लुंगी एनगिडी र टी नटराजनको घातक बलिङपछि समीर रिजवी र ट्रिस्टन स्टब्सको आक्रामक ब्याटिङको मद्दतले दिल्ली क्यापिटल्सले लखनऊ सुपर जायन्ट्सलाई ६ विकेटले हराउँदै आईपीएल २०२६ मा आफ्नो पहिलो जित दर्ता गरेको छ । बुधबार लखनऊको इकाना स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको लखनऊले १८.४ ओभरमा सबै विकेट गुमाउँदै १४१ रन बनायो ।
जवाफमा दिल्लीले १७.१ ओभरमा ४ विकेट गुमाएर १४५ रन बनाउँदै खेल जित्यो । १४२ रनको लक्ष्य पछ्याएको दिल्लीले पहिलो बलमै केएल राहुलको विकेट गुमाएको थियो । उनले खाता समेत खोल्न सकेनन् । त्यसपछि टोलीले २६ रनमा ४ विकेट गुमाइसकेको थियो । यस क्रममा पथुम निसांका १ रन, नीतीश राणा १५ रन र कप्तान अक्षर पटेल शून्यमै आउट भए ।
त्यसपछि समीर रिजवी र ट्रिस्टन स्टब्सले पाँचौं विकेटका लागि ७६ बलमा ११९ रनको साझेदारी गर्दै टोलीलाई १७ बल बाँकी छँदै जित दिलाए । रिजवीले ४७ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै अविजित ७० रन बनाए भने स्टब्स ३९ रनमा अविजित रहे । लखनऊका लागि प्रिन्स यादवले २० रन दिएर २ विकेट लिए भने मोहम्मद शमी र मोहसिन खानले १–१ विकेट लिए ।
यसअघि लखनऊले मात्र १४१ रन बनाउन सक्यो । कप्तान ऋषभ पन्त ७ रनमै आउट भएपछि टोली दबाबमा आयो । त्यसपछि मिचेल मार्शले एडेन मार्करम सँग २९ रनको साझेदारी गरे । मार्शले ३५ रनको योगदान दिए । ७१ रनमा टोलीले ५ विकेट गुमाएको थियो ।
त्यसपछि अब्दुल समदले मुकुल चौधरीसँग ३४ रन र शाहबाज अहमदसँग ३३ रनको साझेदारी गर्दै टोलीलाई सम्मानजनक स्कोरमा पुर्याए । समद २५ बलमा ३६ रन बनाएर आउट भए भने शाहबाज अहमद १५ रनमा अविजित रहे । मुकुलले १४ रन जोडे । दिल्लीका लागि लुंगी एनगिडी र टी नटराजनले ३–३ विकेट लिए भने कुलदीप यादवले २ विकेट लिए । अक्षर पटेलले १ विकेट लिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस