Like us!
Follow us!
Connect us!
Watch us!

आजदेखि एसईई परीक्षा, सवा ५ लाख विद्यार्थी सहभागी हुँदै

अर्थ संसार

विहीबार, १९ चैत्र २०८२, ०७ : २० मा प्रकाशित

आजदेखि एसईई परीक्षा, सवा ५ लाख विद्यार्थी सहभागी हुँदै

नेपालको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि देशभर एकैसाथ सुरु हुँदैछ । परीक्षाको पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा सञ्चालन हुनेछ ।

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको परीक्षालाई विगतको तुलनामा थप व्यवस्थित, प्रविधिमैत्री र नतिजामुखी बनाउन विशेष रणनीतिक योजना अघि सारेको जनाएको छ । यस पटकको एसईईमा देशभर र वैदेशिक केन्द्रसहित गरी ५ लाख १२ हजारभन्दा बढी विद्यार्थीहरू सहभागी हुँदैछन् । यस वर्षको एसईई परीक्षामा ‘उत्तरपुस्तिका परीक्षणको विकेन्द्रीकरण’ र ‘नतिजामा  तीव्रता’ अभ्यास गर्न लागेको बोर्डले जनाएको छ । सरकारले विद्यार्थीको भविष्य र समयलाई मध्यनजर गर्दै परीक्षा सकिएको एक महिनाभित्रै नतिजा प्रकाशन गर्ने तयारी गरेको हो ।

एक महिनामै नतिजा ल्याउने नयाँ कार्ययोजना

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले कार्यभार सम्हालेलगत्तै शिक्षा क्षेत्रमा सुधार गर्ने दाबी सहित निर्णयहरु गरिरहेका छन् । मन्त्रालयका एक सहसचिवका अनुसार उनले एसईईको नतिजा ढिला हुँदा विद्यार्थीहरूको शैक्षिक क्यालेन्डर बिग्रिएको र उनीहरूमा मानसिक तनाव बढेको भन्दै परीक्षा सकिएको एक महिनाभित्रै नतिजा सार्वजनिक गर्न निर्देशन दिएका थिए । 
सोही निर्देशनलाई कार्यान्वयन गर्न राष्ट्रिय परीक्षा बोर्डले यस वर्षदेखि उत्तरपुस्तिका परीक्षणको परम्परागत शैलीमा परिवर्तन गरेको छ । विगतका वर्षहरूमा एक प्रदेशको उत्तरपुस्तिका अर्को प्रदेशमा पठाउने र गोप्य केन्द्रहरू तोकेर परीक्षण गर्ने प्रचलन थियो । यसले गर्दा ओसारपसार र समन्वयमा धेरै समय खर्च हुने गथ्र्यो । तर यस वर्ष बोर्डले जुन परीक्षा केन्द्रमा परीक्षा भएको हो । सोही क्षेत्रका परीक्षण केन्द्रहरूबाट उत्तरपुस्तिका परीक्षण गर्ने निर्णय गरेको छ ।

सवा ५ लाख विद्यार्थी, जापानमा पनि केन्द्र

बोर्डको तथ्याङ्क अनुसार कुल ५ लाख १२ हजार ४ सय २१ विद्यार्थीले परीक्षाका लागि फारम भरेका छन् । ती मध्ये छात्राको संख्या २ लाख ५७ हजार ६ सय १३ रहेको छ भने छात्रको संख्या २ लाख ५४ हजार ८ सय १ रहेको छ । यसैगरी, ७ जना अन्य लिङ्गी विद्यार्थीहरूले पनि यस पटकको एसईईमा सहभागी छन् । 

यस वर्ष पनि जापानमा रहेको एभरेस्ट स्कुलबाट २३ जना विद्यार्थीहरू एसईई परीक्षामा सहभागी हुँदैछन् । जापानमा रहेका नेपाली समुदायका बालबालिकाहरूका लागि त्यहाँको स्थानीय समय र नेपालको समयबिच तालमेल मिलाएर परीक्षा सञ्चालन गर्ने व्यवस्था मिलाइएको बोर्डले जनाएको छ । देशभर र जापान समेत गरी कुल १ हजार ९ सय ६६ परीक्षा केन्द्रहरू निर्धारण गरिएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको