Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रपति सचिवालयले भन्यो- राष्ट्रपतिको चाहना नेपालमै उपचार गर्ने थियो, संस्थालाई नै विवाद पार्ने प्रयास भयो

अर्थ संसार

बुधबार, १३ बैशाख २०८०, २१ : २८ मा प्रकाशित

राष्ट्रपति सचिवालयले भन्यो- राष्ट्रपतिको चाहना नेपालमै उपचार गर्ने थियो, संस्थालाई नै विवाद पार्ने प्रयास भयो

राष्ट्रपति रामचन्द्र पौडेलको भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)मा उपचार जारी छ । 

चिकित्सकका अनुसार उनको स्वास्थ्य अवस्था क्रमिकरूपले सुधारोन्मुख रहेको उन को स्वकीय सचिवालयले जनाएको छ । उनको स्वास्थ्यसम्बन्धी केही परीक्षणको रिपोर्ट अझै आउन बाँकी रहेको चिकित्सकले बताएका राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

“छातीको इन्फेक्सनका कारण त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना भई लगातार एन्टिबायोटिक चलाउँदा पनि प्रभावकारी नभएपछि चिकित्सकको सुझावअनुसार उनको भारतीय सरकारी अस्पताल एम्समा उपचार भइरहेको सर्वविदितै छ”, विज्ञप्तिमा जनाइएको छ ।

राष्ट्रपतिको नेपालमै उपचार गर्ने चाहना हुँदाहुँदै पनि चिकित्सकको टोली तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उच्च राजनीतिक नेतृत्वको विशेष आग्रहमा उनी भारतमा उपचारका लागि जान तयार हुनुभएको सचिवालयले स्पष्ट पारेको छ । यो कुरा प्रधानमन्त्री दाहालले सार्वजनिक कार्यक्रममा नै बताइसकेको विज्ञप्तिमा उल्लेख छ ।

“नेपाल सरकारको निर्णयबमोजिमको उपचार पद्धति कानून, नियम र निश्चित विधिअनुसार हुने स्पष्ट हुँदाहुँदै पनि राष्ट्रपति संस्थालाई नै विवाद पार्ने मनसायले केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सूचना र दुष्प्रचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ”, विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन, २०७४ मा विदेश भ्रमण र उपचारका लागि विदेश जाने विषयलाई अलग–अलग व्यवस्था गरिएको प्रष्ट छ तर, ऐन कानून नै नबुझेजस्तो गरी राष्ट्रपतिका परिवारका सदस्यले दैनिक भ्रमण भत्ता पाउनेजस्ता आम नागरिकलाई दिग्भ्रमित पार्ने सूचना सम्प्रेषण भइरहेको भन्दै सचिवालयले दुःख व्यक्त गरेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको