Like us!
Follow us!
Connect us!
Watch us!

तलतल मेटाउने ‘चिया सागर’ : ५५ प्रकारका गुणस्तरिय स्वाद

निकिता खनाल

बुधबार, ०३ जेठ २०८०, १५ : २८ मा प्रकाशित

तलतल मेटाउने ‘चिया सागर’ : ५५ प्रकारका गुणस्तरिय स्वाद

च्या खानु भो ?

पहिले–पहिले यो वाक्य काठमाडौंको नेवार समुदायको मुखबाट खुब सुनिन्थ्यो रे ! यसैले प्रस्ट्याउँछ की काठमाडौंबासीका लागि चिया कति प्यारो होला ! त्यसैले होला सायद काठमाडौंका चिया पसलहरु कहिल्यै एक्लै हुनु परेन । 

काठमाडौं मात्र किन, बिहान उठेपछि चियाको तलतल त सबै नेपालीलाई लाग्छ होला । तपाईंको  त्यही तलतल मेटाउने प्रयासमा छ ‘चियासागर’ । त्यो पनि ५५ स्वादका साथमा । राजनीतिक गफ होस् वा मायाप्रेमका । साथीभाईको जमघट वा अन्य कुनै व्यवसायीक छलफल, चिया त पिउँनै पर्यो । चिसो मौसम होस् वा गर्मी, चियाको चुस्की त चाहिन्छ नै । चिया पसल त गल्लीगल्लीमा हुन्छन् । तर, आजभोली मान्छेहरु गुणस्तरसँगै वातावरण शान्त खोज्छन् । फेरी स्वाद पनि मिठो हुनुपर्यो । चिया पारखीका यी सबै ‘एक्सपेक्टेसन मीट’ गर्दैछ ‘चिया सागर’ ले ।

तीन भाइको तितो अनुभवले जन्मिएको ‘चिया सागर’

एक वर्ष अघिसम्म चिया, कफी र गफका लागि बाग्लुङका केशवराज शर्मा, प्रकाश पौडेल र नवीन शर्मा नपुगेको चिया पसल बिरलै थिए । फुटपाथदेखि ठूला रेष्टुरेन्ट र चियाकै लागि खुलेका क्याफेसम्म चिया गफकै लागि धाउँथे उनीहरु । राम्रो ठाउँमा मिठो चिया–कफीको चुस्की लिँदै मिठा गफ गर्न चाहने उनीहरुले चाहे जस्तो न वातावरण पाए न कुनै स्वाद नै । अझै कतिपय ठाउँमा ग्राहकप्रति गरिने व्यवहारले त उनीहरु दिक्कै हुन्थे । ‘कहीँ त फर्केरै जान मन नलाग्ने तितो अनुभव समेत छ,’ केशव भन्छन् । धेरै ठाउँको बेग्लाबेग्लै अनुभवले विभिन्न व्यवसायमा संलग्न रहेका केशव, नवीन र प्रकाश मिलेर चिया कै विषयमा छलफल गर्न थाले । उनीहरुलाई आफूजस्तै ग्राहकलाई सम्झेर चियालाई नै नयाँरुपमा व्यवसायिक बनाउन पर्छ भन्ने लाग्यो । 

धेरै ठाउँमा चिया पिउँदा पनि चियाले सन्तुष्ट नभएका उनीहरूलाई चिया पारखीहरूको लागि गुणस्तरिय चिया, स्वच्छ वातावरण, मिठो स्वाद र राम्रो ग्राहक सेवा दिनसके चिया व्यवसाय नै उत्कृष्ट हुन्छ भन्ने लाग्यो । उनीहरु ग्राहकको रुची र आवश्यकता आफँैले भोगेको समस्याबाट बुझेर लामो समयसम्म बजार अध्ययन गरेपछि चिया सागर खोल्ने निष्कर्षमा पुगे । 

चिया सागरले हरेक प्रकारका चिया पारखीको चित्त बुझाउन सफल भएको केशव भन्छन् । ’चिया सागर’ नाम जुराउन समेत धेरै समय लागेको सञ्चालक शर्मा बताउँछन् । कोरोना महामारीले अर्थतन्त्र थलिएको समयमा नै उनीहरूले चिया सागरमा लगानी गरेका हुन् । चिया सागर खोल्न लाग्दा धेरैले उनीहरूलाई अहिले लगानी गर्ने बेला होइन भनेका थिए । तर, उनीहरूले व्यवसायमा जोखिम हुन्छ एक पटक जोखिम लिएरै भए पनि सुरु गर्रौँ भन्ने अठोट लिएर व्यवसाय सुरु गरे । 

चिया सागरले नेपालीहरुको संस्कृतिको रुपमा विकास भैसकेको आदत र शैली ’चिया पिऊँ’ को संस्कारलाई थप परिमार्जन गरेर आधुनिक शैलीमा चिया पस्किने गरेको छ । आफुले चिया खान जाँदा अस्वच्छ वातावरण धेरै देखेका र भोगेकाले एक प्रकारको शान्त, रमाइलो वातावरणसहित चिया पारखीहरूलाई चिया खुवाउने चिया सागरको उद्देश्य हो । वातावरणमा सञ्चालक शर्मा आफैँ नै सचेत रहेको बताउँछन् । 

परिवार, इष्टमित्र, साथीभाईदेखि हरकोहीको लागि चिया सागरको वातावरण उत्कृष्ट छ । चिया सागरमा वातावरणसँगै चियाको गुणस्तर पनि बालबालिकादेखि वृद्धवृद्धाले समेत आफ्नो रोजाईको चिया खान पाईन्छ । चिया सागर खोल्नु भन्दा पहिलेदेखि नै पर्यटन व्यवसायमा आवद्ध थिए, केशव शर्मा । चिया सागरमा शर्मासँगै अन्य दुई प्रकाश पौडेल र नवीन शर्माको पनि लगानी छ । केशव लामो समयदेखि होटल तथा पर्यटन व्यवसायमा संलग्न छन् । एक अर्काप्रतिको विश्वासको कारण नै बिना कुनै बाधा साझेदारीमा व्यापार  सम्भव भएको केशव शर्माको भनाई छ ।

 

६५ लाख लगानी, ७ प्रकारका चिसो चियासहित ५५ स्वाद   

लामो समय बजार अध्ययन गरेपश्चात् ग्राहकको रूची र आवश्यकतालाई हेर्दै गत असारमा ६५ लाख लगानीमा खुलेको हो, चिया सागर । नयाँ बानेश्वरको के एण्ड के कलेजको अपोजिट साईडमा रहेको छ चिया सागर । आनन्दको वातावरणमा स्वस्थ, गुणस्तर र बजारमा पाइनेभन्दा भिन्न चिया बेच्नु चिया सागरको उद्देश्य हो । चिया भन्ने बित्तिकै ‘मिल्क टी’ र ‘ब्ल्याक टी’ भन्ने बुझाई छ, त्यसको अर्काे रोजाईमा ‘लेमन टी’ । त्यसमा पनि न स्वाद, न वातावरण, एक त महँंगो, अर्काे गुणस्तरहिन चिया । कतिपयलाई चियामा पनि गुणस्तर ? भन्ने लाग्ला, हो खाद्यान्नदेखि हरेक प्रकारका सामानको गुणस्तर हुन्छ । 

चिया सागरले व्यवसाय मात्र सञ्चालन गरेको होईन गुणस्तरीय चिया उत्पादन गर्दै आएको छ । चिया सागरले उत्पादन गर्ने गरेको जुनसुकै प्रकारका चिया पनि गुणस्तरयुक्त रहेको सञ्चालक शर्मा बताउँछन् । 

उनीहरूले मसलाबारे पनि धेरै अध्ययन गरी आफैं चिया पकाएर मसलाको स्वाद परीक्षण गरे । यहाँको चियाले ग्राहकको स्वास्थ्यलाई हानी नगर्ने शर्मा बताउँछन् । चिया सागरमा ५५ प्रकारका चिया पाइन्छ । चियाका पारखीहरूलाई गुणस्तरिय र फरक–फरक स्वाद चखाउने उद्देश्यले खोलिएको चिया सागरमा ५० देखि तीन सय रूपैयाँ कपसम्मका चिया उपलब्ध छन् । यहाँको सबैभन्दा महँगो मट्का चिया ’पट’ हो जसको तीन सय ५० रूपैयाँ पर्छ । चिया सागरको मेनुमा मट्का, मसला, घरको चिया, हर्बल, ग्रीन, आइस टी, हर्बल टी, ग्रिन टी, फ्रुट टी उपलब्ध छन् । चिया, कफी बाहेक यहाँ बेकरी आइटम पनि पाइन्छ ।

गर्मी होस, वा जाडो चिया भन्ने बित्तिकै तातो पेय पदार्थ भन्ने बुझिन्छ । तर, यसलाई परिवर्तन गर्दै चिया सागरले चिसो चिया उत्पादन गरेको छ । सञ्चालकहरु कफी खान जाँदा कोल्ड कफी देखेका, सुनेका र खाएका पनि थिए । चिया चिसो ? चिसो कफी हुन्छ भने चिया किन नहुनु भन्ने विचारबाट चिसो चिया बनाएको सञ्चालक शर्मा बताउँछन् । ‘कफि खान जाँदा कफीका विभिन्न प्रकारमा कोल्ड कफी हुन्थ्यो । चिया पनि विभिन्न प्रकारमा बेच्न सकिन्छ । चिया तातो मात्रै होइन, चिसो पनि पिउन सकिन्छ भन्ने हाम्रो सोचबाट अहिले हामीले सात वटा चिसो चियाको आइटम उपलब्ध गराउँदै आएका छौँ ।’ उनले भने । 

चिया सागर बिहान साढे ६ बजेदेखि बेलुकी साढे ९ बजेसम्म खुल्ला हुन्छ । यहाँ प्रत्यक्ष रुपमा ८ जनाले रोजगारी पाएका छन् । बसुन्धरामा चिया सागरको नयाँ आउटलेट खुल्दैछ । त्यहाँको काम अन्तिम अवस्थामा पुगेको र अबको दुई हप्तामा सम्पन्न हुने शर्माले जानकारी दिए । उक्त आउटलेट खोल्न करिब ६५–७० लाख रुपैयाँ लगानी गरिएको शर्मा बताउँछन् । 

ग्राहक कति सन्तुष्ट ? 

अर्थ संसार ‘चिया सागर’ मा पुग्दा युवाहरुको ग्रुप चिया पिउँदै गफीँदै थिए । उनीहरुसँग हामी पनि मिसियौं । अनि सोध्यौँ, कस्तो छ ‘चिया सागर’ ? दाङका अनिश केसीले भने– नाम जस्तै चियाको सागर बनेको छ, ‘चिया सागर’ । 

यहाँ धेरैजसो युवा पुस्ताका ग्राहकहरू चिया पिउन आउने गरेको सञ्चालक शर्मा बताउँछन् । चियाका लागि सांसद, मन्त्री, कलाकारसम्मको जमघटको थलो बनेको छ, चिया सागर । कार्यालयका काम, बैठक, साथीभाईसँग बसेर छलफल गर्न चिया सागर गज्जबको ठाँउ बनेको छ । चिया सागरका रेगुलर ग्राहकहरूबाट पनि राम्रो प्रतिक्रिया आएको उनी बताउँछन् । 

बीचको टेबलमा साथीलाई कुरिरहेकी पोखराकी सुस्मीता ढकालले मट्का चियाको स्वाद लिँदै थिइन् । ‘चिया सागर’ मा दोस्रो पटक आएको बताउने ढकालले भनिन्, ‘५५ वटै चिया चाख्ने विचार छ, अहिलेसम्म १० वटा प्रकार खाइसकेँ ।’     

मौलिकतासँगै आधुनिकता झल्किने सजावट 

चिया सागर तीन हजार वर्गफिटभन्दा बढी क्षेत्रफलमा तयार भएको छ । सबैतिर खुल्ला रहेकाले यहाँ एकपटकमा दुई सय जनासम्म अटाउँछन् । यहाँको सजावटमा आधुनिकतासँगै नेपाली मौलिकता पनि झल्किन्छ । चिया सागरको भित्र सिलिङ र भित्ताहरूमा नाङ्लो टालिएको छ । डालो उल्टो झुन्ड्याएर भित्र बत्ती राखिएको छ । विशेषगरी साँझमा चिया सागरको दृश्य आकर्षक देखिन्छ । झट्ट हेर्दा स्ट्यान्डर देखिने चिया सागर वास्तवमा साधारण व्यक्तिको लागि पनि उपयुक्त ठाउँ हो ।

’चिया सागरको वातावरण परम्परागत र आधुनिकताको मिश्रण हो जसले मौलिकता झल्किनुका साथै आधुनिकता मनपराउने दुवै खालका ग्राहकहरुका लागि सजावट भएको हो । यसले भिन्न दृश्य सुन्दर देखिन्छ,’ शर्माले भने ।

सञ्चालक तीनै जनासँग व्यावसायिक ज्ञान र लामो समयको अनुभव भएकाले बजारले हरेक समय जुनकुनै क्षेत्रमा नयाँपन खोज्ने भएकाले सोहीअनुरूप काम गर्दा नेपालमा धेरै सम्भावना रहेको बताउँछन् । व्यवसायको लागि चिया नै किन रोज्नु भयो ? भन्ने प्रश्नमा सञ्चालक शर्माले थोरै लगानी र आफ्नो अनुभवबाट नयाँ कुरा खोज्दा चिया नै व्यवसाय बनाएको बताउँछन् । चिया सागरका सञ्चालक कुनै पनि काममा नयाँपन हुनुपर्ने बताउँछन् । 

जहाँ छिर्ने बित्तिकै देखिन्छ चिया, कफी र गफ । त्यसैले चियाको चुस्की लिँदै साथीभाईसँग घण्टौँसम्म गफिएर बस्ने हो भने यो भन्दा उपयुक्त स्थान शायदै अर्को हुन सक्ला । त्यसै पनि चियाका पारखीहरूका लागि चिया, साथी र गफ छुट्टै आनन्दको क्षण हुने गर्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको