Like us!
Follow us!
Connect us!
Watch us!

जिल्ला नगरकोे नेतृत्व गर्नु समग्र निजी क्षेत्रको नेतृत्व गरे सरह होः दिनेश श्रेष्ठ

अर्थ संसार

सोमबार, २० चैत्र २०७९, १४ : १४ मा प्रकाशित

जिल्ला नगरकोे नेतृत्व गर्नु समग्र निजी क्षेत्रको नेतृत्व गरे सरह होः दिनेश श्रेष्ठ

नेपाल उद्योग वाणिज्य महासंघका हालका उपाध्यक्ष दिनेश श्रेष्ठ झण्डै २ दशकदेखि उद्योग वाणिज्य महासंघमा कार्यसमिति अन्तरगत विभिन्न भूमिकामा रहँदै आएका छन् । महासंघको आगामी निर्वाचनमा पनि जिल्ला नगर तर्फका उपाध्यक्षका प्रत्यासी श्रेष्ठले साना तथा मझौला व्यवसायीका समस्या समाधान गर्न आफूले उम्मेदवारी दिएको बताएका छन् ।

 अघिल्लो निर्वाचनमा शेखर गोल्छा तथा किशोर प्रधान समुहबाट जिल्ला नगरतर्फको उपाध्यक्षमा विजयी भएका श्रेष्ठ यसपाली वरिष्ठ उपाध्यक्षका प्रत्यासी उमेशलाल श्रेष्ठको समुहबाट चुनावी मैदानमा होमिएका छन् । 

साना तथा मझौला व्यवसायीका समस्या समाधान गर्न आफूले गरेका कामहरु नै विजयको प्रमुख आधार भएको श्रेष्ठ बताउँछन् । महासंघको सबैभन्दा महत्वपूर्ण कार्यक्षेत्र भनेको जिल्ला नगर उद्योग वाणिज्य संघ रहेको भन्दै श्रेष्ठले यही ठाउँबाट सशक्त अभियान सञ्चालन गर्नका लागि जिल्ला नगरतर्फको उपाध्यक्षमा पुनः दाबेदारी दिएको उनको भनाई छ । 

“यो क्षेत्रको नेतृत्व गर्नु भनेको समग्र निजी क्षेत्रको नेतृत्व गरे सरह हो भन्ने विश्वासका साथ मैले नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगरतर्फको उपाध्यक्षमा उम्मेदवारी दिएको हुँ,” श्रेष्ठले भने । जिल्ला नगरका साथीहरुको आग्रहमा नै पुनः सोही पदमा उम्मेदवारी दिएको उनको भनाई छ । सबैजना नेतृत्वका लागि एकै पटक निर्वाचनमा जाँदा आगामी कार्यकालमा सबल नेतृत्वको अभाव हुनसक्ने कुरालाई पनि आफूले ध्यानमा राखेर साथीहरुसँगको सल्लाहमा जिल्ला नगर उपाध्यक्षमा नै उम्मेदवारी दिएको उनले बताए । 

को हुन् श्रेष्ठ ?

नेपालका एक प्रतिष्ठित उद्योगी श्रेष्ठ काठमाडौंको इन्द्रचोकमा व्यावसायिक पृष्ठभूमिकै परिवारमा जन्मिएका थिए ।  व्यवसायिक परिवारमा जन्मिएका कारण सानैदेखि व्यवसायमा धेरैथोरै संलग्न रही व्यवसायलाई बुझ्न पाए । श्रेष्ठ आफैँले पूर्ण रुपमा वि.स. २०३६ देखि व्यवसाय सम्हाल्न थालेका हुन् । आयातबाट व्यवसाय सुरु गरेका उनले आयातमा सफलता प्राप्त गरेपछि निर्यातजन्य सामान उत्पादनतर्फ लागे । सोही बमोजिम उनले गार्मेन्ट उद्योग सञ्चालनमा ल्याए । विसं २०४४ मा शैक्षिक सामाग्री उत्पादन गर्ने उद्योग सञ्चालन गरे । त्यसपछिको केही समय उनी अटोमोबाइल व्यवसायमा पनि संलग्न भए । हाल श्रेष्ठ मुख्य रुपमा हाते टुल्स, अफिस इक्वीपमेन्ट तथा विभिन्न इक्वीपमेन्टहरु नेपाली बजारमा उपलब्ध गराउने व्यवसायमा संलग्न छन् । 

हाल प्यासिफिक ग्रुपका मुख्य सञ्चालक पनि हुन्, दिनेश श्रेष्ठ । उक्त प्यासिफिक ग्रुप अन्तरगत हाल कागजजन्य शैक्षिक सामाग्रीहरु उत्पादन गर्ने अशोका कार्बन एण्ड अलाइड कम्पनी, सार्प कर्पोरेसन, प्यासिफिक कमर्सियल, श्रेष्ठ इन्टरनेशनल टे«डिङ कन्सर्न लगायतका कम्पनीहरु सञ्चालनमा छन् । यसैगरी स्वास्थ्य शिक्षाको क्षेत्रमा केही पहल गर्नुपर्छ भन्ने मान्यताले सञ्चालनमा आएको नेपालगञ्ज मेडिकल कलेजको समेत उनी अध्यक्ष छन् । आफू संलग्न उद्योग व्यवसाय तथा सबै व्यवसायिक प्रतिष्ठानमा करिब २ हजार व्यक्तिहरुलाई रोजगारी दिएको उनको भनाई छ । 

उद्योगी व्यवसायीहरुले थुप्रै समस्याको सामना गर्दै आइरहेका छन् । त्यसमध्ये अहिले पनि समाधान हुन नसकेको एउटा समस्याको रुपमा उधारो कारोबार रहँदै आएको छ । ठूलो कारोबारमा बिना चेक कारोबार हुन सक्दैन । यसलाई समाधान गर्ने उद्धेश्यले सुरक्षित कारोबार ऐन ल्याइयो । उक्त ऐनले पनि उधारो कारोबार सम्बोधन गर्न सकेन । अहिले पनि नेपालमा उधारो कारोबार व्यवस्थित बन्न नसकेको परिवेशलाई विचार गर्दै यसको दिगो समाधान एउटा ठूलो आवश्यकता बनेको श्रेष्ठको धारणा छ ।

नेपालमा अहिले उद्योग व्यवसाय सञ्चालन गर्नको लागि दक्ष कामदारको ठूलो अभाव रहेको उनको बुझाई छ । कामदारको क्षमता अभिवृद्धिमा ध्यान दिन नसक्दा उत्पादकत्व अहिलेसम्म पनि न्यून नै छ । अहिले नेपाली युवाहरु नेपाली उद्योगहरुबाट विस्थापित हुँदै जानुको एउटा कारण यो पनि हो । “जसरी नेपाली युवाहरुले विदेशी भूमिमा निकै राम्रो क्षमता प्रदर्शन गर्दै आइरहेका छन्, त्यसरी नै नेपालमा पनि काम गर्नसक्ने गरी उनीहरुको गुणात्मक क्षमता अभिवृद्धि गर्ने कार्य हाम्रो लागि ठूलो आवश्यकताको विषय बनेको छ । जबसम्म कामदारको उत्पादकत्व वृद्धि हुन सक्दैन, तबसम्म अन्य आयातित वस्तुसँग प्रतिष्पर्धामा जान सकिँदैन भन्ने कुरा हामी सबैले बुझ्नु जरुरी छ” श्रेष्ठको धारणा छ ।

अहिले अन्तर्राष्ट्रिय व्यापार गर्ने क्रममा नेपालबाट निर्यात भएका सामानको भुक्तानी प्राप्त नहुँदा र विदेशबाट राम्रो गुणस्तरको सामान नआउँदा दोष नेपाली व्यवसायीलाई नै दिइने प्रवृत्ति रहेको र यस किसिमको प्रावधान परिवर्तन हुनु जरुरी रहेको उनको भनाई छ ।

जिल्ला नगरका उद्योगी व्यवसायीका समस्या तथा जिल्ला नगर उद्योग वाणिज्य संघको सशक्तीकरणमा जोड दिँदै प्रत्यासी श्रेष्ठले महासंघमा आफूले धेरै काम गर्न बाँकी रहेको बताए । कुनै पनि कम्पनी दर्ताका लागि संघले दिने सिफारिसदेखि आम्दानी सुनिश्चितताका साथै उत्पत्तिको प्रमाणपत्रको पैसा जिल्लाहरुले नपाउने समस्याका विषयमा आवाज उठाउने उनले प्रतिबद्धता जनाएका छन् ।

पछिल्लो समय उद्योग व्यवसाय धरासायी अवस्थामा पुगेको भन्दै उनले बैंक वित्तीय संस्थाको व्याजदर, सहुलियत लगायत विषयमा समस्याको पहिचान गर्न जरुरी रहेको उनको भनाई छ । व्याजदर र बैंक वित्तीय संस्थाबाट उत्पन्न समस्याका विषयमा लामो समयदेखि आवाज उठाईरहेका श्रेष्ठले आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिने बताए ।

“लगानीयोग्य कोषको अभाव, अनियन्त्रित बन्दै गएको चर्को बैंक ब्याजदर तथा वित्तीय संस्थाहरुको ज्यादतीले समग्र निजी क्षेत्रको मनोबल कमजोर र संवेदनशील हुँदै गएको छ,” श्रेष्ठले भने, “यस्तो विषम परिस्थितिको सामना गर्दै आगामी दिनहरुमा निजी क्षेत्रको आशाको केन्द्रबिन्दुको रुपमा रहेको नेपाल उद्योग वाणिज्य महासंघको भूमिकालाई सशक्त बनाउनका झनै सक्षम, सवल र सशक्त क्षमतावान नेतृत्व र समुहको आवश्यकता पर्ने देखिन्छ ।”

महासंघ व्यक्तिका लागि नभई व्यक्ति महासंघका लागि हुनुपर्दछ भन्ने मान्यताका साथ आगामी दिनमा महासंघको नेतृत्वमा बस्नेहरुको व्यक्तिगत लाभका लागि नभई सदस्यहरुको सामुहिक लाभ र समग्र देशको आर्थिक विकासमा केन्द्रित रही महासंघको गरिमा उच्च बनाउनुपर्ने उनको भनाई छ ।

सरकार तथा राजनीतिक दलहरुमा सन्तुलित, निरन्तर र प्रभावकारी सम्बन्ध राख्न सक्रिय भूमिका निर्वाह गर्ने, महासंघलाई क्षेत्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न सम्बन्धको विस्तार गर्नुका साथै राष्ट्रिय र अन्तराष्ट्रिय वित्तीय क्षेत्र तथा दातृ निकायहरुसँग कार्यगत सम्बन्ध विस्तार गरि नेतृत्व श्रृङ्खलाको विकासमा आफूले पैरवीको काम गर्ने श्रेष्ठले बताए ।

अर्थतन्त्र कमजोर अवस्थामा पुगेका बेला नीतिगत दरहरुलाई पनि खुकुलो बनाउनुपर्ने श्रेष्ठको भनाई छ । “अवस्था जटिल भयो भन्दै एकपछि अर्को गर्दै कडाईका साथ ल्याइएका नीतिगत व्यवस्थाले समस्या गम्भिर बनेको छ,” श्रेष्ठले भने, “बैंक वित्तीय संस्थाका नीतिगत दरहरु हेरफेर गरिदिने हो भने पनि निजी क्षेत्रलाई सहज हुने मात्र नभई कारोबार चलायमान बन्दा अहिलेको समस्या टर्न सक्छ । यसमा महासंघमा मेरो जोडदार पहल रहनेछ ।”

यसका साथै जिल्ला नगरमा व्यवसाय सुरु गर्ने समयदेखि देखिने समस्या समाधानमा आफू लागिरहने पनि उनले बताए । महासंघ र स्थानीय निकाय, महासंघ र प्रदेश सरकार तथा महासंघ र केन्द्र सरकार मिलेर व्यवसायीलाई सचेतना कार्यक्रम गर्ने गराउने सम्बन्धमा आवश्यक पहल गर्ने उनको भनाई छ ।

“ठूला व्यवसायीलाई सानो समस्याले खासै असर नगरे पनि साना तथा मझौला उद्यमीका लागि यस्ता समस्या ठूला हुन्छन् भन्ने कुरालाई बुझिदिनु पर्छ,” श्रेष्ठले भने । देशभरी सञ्जाल रहेको उद्योग वाणिज्य महासंघले एक स्थानको उत्पादन सहज रुपमा अर्को स्थानका बिक्री गर्ने वातावरणको विकास मात्र गर्न सक्ने हो भने ठूलो काम हुने बताएका उनले आफुले त्यसका लागि तीब्र लबिङ गर्ने बताए ।

सरकारी संयन्त्रका कर्मचारीले उद्योगी व्यवसायीहरुलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्नेमा जोड दिएका श्रेष्ठले ऐन कानुन उद्योगी व्यवसायीलाई नियन्त्रण गर्ने किसिमको हुने गरेको भन्दै त्यसमा सहजीकरण गर्न पनि पहल गर्ने बताए । छुट्टै चेम्बर ऐन, क्रेडिट ऐन, व्यवसायीको लगानी सुरक्षित हुने गरी सुरक्षित कारोबार ऐन जरुरी रहेको उनको भनाई छ । “अहिले कारोबार ऐन छ तर, त्यसका केही प्रावधानहरु गलत छन् । राज्य संयन्त्रका कर्मचारीले हामीप्रति देखाउने व्यवहार गलत छ । यसकारणले पनि व्यवसायीहरुले नचाहेर पनि गलत बाटो अपनाएर व्यवसाय गर्नुपर्ने अवस्था छ । यसको अन्त्य हुनुपर्छ,” श्रेष्ठले भने ।

करका दरहरु धेरै हुँदा चोरी पैठारी बढिरहेको श्रेष्ठको बुझाई छ । कोरोनाकालपछि चोरी पैठारी दिनदिनै बढिरहेको सन्दर्भमा विभिन्न उपकरणका माध्यमबाट चोरी पैठारी रोक्नुपर्ने उनी बताउँछन् । “अहिले जुन किसिमले चोरी पैठारी बढिरहेको छ त्यसले उद्योगी व्यवसायी समस्यामा पर्ने मात्र नभई राज्यले समेत ठूलो मात्रामा राजश्व गुमाईरहेको छ । यसलाई नियन्त्रण गर्न महासंघ नेतृत्वले पनि पहल गर्नुपर्छ,” श्रेष्ठले भने । 

करसँगै भन्सार, रोजगार तथा बैंकका सम्बन्धमा धेरै समस्याहरु रहेको भन्दै श्रेष्ठले यस्ता समस्याहरुलाई समाधान गर्नका लागि महासंघमा आफूले पहल गर्ने बताए ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको