नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै देशभर मतदाता नामावली दर्ता अभियान सुरु गर्ने तयारी गरेको छ। पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पार्टीका तल्ला तहका संगठनलाई परिपत्र जारी गर्दै छठ पर्वलगत्तै अभियानलाई तीव्र गतिमा अघि बढाउन निर्देशन दिएका हुन्।
निर्वाचन आयोगले मतदाता नाम दर्ताका लागि कात्तिक ३० गतेसम्मको समय निर्धारण गरेसँगै कांग्रेस नेतृत्वले यस अवधिभित्र अधिकतम नयाँ मतदाता दर्ता गराउने लक्ष्य लिएको हो।
परिपत्रमा थापा र शर्माले युवा पुस्तामा मताधिकारको महत्वबारे सचेतना फैलाउन र उनीहरूलाई मतदाता नामावलीमा समावेश गराउन प्रत्येक तहका समितिलाई सक्रिय हुन आग्रह गरेका छन्। “जिल्ला र प्रदेश समितिले अन्य गतिविधि थाती राखेर मतदाता दर्ता अभियानलाई प्राथमिकता दिनुपर्छ,” परिपत्रमा भनिएको छ।
महामन्त्रीद्वयले प्रदेश कार्यसमितिका पदाधिकारीलाई फरक–फरक जिल्लामा पठाई अभियानको नेतृत्व गर्न पनि निर्देशन दिएका छन्। साथै, पार्टीका सांसदहरूलाई आ–आफ्नो क्षेत्रभित्र गएर मतदाता दर्ता अभियानलाई जनस्तरमा पुर्याउन आग्रह गरिएको छ।
परिपत्रमा नेपाली नागरिकताको प्रमाणपत्र भएका युवाहरूले सोही कागजातसहित जिल्ला निर्वाचन कार्यालयमा पुगेर कात्तिक मसान्तसम्म नाम दर्ता गर्न सक्ने उल्लेख छ। जसले अझै नागरिकता बनाएका छैनन्, तिनीहरूले नागरिकता बनाएर सोही दिन नाम दर्ता गर्न सक्ने व्यवस्था पनि परिपत्रमा प्रष्ट्याइएको छ।
जेन–जी आन्दोलनपछि नयाँ पुस्तामा राजनीतिक चेतना र सहभागिताको लहर देखिँदै गएको पृष्ठभूमिमा कांग्रेसले यसलाई अवसरका रूपमा लिएको देखिन्छ। गगन थापाले पहिले नै युवा मतदातालाई पार्टीप्रति आकर्षित गर्नुपर्ने बताउँदै आएका थिए, र अहिले उनी यही दिशामा अभियान सञ्चालन गर्न जुटेका छन्।
पार्टीको केन्द्रीय समिति बैठक पनि जारी रहेकोले नयाँ राजनीतिक सन्दर्भमा आवश्यक निर्णय लिने तयारी भइरहेको महामन्त्रीद्वयले जानकारी दिएका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस