Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकको तथ्याङ्क: बैंक, बीमा र जलविद्युत् कम्पनीले धितोपत्र बजारमा अग्रस्थान

अर्थ संसार

मंगलबार, २८ असोज २०८२, १९ : ४४ मा प्रकाशित

राष्ट्र बैंकको तथ्याङ्क: बैंक, बीमा र जलविद्युत् कम्पनीले धितोपत्र बजारमा अग्रस्थान

नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक भदौ मसान्तसम्म आइपुग्दा वृद्धि भएको देखिएको छ। नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को दोस्रो महिनासम्मको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दा धितोपत्र बजारसम्बन्धी सूचकांकमा सुधार देखिएको हो।

२०८१ भदौ मसान्तमा २५८०.७६ रहेको नेप्से सूचक २०८२ भदौ मसान्तमा बढेर २६७२.२५ पुगेको छ। यस अवधिमा बजार पुँजीकरण पनि उल्लेखनीय रूपमा वृद्धि भएको छ। २०८१ भदौ मसान्तमा रु.४१०३ अर्ब ६२ करोड रहेको बजार पुँजीकरण २०८२ भदौ मसान्तमा रु.४४६७ अर्ब ३० करोड पुगेको हो। कुल गार्हस्थ्य उत्पादन (जिडीपी) सापेक्ष बजार पुँजीकरणको हिस्सा गत वर्षको ७१.८८ प्रतिशतबाट बढेर ७३.१५ प्रतिशत पुगेको छ।

नेप्सेमा सूचीकृत कम्पनीहरूको संख्या पनि बढेको छ। २०८१ भदौ मसान्तमा २६७ रहेको संख्या २०८२ भदौ मसान्तमा बढेर २७६ पुगेको छ। सूचीकृत कम्पनीहरूमध्ये १३२ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी, ९४ जलविद्युत् कम्पनी, २३ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ९ अन्य समूहका कम्पनी रहेका छन्।

बजार पुँजीकरणमा सबैभन्दा ठूलो हिस्सा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको रहेको छ। यस समूहको हिस्सा ५२.९ प्रतिशत रहेको छ भने जलविद्युत् कम्पनीहरूको हिस्सा १४.९ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.५ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ५.६ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ४.९ प्रतिशत, होटेल क्षेत्रको हिस्सा २.७ प्रतिशत र अन्य समूहको हिस्सा ११.३ प्रतिशत रहेको छ।

२०८२ भदौ मसान्तसम्म नेप्सेमा सूचीकृत ८ अर्ब ९१ करोड कित्ता सेयरहरूको कुल चुक्ता मूल्य रु.८७७ अर्ब ९७ करोड पुगेको छ।

समीक्षा अवधिमा रु.१७ अर्ब बराबरका थप धितोपत्रहरू नेप्सेमा सूचीकृत भएका छन्। तीमध्ये रु.१२ अर्ब ७८ करोड बराबरका साधारण सेयर, रु.१ अर्ब ८३ करोड बराबरका बोनस सेयर, रु.१ अर्ब ४६ करोड बराबरका हकप्रद सेयर र रु.९२ करोड ५० लाख बराबरका एफपीओ रहेका छन्।

यस्तै, नेपाल धितोपत्र बोर्ड (सेबोन) ले समीक्षा अवधिमा रु.१० अर्ब ९५ करोड बराबरका नयाँ धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको छ। यसमध्ये रु.६ अर्ब १८ करोड बराबरका म्युचुअल फण्ड, रु.३ अर्ब ७८ करोड बराबरका हकप्रद सेयर र रु.९९ करोड ४७ लाख बराबरका साधारण सेयर रहेका छन्।

68ee57683e63d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको