Like us!
Follow us!
Connect us!
Watch us!

एमाले, माओवादी केन्द्र र नयाँ शक्तिवीच चुनावी तालमेलसँगै पार्टी एकीकरण गर्ने घोषणा, अब कांग्रेस के गर्छ ?

बुधबार, १८ असोज २०७४, ०७ : ०२ मा प्रकाशित

एमाले, माओवादी केन्द्र र नयाँ शक्तिवीच  चुनावी तालमेलसँगै पार्टी एकीकरण गर्ने घोषणा, अब  कांग्रेस के गर्छ ?

अर्थ संसार,  काठमाडौं – एकताबद्ध कम्युनिष्ट पार्टीको नेतृत्वमा मुलुकलाई आर्थिक समृद्धिको दिशामा लैजाने संकल्पका साथ नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नयाँ शक्ति नेपालबीच आगामी निर्वाचनमा तालमेल गर्ने सहमति भएको छ ।

मङ्गलवार राष्ट्रिय सभा गृहमा आयोजित पत्रकार सम्मेलनमार्फत तीनओर्ट पार्टीका शीर्ष नेतासहित अन्य नेताहरुको उपस्थितिमा पार्टी एकीकरणसम्मको लक्ष्यसहित ६ बुँदे सहमति भएको छ ।

तीनओटै पार्टीले आगामी मङ्सिर १० र २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा तालमेल गर्ने सहमतिको घोषणा गरेका हुन् । दुई तिहाई सिट जित्दै कम्युनिष्ट सरकार बनाउने उनीहरुको उद्धेश्य रहेको कार्यक्रममा नेताहरुले बताएका छन् ।  

एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नयाँ शक्तिका संयोजक डा बाबुराम भट्टराईले पार्टी एकीकरणको दिशामा  अगाडि बढेको बताएका छन् । उनीहरुले त्यहि संकल्पका साथ ६ बुँदे सहमति भएको पनि बताए ।

पार्टी एकीकरणका लागि ८ सदस्यीय पार्टी एकता संयोजन समिति गठन गरेको बताएका छन् । जसमा एमालेबाट ४, माओवादीका ३ र नयाँ शक्तिका १ जना प्रतिनिधिका साथै एमाले र माओवादीका अध्यक्ष समितिको प्रमुख नेताको भूमिकामा रहने बताइएको छ ।

‘मुलुकलाई समृद्धि र समाजवादतर्फ उन्मुख गराउन तथा राष्ट्रिय स्वाभिमान र स्वाधीनतालाई माथि उठाउने लक्ष्यसहित एकीकरणको अभियान शुरु भएको कार्यक्रममा सम्बोधनका क्रममा नेताहरुले बताएका थिए ।

चुनावी तालमेलका विषयमा अन्य पार्टीलाई भागवण्डा मिलाएपछि बाँकी हुने सिटमा माओवादीलाई ४० र एमालेलाई ६० प्रतिशत उम्मेदवार हुने गरी तालमेल गर्ने सहमति भएको छ । यस्तै उनीहरुले निर्वाचनमा साझा घोषणा पत्र तयार पार्ने र यसका लागि प्रतिनिधि सभा निर्वाचन घोषणा पत्र मस्यौंदा समिति बनाउने बताइएको छ ।

निर्वाचनमा जाँदा एउटै चुनाव चिह्नमा लड्ने संभावना भने प्राविधिक र कानूनी अड्चनका कारण संभव नरहेको एमाले अध्यक्ष ओलीले बताएका छन् । उनले सकेसम्म मिलाउने नभए नयाँ शक्तिले सूर्य चिन्ह लिएरै चुनावमा जाने उनले बताए ।

एउटै पार्टी बनाउने संकल्प

कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले यो सहमति देश र जनताका लागि भएको बताए । उनले अहिले सत्ता र सरकारको कुरा नभएको र कसैको विरुद्धमा जानका लागि लक्षित नरहेको बताएका छन् । चुनाव पछि यो गठबन्धनले दुई तिहाई सिट जित्ने पक्का भएकाले पुसबाट देश आर्थिक समृद्धिको दिशामा अगाडि बढ्ने दावी गरे ।

छिमेकी देशहरुसँग समान, मित्रवत र बराबरी हैसियतको सम्बन्ध कायम गर्दै स्वाभिमानका साथ देश चलाउने उनको दावी थियो । उनले भने, ‘चुनावी तालमेलसँगै एउटै कम्युनिष्ट पार्टी बनाउने सहमति भएको छ,   २०७४ सालमा देशभक्त वामपन्थी सरकार बन्न लेखेकाले कसैले पनि मेट्न सक्दैन ।’ आफूहरुको गठबन्धन कसैका विरुद्ध नभएको भन्दै कोही पनि डराउनुपर्ने र झस्किनु पर्ने कारण नरहेको बताए ।

यस्तै माओवादी अध्यक्ष दाहालले कम्युनिष्ट पार्टीहरुबीचको एकता र चुनावी तालमेल कसैका विरुद्ध लक्षित नभएको बताएका छन् । दाहालले १० वर्ष अगाडि नै शुरु भएको प्रक्रियाले बल्ल पूर्णता पाएको भन्दै अब एउटै कम्युनिष्ट पार्टी हुने बताए । उनले पार्टी एकीकरण कम्युनिष्टहरुबीच भएपनि चुनावी तालमेल भने अन्य लोकतान्त्रिक दलहरुसँग पनि गर्न बाटो खुला रहेको बताएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नयाँ शक्तिका संयोजक भट्टराईले यो ऐतिहासिक आवश्यकता र आकस्मिकताको सम्मिलन स्वरुप हुने भन्दै यो सहमतिले नेपाल नयाँ अध्यायमा अगाडि बढेको बताए । अभियानबाट

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको