सिन्धुपाल्चोकको जेन–जी समूहले ४५ मेगावाटको भोटेकोशी जलविद्युत आयोजनाको १० प्रतिशत शेयर सित्तैमा पाएका छन् । स्थानीय जेन–जी समूह आन्दोलनमा उत्रिएपछि जेनजी पब्लिक इन्भेस्टमेन्ट कम्पनीलाई आयोजनाको १० प्रतिशत सेयर दिने सम्झौता गरेको हो । आइतबार सम्पन्न सहमतिपछि करिब एक महिनादेखि अवरुद्ध रहेको आयोजना पुनः सञ्चालनमा आएको छ।
सम्झौतापत्रमा इन्भेस्टमेन्ट कम्पनीका तर्फबाट अध्यक्ष फुर्पा शेर्पा र अन्य प्रतिनिधिहरू तथा भोटेकोशी पावर कम्पनीका तर्फबाट कम्पनी सचिव विश्व मोहन कर्माचार्यसहितका पदाधिकारीहरूले हस्ताक्षर गरेका हुन्। पाँच बुँदे उक्त सम्झौताअनुसार जलविद्युत आयोजनाबाट प्रत्यक्ष प्रभावित स्थानीय जनतालाई समेटेर गठन गरिएको इन्भेस्टमेन्ट कम्पनीलाई १० प्रतिशत सेयर दिने सहमति भएको हो। यो सेयर अघिल्लो सम्झौता (२०७१ पुस ९ गते) अनुसार निर्धारण गरिएको ६ प्रतिशतमा थप ४ प्रतिशत जोडेर कायम गरिएको हो।
सहमतिअनुसार अब १० प्रतिशत सेयरका लागि आवेदन प्रक्रिया सुरु गरिनेछ। त्यस्तै, सामाजिक उत्तरदायित्वअन्तर्गत भोटेकोशी गाउँपालिकालाई दिँदै आएको रकममा वृद्धि गरी अब वार्षिक २ करोड ५० लाख रुपैयाँ प्रदान गर्ने सहमति पनि गरिएको छ।
दुवै पक्षबीच भविष्यमा आयोजना सम्बन्धी उत्पन्न हुन सक्ने विभिन्न माग तथा समस्याहरूको समाधानका लागि आपसी समझदारी र सहकार्य रहने प्रतिबद्धता जनाइएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस