पाँच दिन अगाडि बैतडीको पाटनमा एक व्यक्तिको टाउको भेट्टिए पनि उनको पहिचान भने खुल्न सकेको छैन । गत आइतबार सडक निर्माणका लागि पाटन नगरपालिका–६ तल्लो बजारमा ल्याएको गिट्टीको थुप्रोमा एक व्यक्तिको टाउको भेट्टिएको थियो ।
टाउकोलाई परीक्षणका लागि जिल्ला अस्पताल पठाइएको छ । तर अझै रिपोर्ट नआएको प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । सुर्नया गाउँपालिकाको बाचपानीबाट ल्याएको गिट्टीमा मानिसको टाउको भेटिएको थियो । उनले भने, “टाउको फेला परेपछि कसको हो भनेर पहिचान गर्न अस्पताल पठाएका छौँ । अस्पतालको रिपोर्टपछि सबै कुरा खुल्छ ।”
टाउकोको डिएनए परीक्षणका लागि प्रहरीको विधि विज्ञान प्रयोगशाला काठमाडौँ पठाइने प्रहरी निरीक्षक जोशीले बताए । उनले भने, “अस्पतालको रिपोर्ट आएपछि टाउकोको नमूना सङ्कलन गर्ने र परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला पठाउँछौँ ।”
घट्नाबारे अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गिट्टी ल्याइएको भनिएको बाचपानी क्षेत्रमा अनुसन्धानलाई केन्द्रित रहेको प्रहरी निरीक्षक जोशीले बताए। उनले भने, “बाचपानी वरपरका क्षेत्रका कुनै मानिस हराएका थिए कि भनेर सोधपुछ भइरहेको छ । गिट्टी ल्याएको स्थानमा शरीरको अन्य भाग पनि मिल्छ कि भनेर खोज्दै छौँ ।”
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस