माछापुच्छ्रे बैंकले रौतहटस्थित् चन्द्रपुर शाखाका ग्राहकको पैसा हराएको विषयमा स्पष्टिकरण दिएको छ । बैंकले उनकै मोबाइल बैकिङबाट हराएको बताएको छ । हिजो (मंगलबार) बैंकले एक विज्ञप्ति जारी गर्दै बैंकको सिस्टममा कुनै समस्या नदेखिएको बताएको हो ।
ग्राहकको पैसा स्वयम् उनकै मोबाइल बैंकिङ एपमार्फत विभिन्न बैंक तथा खल्ती एपमा ट्रान्सफर गरिएको देखिएको बैंकले विज्ञप्तिमार्फत् जनाएको छ ।
‘बैंकको सिस्टममा केही समस्या नदेखिएको र बैंकबाट पठाइएको सम्पूर्ण एसएमएस एक्टिभेसन कोड तथा ओटीपी ग्राहककै मोबाइलमा गएको हुनाले उक्त कोड अनाधिकृत व्यक्तिलाई जानकारी नगराई वा अनाधिकृत व्यक्तिको पहुँचमा नपुगी उक्त कारोबार नहुने देखिन्छ,’ बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यस्तो छ बैंकबाट गाएब भएको रकमको बिस्तृत रुप :
गत आइतबार चेक साट्न बैंकको चन्द्रपुर शाखा पुगेका वृन्दावन नगरपालिका नं. ३ का रामेश्वर राय यादवको खाताबाट ९ लाख रकम गायब भएको थियो । रहस्यमयरूपमा पैसा गायब भएको भन्दै पीडित पक्षले आइतबार रातिसम्म बैंकको कार्यालय घेराउ गरेका थिए । यादवका अनुसार अघिल्लो दिनसम्म उनको खातामा १२ लाख २० हजार रुपैयाँ थियो।
बिहीबार बिहान उनले १२ लाख २० हजार रकम भएको नेपाल बैंक लिमिटेडको चेक नम्बर ०१२७६४९९७३ को ९ लाख, सोही बैंकको चेक नम्बर ०१२७६४९९७४ बाट दुई लाख २० हजार र ग्लोबल आईएमई बैंकको ००५८०१६७५२ नम्बर चेकको एक लाखको भौचर भरेर माछापुच्छ्रे बैंकमा जम्मा गर्न (क्लिरियन्समा) दिएका थिए।
उनका अनुसार शुक्रबार दिउँसो ३ बजे उनको खाता नम्बर ७५००६५३८२८०००१४ मा पैसा जम्मा भएको मोबाइलमा म्यासेजसमेत आएको थियो। आइतबार आठ लाख रुपैयाँको चेक लिएर साट्न पुग्दा उनले खाताबाट ९ लाख पैसा गायब भएको थाहा पाएका थिए।
त्यसपछि उनले बैंकको शाखा प्रमुख रामजी दासलाई भेटर खाताबाट पैसा कसरी गायब भयो भनेर सोधे। प्रमुख दासले ‘ह्याकरले पैसा लगेको हुनसक्ने’ जवाफ दिए। यादवका अनुसार दासले यसमा आफूहरूले केही गर्न नसक्ने बताए।
दासले खातावालालाई ‘आफैँ पत्ता लगाउनु’ भनेपछि बैंकमा पीडितका आफन्तले बिहान साढे ११ बजेतिर घेराउ गरे । राति अबेरसम्म पीडितका आफन्तले बैंक घेराउ गरे।
यससँगै इलाका प्रहरी चन्द्रनिगाहपुरबाट प्रहरीको टोली पुगेपछि घटनाबारे अनुसन्धान थालेको छ। पीडित यादवले बैंककै कर्मचारीले पैसा गायब भएको आरोप लगाएका छन्।
इलाका प्रहरी चन्द्रनिगाहपुरका डीएसपी एकनारायण कोइरालाले यादवको खाताबाट रकम गायब भएकोबारे अनुसन्धान गरिरहेको बताए।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस