अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सार्वजनिक गरेको आफ्नो पहिलो आर्थिक विवरणले उनले क्रिप्टोकरेन्सी, गफ क्लब, लाइसेन्स डिल तथा व्यापारिक ब्रान्डबाट अर्बौं रुपैयाँ कमाइरहेको देखाएको छ। २०२४ को वार्षिक विवरणलाई समेटेर बनाइएको यो फाइनान्सियल फाइलिङमा उनले ५७.३५ मिलियन डलर (करिब ७६ अर्ब रुपैयाँ) क्रिप्टो टोकन बिक्रीबाट कमाएको उल्लेख छ। साथै उनले वर्ल्ड लिबर्टी नामक क्रिप्टो कम्पनीमा १५.७५ अर्ब गभर्नेन्स टोकन होल्ड गरेका छन्।
ट्रम्पले २०२५ को सुरुमा सार्वजनिक गरेको मेम–कॉइनले ३२० मिलियन डलर बराबरको शुल्क संकलन गरेको अनुमान गरिएको छ। यद्यपि त्यो रकम ट्रम्पको नियन्त्रणमा रहेको संस्था र अन्य साझेदारबीच कसरी बाँडियो भन्ने प्रष्ट छैन।
यो विवरणमा ट्रम्प परिवारको डी–फाइ कम्पनी वर्ल्ड लिबर्टी फाइनान्सियलमार्फत मात्रै ४०० मिलियन डलरभन्दा बढी आम्दानी भएको खुलासा गरिएको छ। यो कम्पनी २०२४ मा स्टिभ विट्कफका छोरा ज्याक विट्कफद्वारा स्थापना गरिएको हो। डोनाल्ड ट्रम्पका तीन छोराहरू — डोनाल्ड जुनियर, एरिक, र बेरोन — सह–संस्थापकका रूपमा छन्।
डिजिटल कारोबार (NFT) बाट पनि राष्ट्रपति ट्रम्पले १.१६ मिलियन डलर कमाएका छन् भने प्रथम महिला मेलानिया ट्रम्पले आफ्नै NFT संग्रहबाट २१६,७०० डलरको रोयल्टी पाएकी छन्।
फ्लोरिडामा रहेका ट्रम्पका तीन गफ क्लब — जुपिटर, डोराल र वेस्ट प्याल्म बीच — साथै निजी क्लब मार–अ–लागोबाट उनले २१७.७ मिलियन डलरको आम्दानी गरेका छन्। त्यस्तै, भियतनाममा भइरहेको एक रियल इस्टेट परियोजनाबाट पनि ५ मिलियन डलरको लाइसेन्स शुल्क प्राप्त भएको छ।
अन्य व्यापारिक ब्रान्डहरूमार्फत ट्रम्पले १.३ मिलियन डलर ग्रीनवुड बाइबल, २.८ मिलियन डलर ट्रम्प वाचेस, र २.५ मिलियन डलर ट्रम्प सुगन्ध तथा जुत्ताबाट कमाएका छन्।
तर ट्रम्पसँग केही कानुनी तथा आर्थिक दायित्वहरू पनि छन्। उनले ट्रम्प टावर (म्यानह्याटन), ट्रम्प डोराल गफ क्लब (मायामी) लगायतका सम्पत्तिमा १०० मिलियन डलरभन्दा बढीको कर्जा लिएका छन्। साथै ई. जीन क्यारोललाई यौन दुव्र्यवहार र मानहानी मुद्दामा अदालतले तोकेको ८८ मिलियन डलरको क्षतिपूर्ति र न्यूयोर्क अटर्नी जनरलबाट तोकिएको ४५४ मिलियन डलरको सिविल फ्रड जरिवाना पनि दायित्व सूचीमा उल्लेख गरिएको छ। यद्यपि ट्रम्पले यी सबै मुद्दा अपील प्रक्रियामा रहेको जनाएका छन्।
ह्वाइट हाउसका अनुसार ट्रम्पको सम्पत्ति अहिले उनका छोराहरूले सञ्चालित ट्रस्टमार्फत सञ्चालन भइरहेको छ र त्यसले राष्ट्रपतिको कार्यसम्पादनमा कुनै हित–संघर्ष उत्पन्न गर्दैन।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस