Like us!
Follow us!
Connect us!
Watch us!

बचतकर्तालाई अन्यायमा पारेर सहकारी बचाउनुको कुनै औचित्य छैनः रजिष्टार सहकारी विभाग

अर्थ संसार

बुधबार, २० असार २०८०, १७ : ४९ मा प्रकाशित

बचतकर्तालाई अन्यायमा पारेर सहकारी बचाउनुको कुनै औचित्य छैनः रजिष्टार सहकारी विभाग

विश्वमा देखापरेको आर्थिक मन्दीको असर नेपालमा पनि देखा पर्न थालेको छ । विश्व आर्थिक मन्दीका असर नेपालका प्रायः सबै क्षेत्रमा देखा परिरहेको छ । त्यसमध्ये पनि सहकारी क्षेत्र धरासयी बनेको छ । नेपालको कूल अर्थतन्त्रको लगभग १९ प्रतिशतभन्दा बढी भार ओगटेको सहकारी क्षेत्र धरासायी हुँदा बचतकर्ताहरु मारमा परेका छन् ।

‘सहकारी क्षेत्रमा देखिएका समस्या र समाधानका उपायबारे’ मा रिपोर्टर्स क्लब नेपालले विशेष साक्षात्कार कार्यक्रमको आयोजना गरेको छ । आज (बुधबार) क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा सहकारी विभाग, नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ, राष्ट्रिय सहकारी बैंकलगायतबाट प्रतिनिधित्व रहेको थियो ।

अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सहकारी विभागका रजिष्टार नवराज घिमिरेले बचतकर्तालाई अन्यायमा पारेर सहकारी बचाउन नसकिने बताए । बचतकर्तालाई न्याय प्रदान गर्न नसकिएको खण्डमा सहकारी बचाउनुको औचित्य पनि नरहेको उनको भनाई छ ।

‘सहकारी बचाउनुपर्छ, तर बचतकर्तालाई अन्यायमा पारेर होइन । बचत फिर्ता नगराएर सहकारी बचाउनुको कुनै अर्थ पनि छैन । बचतकर्तालाई न्याय प्रदान गर्न सकिएन भने त्यो सहकारी बच्दापनि बच्दैन,’– उनले भने ।

बचतकर्ताहरुले सहकारीलाई गरेको विश्वासमा संकट आएको कारणले अहिले सहकारीहरुमा समस्या देखिएको उनको बुझाई छ । विश्व आर्थिक मन्दीको प्रभाव सहकारी क्षेत्रमा पनि परेको उनको दाबी छ । नेपालको वित्तिय क्षेत्रको १९ प्रतिशत हिस्सा सहकारीले ओगटेको उनले बताए ।

सहकारीको सिद्धान्तअनुसार समूदायमा आधारित हुनुपर्ने भएपनि नेपालमा बचतकर्तामा आधारित बनाउँदा समस्या आएको उनले बताए । सहकारीको पैसा बचतकर्तामामात्रै लगानी गर्ने सहकारीको सिद्धान्त भएपनि सञ्चालकहरुले घरजग्गा र शेयर कारोबारमा लगानी गर्दा अहिलेको समस्या आएको उनको आरोप छ । नेपालमा सहकारीलाई पैसा संकलनको माध्यममात्रै बनाइँदा समस्या उत्पन्न भएको उनले बताए । अहिले साना तथा ठूला सबै प्रकारका सहकारीमा समस्या रहेको सहकारीका सञ्चालकहरु सदस्यहरुसँग टाढा हुँदापनि समस्या विकराल हुँदै गएको उनको बुझाई छ ।

उनले संस्थाको सञ्चालकले बचतकर्तालाई बचतको सुरक्षा छ भनेर भन्न नसक्दा अहिलेको अवस्था सिर्जना भएको बताए । विश्वका विकसित मुलुकको विकास सहकारीबाट नै भएको बताउँदै उनले नेपालमा पनि सहकारी अभियान अगाडि बढाउन आवश्यक रहेको बताए ।

आफ्नो सिमित स्वार्थ पूरा गर्नमात्रै काम गरेका केही सञ्चालकहरुलाई पाता कस्ने काम सरकारले गरिरहेको उनको भनाई छ । धितो नराखी ऋण दिएको खण्डमा सञ्चालकको जायजेथाबाट भएपनि बचतकर्ताको बचत रकम फिर्ता गराउने उनले प्रतिबद्धता व्यक्त गरे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको