Like us!
Follow us!
Connect us!
Watch us!

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ‘मेहरुन्निसा’ फिल्मको विशेष प्रदर्शन आयोजना

अर्थ संसार

बुधबार, ०४ चैत्र २०८२, १८ : ०४ मा प्रकाशित

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ‘मेहरुन्निसा’ फिल्मको विशेष प्रदर्शन आयोजना

अस्ट्रियन दूतावास नयाँ दिल्लीले अस्ट्रियाको मानद कन्सुलको संयोजन तथा FWEAN सँगको सहकार्यमा आज काठमाडौंस्थित QFX छाया केन्द्रमा विशेष फिल्म प्रदर्शन कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा विभिन्न क्षेत्रका करिब १५० जना सहभागीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर अस्ट्रियन सांस्कृतिक फोरम र अस्ट्रियन दूतावास नयाँ दिल्लीले भारत, बंगलादेश, भुटान, नेपाल र श्रीलंकामा रहेका अष्ट्रियाका मानार्थ वाणिज्य दूतावासहरूसँग सहकार्य गरी पुरस्कारप्राप्त फिल्म ‘मेहरुन्निसा’ को विशेष प्रदर्शन आयोजना गरेका हुन्। उक्त प्रदर्शन स्थानीय महिला संगठनहरूले उपलब्ध गराएका स्थलहरूमा सञ्चालन गरिएको हो। यो पहल युरोपेली तथा अन्तर्राष्ट्रिय मामिलाका लागि अष्ट्रियाको संघीय मन्त्रालयको महिला अधिकार, समानता र सशक्तीकरणप्रतिको प्रतिबद्धतासँग मेल खाने विश्वास लिइएको छ।

‘मेहरुन्निसा’ सन्दीप कुमारद्वारा निर्देशित ९० मिनेट लामो नाटक (ड्रामा) फिल्म हो। लखनउमा आधारित यस फिल्मले ८० वर्षीया एक विधवाको कथा प्रस्तुत गर्छ, जसले आफ्ना दिवंगत श्रीमानको प्रभावबाट मुक्त भई आफ्नै पहिचान स्थापित गर्ने साहसिक निर्णय गर्छिन्। यस क्रममा उनले पितृसत्तात्मक मान्यताहरूलाई चुनौती दिँदै महिलाहरूका लागि प्रेरणादायी उदाहरण प्रस्तुत गर्छिन्। फिल्ममा भारतकी चर्चित चरित्र अभिनेत्री फारुख जाफरले ८८ वर्षको उमेरमा पहिलो पटक मुख्य भूमिकामा अभिनय गरेकी छन्। चार दशकभन्दा लामो अभिनय यात्रामा उनले ‘पिपली लाइभ’, ‘स्वदेस’, ‘सुल्तान’, ‘सेक्रेट सुपरस्टार’ र ‘फोटोग्राफ’ जस्ता चर्चित फिल्महरूमा स्मरणीय भूमिका निर्वाह गरिसकेकी छन्। ‘मेहरुन्निसा’ मा उनको भूमिकाले साहस, आत्मसम्मान र अवसरको अभावसँग जुध्ने विषयलाई प्रभावकारी रूपमा प्रस्तुत गरेको छ।

निर्देशक सन्दीप कुमार भियना आधारित छन् र उनका फिल्महरूले पहिचान, आप्रवासन, मर्यादा र समानता जस्ता विषयहरूलाई उजागर गर्छन्। उनका कृतिहरू विभिन्न अन्तर्राष्ट्रिय फिल्म महोत्सवहरूमा प्रदर्शन भई पुरस्कारसमेत प्राप्त गरिसकेका छन्। ‘मेहरुन्निसा’ को प्रिमियर भारतको अन्तर्राष्ट्रिय फिल्म महोत्सव (गोवा) मा भएको थियो। त्यसपछि यो फिल्म डाइगोनेल, प्रिस्टिना अन्तर्राष्ट्रिय फिल्म महोत्सव, दक्षिण एशिया अन्तर्राष्ट्रिय चलचित्र महोत्सव भ्यानकुभर, ए.एस.टि. आइ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव तथा भारतीय फिल्म महोत्सव स्टटगार्ट लगायतका अन्तर्राष्ट्रिय महोत्सवहरूमा प्रदर्शन भइसकेको छ। स्टुटगार्ट फिल्म फेस्टिभलमा यसले उत्कृष्ट अभिनेत्री पुरस्कारसहित विभिन्न सम्मान प्राप्त गरेको छ।

यस विशेष प्रदर्शनमार्फत महिला सशक्तीकरण, समानता र सामाजिक चेतनाको सन्देश प्रवाह हुने अपेक्षा गरिएको छ। साथै, यस्ता सांस्कृतिक कार्यक्रमहरूले अष्ट्रिया र दक्षिण एशियाली देशहरूबीचको सम्बन्ध अझ सुदृढ बनाउने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको