नेपाल राष्ट्र बैंकको पछिल्लो वित्तीय विवरण अनुसार बैंकको समग्र सम्पत्ति तथा दायित्वको आकारमा ठूलो विस्तार भएको छ।
गत असार मसान्तमा २६ खर्ब ७१ अर्ब २३ करोड रुपैयाँ रहेको बैंकको कुल सम्पत्ति चैत मसान्तसम्म आइपुग्दा उल्लेख्य रूपमा बढेर ३४ खर्ब ७२ अर्ब ४ करोड रुपैयाँ पुगेको छ। विशेषगरी वैदेशिक मुद्रा सम्पत्तिमा आएको सुधारले बैंकको वित्तीय अवस्थालाई बलियो बनाएको देखिन्छ। असारमा २५ खर्ब ६७ अर्ब ३२ करोड रहेको यस्तो सम्पत्ति चैत मसान्तसम्म आइपुग्दा ३३ खर्ब ६७ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ। यसमध्ये विदेशी सुरक्षणमा मात्रै २२ खर्ब ७६ अर्ब ११ करोड रुपैयाँ लगानी भएको छ भने सुन प्रमाणपत्रमा पनि २ खर्ब ५२ अर्ब ५० करोड रुपैयाँ लगानी कायम भएको छ।
असारमा ७० अर्ब ८३ करोड मात्र रहेको सरकारको निक्षेप चैत मसान्तमा ३ खर्ब ९३ अर्ब ७ करोड रुपैयाँ पुगेको छ। यद्यपि, बैंक तथा वित्तीय संस्थाहरूले राष्ट्र बैंकमा राख्ने निक्षेपमा भने सामान्य गिरावट आएर ३ खर्ब ७४ अर्ब ४७ करोड रुपैयाँ कायम भएको छ। बजारमा मुद्राको माग बढ्दा चलनचल्तीमा रहेका नोटको परिमाण पनि ७ खर्ब ६९ अर्ब २० करोड पुगेको छ। यस्तै, बैंकको जगेडा कोष ६ खर्ब ७१ अर्बबाट वृद्धि भई ९ खर्ब ६८ अर्ब ५ करोड पुग्नुले बैंकको आन्तरिक क्षमता मजबुत भएको छ। राष्ट्र बैंकसँग रहेको भौतिक सुन र चाँदीको मौज्दात भने ५५ अर्ब ४१ करोड ६२ लाख रुपैयाँमा यथावत रहेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस