Like us!
Follow us!
Connect us!
Watch us!

१११ स्थानका लागि ८०३ जनाबीच प्रतिस्पर्धा

मंगलबार, ०७ कार्तिक २०७४, ०८ : ०३ मा प्रकाशित

१११ स्थानका लागि ८०३ जनाबीच प्रतिस्पर्धा

अर्थ संसार, काठमाडौँ– पहिलो चरणमा मङ्सिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको प्रत्यक्ष निर्वाचनतर्फ ८०७ जनाको उम्मेदवारी परेको छ ।  ती उम्मेदवारीमध्ये प्रतिनिधिसभाको ३७ स्थानका लागि ३२२ उम्मेदवार चुनावी मैदानमा छन् भने प्रदेशसभाको ७४ स्थानका लागि ४८१ उम्मेदवार चुनावी प्रतिस्पर्धा गर्दैछन् ।  

कूल उम्मेदवारी ८०७ परे पनि आयोगले छानबिनपछि ८०३ जनाको उम्मेदवारी कायम गरेको छ ।  यसरी पहिलो चरणमा प्रतिनिधिसभा र प्रदेशसभाका १११ स्थानका लागि ८०३ जनाले प्रतिस्पर्धा गर्ने भएका हुन् । 

पहिलो चरणमा ३२ जिल्लामा हुने निर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभामा कुनै पनि दलले शतप्रतिशत उम्मेदवारी दिएका छैनन् ।  पहिलो पटक गठबन्धनको अभ्यासमा रहेका दलहरूले तालमेलअनुसार नै उम्मेदवारी दर्ता गराएका छन् ।

 कतिपय जिल्लामा भने तालमेल हुँदाहुँदै पनि विद्रोही उम्मेदवार खडा भएका छन् ।  निर्वाचन आयोगले सोमबार सार्वजनिक गरेको विवरणअनुसार सबैभन्दा बढी क्षेत्रमा नेपाली कांँग्रेसले उम्मेदवारी दिएको छ ।  प्रदेश र प्रतिनिधिसभा गरी काँंग्रेसले कुल १०३ निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएको छ ।  पहिलो चरणका ३२ जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा गरी १११ निर्वाचन क्षेत्र छन् ।  

यसैगरी नयाँ शक्तिले ८१ स्थानमा उम्मेदवार उठाएको छ ।  यस्तै, गठबन्धनका कारण सबै क्षेत्रमा उम्मेदवार नदिएको एमालेले ६२ स्थानमा उम्मेदवारी दर्ता गरेको छ ।  माओवादी केन्द्रले ४९ स्थानमा मनोनयन दर्ता गरेको छ ।  सङ्घीय समाजवादी फोरम नेपालले ५५ स्थानमा उम्मेदवार उठाउँदा राप्रपा प्रजातान्त्रिकले ४३ स्थानमा उम्मेदवारी दिएको छ ।  

जिल्लागत रूपमा भने प्रतिनिधिसभामा सबैभन्दा बढी उम्मेदवार नुवाकोटमा छन् ।  प्रतिनिधिसभामा सबैभन्दा कम उम्मेदवार मनाङ र मुस्ताङमा छन् ।  नुवाकोटमा दुई गठबन्धनसहित २४ जना उम्मेदवार छन् ।

 नुवाकोटमा प्रतिनिधिसभाका दुई क्षेत्र छन् ।  प्रतिनिधिसभामा दुई क्षेत्र रहेको सिन्धुपाल्चोकमा पनि २२ जनाले प्रतिस्पर्धा गर्दैछन् ।  यस्तै, प्रतिनिधिसभामा दुई निर्वाचन क्षेत्र रहेको धादिङमा २१ जनाबीच प्रतिस्पर्धा हुने भएको छ ।  गोरखामा प्रतिनिधिसभाका दुई स्थानका लागि १८ जनाबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिनिधिसभाको एकमात्र सिट रहेका जिल्लामध्ये सबैभन्दा बढी उम्मेदवार दोलखामा छन् ।  दोलखामा प्रतिनिधिसभाको एक सिटका लागि १६ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।  यस्तै, प्रतिनिधिसभाको एक सिटका लागि रामेछापमा १४, लमजुङमा १२, रसुवामा ११, खोटाङमा १० र रोल्पामा १० जनाबीच प्रतिस्पर्धा हुँदैछ ।

सबैभन्दा कम उम्मेदवार प्रतिनिधिसभातर्फ मनाङ र मुस्ताङमा छन् ।  एक सिटका लागि दुवै जिल्लामा दुई/दुई उम्मेदवार चुनावी मैदानमा हुनुहुन्छ ।  यस्तै बाजुरामा तीन, डोल्पामा पाँच र दार्चुलामा पाँच जनाबीच प्रतिनिधिसभाका लागि प्रतिस्पर्धा हुने भएको छ ।  प्रदेशतर्फ सबैभन्दा बढी उम्मेदवारी धादिङमा परेको छ ।

  प्रदेशसभाका चार सिटका लागि २५ जनाको मनोनयन दर्ता भएको छ ।  क्षेत्र नम्बर १ अन्तर्गतको प्रदेशसभाको दुई सिटका लागि धादिङमा १७ जना प्रतिस्पर्धामा हुनुहुन्छ ।

दुई सिट प्रदेशसभातर्फ रहेको दोलखामा २४ जनाको मनोनयन परेको छ ।  दोलखामा प्रदेशसभाका दुवै सिटमा १२÷१२ जनाको मनोनयन दर्ता भएको छ ।  यस्तै, रामेछापमा प्रदेशसभाको दुई स्थानमा पनि १२ जनाबीच नै प्रतिस्पर्धा हुने भएको छ । 

यस्तै, सिन्धुपाल्चोकको क्षेत्र नम्बर १ अन्तर्गत प्रदेशसभाका दुई सिटका लागि २० जनाबीच प्रतिस्पर्धा हुँदैछ भने सिन्धुपाल्चोक २ को प्रदेशसभाका सिटका लागि १६ जनाबीच प्रतिस्पर्धा हुँदैछ ।

प्रदेशसभातर्फ पनि मनाङमा सबैभन्दा कम उम्मेदवार छन् ।  प्रदेशका दुई सिटका लागि मनाङमा पाँच जनाको मनोनयन परेको छ ।  यस्तै, गोरखाको क्षेत्र नम्बर १ अन्तर्गत प्रदेशसभाको दुई सिटका लागि पनि सात जना र बैतडीमा प्रदेशसभाको दुई सिटका लागि सात जनाबीच नै प्रतिस्पर्धा हुनेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको