अहिले वित्तीय प्रणालीमा तरलता थुप्रिएको छ । अधिक तरलताको व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकलाई हम्मेहम्मे परिरहेको छ । तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप नियमितजस्तो तानिरहेको छ ।
नेपाल राष्ट्र बैंकले आज चैत २५ गते फेरि बैंकिङ प्रणालीबाट ३५ अर्ब रुपैयाँ तान्ने भएको छ।
यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ। निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।
निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्। यो २१ दिने निक्षेप संकलन उपकरणको २०८२ वैशाख १७ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।
चैत महिना लागेपछि मात्रै पनि सात पटक निक्षेप संकलन उपकरण प्रयोग गर्दै १ खर्ब ९५ अर्ब रुपैयाँ निक्षेप खिचेको राष्ट्र बैंकले जनाएको छ ।
यसअघि चैत ३ गते ३० अर्ब रुपैयाँ, ६ गते २५ अर्ब रुपैयाँ, १० गते २० अर्ब रुपैयाँ, चैत १३ गते ३० अर्ब रूपैयाँ, १७ गते २५ अर्ब रुपैयाँ, २० गते ३० अबर्त रलता प्रशोचन गरेको थियो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस