Like us!
Follow us!
Connect us!
Watch us!

नयाँ धितोपत्र दर्ता तथा निष्काशन नियमावली मंसिरदेखि, धितोपत्र बजार विस्तार हुने बोर्डको अपेक्षा

सोमबार, २९ कार्तिक २०७३, ११ : २० मा प्रकाशित

नयाँ धितोपत्र दर्ता तथा निष्काशन नियमावली मंसिरदेखि, धितोपत्र बजार विस्तार हुने बोर्डको अपेक्षा

अर्थ संसार
काठमाडौं–नेपाल धितोपत्र बोर्डले धितोपत्र दर्ता तथा निष्काशन नियमावली संशोधन भएकाले वास्तविक क्षेत्रका संगठित संस्थाहरुको बजारमा प्रवेशलाई प्रोत्साहन हुने बताएको छ । बोर्डले दोस्रो बजार व्यापक हुने दावी समेत गरेको  छ । अर्थ मन्त्रालयले बोर्डले प्रस्ताव गरेको धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ लाई यसै साता स्वीकृति प्रदान गरेको हो ।

बोर्डले मंसिर १ देखि उक्त नियमावली लागू गर्ने जनाएको छ । यसले बजारको संरचनात्मक सुधार हुने, आइएफसी, एडिवी जस्ता अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरुले स्थानीय मुद्रामा ऋणपत्र जारी गर्दा बजारको विस्तार र गहिराई बढेर नयाँ अध्याय थपिने, चासोमा हुने द्वन्द्व (कन्फ्लिक्ट अफ इन्ट्रेस्ट) लाई सम्बोधन हुने, धितोपत्रको निष्काशन कार्य थप व्यवस्थित तथा पारदर्शी हुने तथा बिगत पच्चीस वर्षदेखि निश्चित मूल्यमा सार्वजनिक सेयर निष्काशन हुने गरेकोमा निश्चित मापदण्ड पूरा गरी स्वतन्त्र मूल्यमा जानको लागि पूर्वाधार तयार हुने बोर्डले विश्वास लिएको विज्ञप्तिमा जनाएको छ । 

पूँजी बजारको बिकास तथा बिस्तार गर्न, अन्तर्राष्ट्रिय वित्तीय संस्थाले स्थानीय मुद्रामा ऋण पत्र जारी गर्न तथा वास्तविक क्षेत्रका संगठित संस्थाहरुलाई पूँजीबजारमा सहभागी गराउनुका साथै साविकको नियमावलीमा देखिएका कमि कमजोरीहरुलाई सुधार गर्ने, बजार विकासका लागि आवश्यक नयाँ व्यवस्थाहरु गर्ने उद्देश्यले नयाँ नियमावली तयार गरिएको बोर्डले जनाएको छ ।

 
यस नयाँ नियमावलीले प्रमुख रुपमा अन्तर्राष्ट्रिय वित्तीय संस्थाले स्थानीय मुद्रामा ऋणपत्र जारी गर्ने व्यवस्था गर्ने, वास्तविक क्षेत्रका संगठित संस्थाहरुले न्यूनतम दश प्रतिशत मात्र पनि सार्वजनिक निष्काशनमा जान पाउने व्यवस्था गर्न, प्रिमियममा धितोपत्र निष्काशन गर्न सक्ने व्यवस्थालाई बजार मैत्रीगर्ने, स्वार्थ बाझिने गरी धितोपत्रको निष्काशन÷वितरण गर्न नपाउने ब्यवस्था नयाँ नियमावलीमा छ । 

यस्तै धितोपत्र दर्ता तथा दस्तुर बुझाउने व्यवस्थालाई सरलीकृत गर्ने, संगठित संस्थाहरुले गर्ने सार्वजनिक निष्काशन, हकप्रद निष्काशन, नयाँ निष्काशन तथा अन्य निष्काशनलाई थप सरलीकृत गर्ने, सूचिकृत संगठित संस्थाहरुको विवरण प्रवाहलाई थप व्यवस्थित गर्ने, गाभ्ने गाभिने प्राप्ति कार्यपछिको धितोपत्र दर्ता कार्यलाई सहजीकरण गर्ने, परिपत्र विधिद्वारा गरिने निष्काशन कार्यलाई व्यवस्थित गरी स्वस्थ परिपाटीको विकास गर्ने जस्ता व्यवस्थाहरु यसमा गरिएको बोर्डले जनाएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको