Like us!
Follow us!
Connect us!
Watch us!

अधिवेशनअघि इप्पानमा विवाद चर्कियो, आरोप–प्रत्यारोप सार्वजनिक

अर्थ संसार

सोमबार, २५ जेठ २०८३, १३ : १० मा प्रकाशित

अधिवेशनअघि इप्पानमा विवाद चर्कियो, आरोप–प्रत्यारोप सार्वजनिक

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को आगामी जेठ २९ गते हुने २४औँ वार्षिक साधारणसभा तथा आठौँ अधिवेशन नजिकिँदै जाँदा संस्थाभित्र विवाद सतहमा आएको छ। विधान संशोधन, अधिवेशन प्रक्रिया तथा संस्थाको भावी नेतृत्व चयनको विषयलाई लिएर आरोप–प्रत्यारोप सार्वजनिक हुन थालेपछि ऊर्जा क्षेत्रको सबैभन्दा ठूलो निजी क्षेत्रीय संस्थामा आन्तरिक मतभेद छताछुल्ल भएको हो।

इप्पानका अध्यक्ष गणेश कार्कीले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत संस्थाका उपमहासचिव प्रकाशचन्द्र दुलालले सार्वजनिक रूपमा लगाएका आरोपहरूको खण्डन गरेका छन्। दुलालले इप्पानको विधान गायब भएको तथा विधानविपरीत साधारणसभा आयोजना गर्न लागिएको आरोप लगाएपछि अध्यक्ष कार्कीले त्यसलाई ‘अनर्गल र कपोलकल्पित प्रचार’को संज्ञा दिएका हुन्।

कार्कीले भानुभक्त पोखरेलको संयोजकत्वमा गठित विधान संशोधन तथा पुनर्लेखन समितिको प्रतिवेदन इप्पान सचिवालयमा सुरक्षित रहेको दाबी गरेका छन्। उक्त समितिले इप्पानलाई महासंघको रूपमा रूपान्तरण गर्ने प्रस्तावसहितको प्रतिवेदन तयार पारेको थियो।

इप्पानका अनुसार २०८० जेठ ३२ गते सम्पन्न २१औँ वार्षिक साधारणसभाले पोखरेलको संयोजकत्वमा ५ सदस्यीय विधान संशोधन तथा पुनर्लेखन समिति गठन गरेको थियो। समितिले २०८२ जेठ २९ गते संस्थालाई महासंघमा रूपान्तरण गर्ने प्रस्तावसहितको मस्यौदा बुझाएको थियो। त्यसपछि २०८२ असार ३१ गते सम्पन्न २३औँ वार्षिक साधारणसभाले उक्त प्रतिवेदनको कार्यान्वयनका लागि अध्यक्षलाई अख्तियारी दिएको थियो।

तर महासंघमा रूपान्तरणको प्रक्रिया अघि बढ्न नसकेपछि २०८३ वैशाख ४ गते सम्पन्न कार्यसमिति बैठकले विद्यमान इप्पान विधान–२०७८ अनुसार नै आगामी साधारणसभा तथा अधिवेशन गर्ने निर्णय गरेको संस्थाले जनाएको छ। यसैबीच, २०८३ जेठ २५ गते बसेको २०३औँ कार्यसमिति बैठकले विधान संशोधनको प्रस्ताव साधारणसभामा लैजाने निर्णय गरेको छ। प्रस्तावित संशोधनअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्था हटाइनेछ। साथै, विधानअनुसार योग्य भएका र कम्तीमा एक कार्यकाल कार्यसमितिमा बसेका व्यक्तिले अध्यक्ष पदमा उम्मेदवारी दिन पाउने तथा अन्य सबै पदमा खुला प्रतिस्पर्धाबाट उम्मेदवारी दिन सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।

इप्पानले आगामी अधिवेशनलाई सर्वसम्मत र भव्य बनाउन सबै सदस्यलाई सहभागी हुन आग्रह गरेको छ। साथै, संस्थाले साधारणसभा तथा अधिवेशनसम्बन्धी सूचना जेठ ९ र १० गते नै सार्वजनिक गरिसकिएको भन्दै अधिवेशन पूर्ण रूपमा वैधानिक प्रक्रिया अनुरूप सञ्चालन हुन लागेको स्पष्ट पारेको छ।    ऊर्जा क्षेत्रका निजी उत्पादकहरूको साझा संस्था इप्पानमा नेतृत्व चयनको प्रक्रिया र विधान संशोधनलाई लिएर देखिएको विवादले आगामी अधिवेशनलाई थप चासोको विषय बनाएको छ। संस्थाभित्रको यो मतभेद आगामी नेतृत्व चयनमा कस्तो प्रभाव पार्छ भन्ने विषयलाई ऊर्जा क्षेत्रले नजिकबाट नियालिरहेको छ।

6a266ea7b2768.jpeg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको