोहोर बोक्ने गाडीलाई टाइम कार्ड लागु

मुड्खु नाकाबाट तीनपिप्ले हुँदै ओखरपौवासम्म काठमाडौँ उपत्यकाको फोहोर ढुवानी गर्ने सवारी साधनलाई समय तालिका (टाइम कार्ड) लागू गरिएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले मुड्खु नाकाबाट तीनपिप्ले हुँदै ओखरपौवा चल्ने फोहोर बोक्ने गाडीलाई शनिबारबाट समय तालिका (टाइम कार्ड) लागू गरिएको जानकारी दिनुभयो ।

दुर्घटनाको जोखिम हुने गरी तीव्र गतिमा सवारीसाधन चलाउने गरेको र असुरक्षित महसुस भएको गुनासो स्थानीयवासीबाट आएपछि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौँ महानगरपालिकाको संयुक्त पहलमा उक्त सडकखण्डमा फोहोरबोक्ने गाडीका लागि समय तालिका लागू गरिएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “मुड्खु नाकामा चालकलाई टाइम कार्ड दिइने छ र पालना भए/नभएको जाँच तीनपिप्ले र ओखरपौवा चेकपोस्टमा गरिनेछ ।"

उहाँका अनुसार मुड्खुदेखि तीनपिप्लेसम्मको सडकखण्डमा प्रतिघण्टा ३० किलोमिटर र तीनपिप्लेदेखि ओखरपौवा चेकपोस्ट सम्मको सडकखण्डमा प्रतिघण्टा २० किलोमिटर गति निर्धारण गरिएको छ । मुड्खुदेखि तीनपिप्लेसम्मको पाँच किलोमिटर सडकखण्ड पार गर्न न्यूनतम १० मिनेट र तीनपिप्लेदेखि ओखरपौवासम्मको आठ किलोमिटर सडकखण्डमा न्यूनतम २५ मिनेट समय निर्धारण गरिएको छ ।

तोकिएको स्थानमा निर्धारित समयभन्दा छिटो पुगेमा कारबाही गरिने बताउँदै प्रवक्ता भट्टले समय तालिकाले आवागमन व्यवस्थापनका साथै गन्तव्य स्थानमा छिटो पुग्नका लागि तीव्र गतिमा सवारीसाधन चलाउने प्रवृत्तिलाई निरुत्साहित गर्ने बताउनुभयो ।

यो समाचार आजको गोरखापत्रमा छ

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको