नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको तेस्रो मौद्रिक नीति समीक्षा गरेको छ । सार्वजनिक समीक्षा अनुसार मुद्रास्फीति अझै लक्ष्यभन्दा केही माथि रहेको देखिएको छ । २०७९ चैत मसान्तमा वार्षिक बिन्दुगत मुद्रास्फीति ७.७६ प्रतिशत रहेको छ ।
जबकी २०७८ को चैत मसान्तमा यस्तो मुद्रास्फीति ७.२८ प्रतिशत रहेको थियो । गत वर्षको नौ महिनामा औसत मुद्रास्फीति ५.७३ प्रतिशत रहेकोमा चालु वर्षको नौ महिनामा औसत मुद्रास्फीति ७.९१ प्रतिशत रहेको छ ।
खाद्यान्न, दुग्धपदार्थ, घरायसी उपभोग्य वस्तुहरु, आयातीत वस्तुहरु र ईन्धनकोमूल्य वृद्धिका साथै नेपाली रुपैयाँ अवमूल्यनका कारण उपभोक्ता मूल्यमा चाप परिरहेको देखिएको छ । चालु आर्थिक वर्षको औसत मुद्रास्फीति लक्ष्यभन्दा केही माथि रहने देखिन्छ ।
नेपालमा उपभोग्य वस्तुको मूल्य खासगरी आन्तरिक उत्पादन, आयातीत वस्तुहरुको मूल्य र थोक तथा खुद्रा बिक्रेताले लिने मार्जिनमा निर्भर रहने गर्दछ । आयाततर्फ, करीब दुई–तिहाई आयात भारतबाट हुने गरेको छ । भारतमा थोक मूल्य घट्दै गइरहेको छ । सन्२०२२ मार्च महिनामा भारतमा थोक मूल्य वृद्धि १४।६३ प्रतिशत रहेकोमा सन्२०२३ मार्च महिनामा १।३४ प्रतिशतमा झरेको छ । यसर्थ, बाह्य तथा आन्तरिक आर्थिक परिदृश्य र आयातीत वस्तुहरुको घट्दो मूल्य वृद्धिदरलाई दृष्टिगत गर्दा मूल्यमा रहेको चाप क्रमशःकम हुँदै जाने देखिन्छ ।
साथै, बिक्रेतालाई अस्वभाविक मार्जिन लिन नदिने गरी बजार अनुगमन प्रभावकारी बनाउन सकेमा र अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेअनुरुप नेपालमा पनि इन्धनको मूल्य समायोजन गरी सवारी साधनको भाडा दर घटेमा उपभोक्ता मुद्रास्फीति घट्न थप सहयोग पुग्ने अपेक्षा राष्ट्र बैंकले गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस