 
                            राष्ट्रपति रामचन्द्र पौडेलले २९ भदौमा मनाइने राष्ट्रिय बाल दिवसका अवसरमा देशभरका बालबालिका र अभिभावकलाई शुभकामना व्यक्त गरेका छन्। नेपालले बाल अधिकारसम्बन्धी महासन्धी अनुमोदन गरेको दिनलाई स्मरण गर्न हरेक वर्ष यो दिवस मनाउने गरिएको हो।
यस वर्षको नारा — “बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी” तय गरिएको छ।
राष्ट्रपति पौडेलले सन्देशमार्फत नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक अधिकारको रूपमा स्थापित गरेको स्मरण गराए। उनले बाल अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धी, संवैधानिक प्रावधान र कानुनी व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकार, नागरिक समाज, अभिभावक, विद्यालय तथा सरोकारवाला निकायबीच सहकार्य र समन्वय अपरिहार्य भएको बताए।
सन्देशमा कतिपय बालबालिका अझै पनि आफ्ना अधिकारबाट वञ्चित रहेको उल्लेख गर्दै, बालबालिकामाथि हुने हिंसा, दुर्व्यवहार र अमानवीय व्यवहार अन्त्य गर्न सबै सरोकारवालाले जिम्मेवारीपूर्वक कदम चाल्नुपर्ने राष्ट्रपति पौडेलको भनाइ छ।
राष्ट्रपतिले बालबालिकाको उज्ज्वल भविष्य सुनिश्चित गर्न गुणस्तरीय शिक्षा, पोषणयुक्त आहार, सुरक्षित खानेपानी, सरसफाइ, आवश्यक खोप तथा बालमैत्री स्वास्थ्य संस्था अनिवार्य रहेको उल्लेख गरे। साथै, घर, विद्यालय र समुदायमा सुरक्षित वातावरण सृजना गरी सबै समूह र समुदायका बालबालिकालाई समान अवसर उपलब्ध गराउनुपर्नेमा उनले जोड दिए।
सन्देशको अन्त्यमा राष्ट्रपति पौडेलले यस दिवसले सबै सरोकारवाला निकायलाई बालबालिकाको संरक्षण, विकास र सहभागितामा अझ सक्रिय बन्न प्रेरणा दिने विश्वास व्यक्त गरे। उनले मुलुकका बालबालिकालाई सुरक्षित र उज्ज्वल भविष्य दिलाउन सबैले आ–आफ्नो जिम्मेवारी निर्वाह गर्न आह्वान गरे।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस