नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूले कहिल्यै भ्रष्टाचार नगरेको दाबी गर्दै छानबिनका लागि खुला चुनौती दिएका छन्। आइतबार काठमाडौंमा आयोजित सम्पादकहरूसँगको संवाद कार्यक्रममा उनले आफ्नो सम्पत्ति र आर्थिक गतिविधिबारे कुनै पनि मञ्च वा संस्थाले जाँच गर्न सक्ने बताएका हुन्।
ओलीले भने, “मैले एक पैसा पनि भ्रष्टाचार गरेको छैन। तपाईंहरूलाई लाग्छ भने पत्रकार महासंघ वा सम्पादक मण्डलले नै छानबिन गरून्, म तयार छु।” उनले थपे, “मसँग त जलेको घरको खरानीबाहेक केही छैन। सरकारले बैंक खाता रोक्ने निर्णय गरेको छ, तर मेरो खातामा त सांसद र प्रधानमन्त्री हुँदा पाएको तलबभत्ताबाट जम्मा भएको २०–२५ लाख रुपैयाँ मात्र छ।”
उनले विश्वभरका बैंकहरूसँग समेत सम्पत्ति छानबिनका लागि सोधपुछ गर्न चुनौती दिए। “विश्वका बैंकहरूमा मेरो नाममा कुनै सम्पत्ति छ भने सार्वजनिक गरून्,” उनले भने।
त्यस अवसरमा एमाले अध्यक्ष ओलीले मुलुकमा सुशासन, पारदर्शिता र उत्तरदायित्व स्थापनाका लागि आफू सधैं प्रतिबद्ध रहेको दाबी पनि गरे। उनले भने, “म सधैं सत्य र सिद्धान्तको पक्षमा उभिएको व्यक्ति हुँ। यो देशका नागरिकले सम्मानजनक जीवन बाँच्न पाउनु पर्छ भन्ने मेरो विश्वास हो।”
ओलीले हाल देखिएको सामाजिक असन्तोष र आन्दोलनको सन्दर्भमा पनि टिप्पणी गर्दै भने, “बेथिति र भ्रष्टाचार अन्त्य गर्ने माग गर्दै जेन–जी पुस्ताले सुरु गरेको आन्दोलन शान्तिपूर्ण थियो, तर त्यसमा घुसपैठ गरी अस्थिरता फैलाउने प्रयास भएको देखिन्छ। सत्य क्रमशः बाहिर आउनेछ।”
उनले निष्पक्ष सम्पत्ति छानबिनका लागि आफू मात्रै होइन, सबै राजनीतिक नेताहरू पनि तयार हुनुपर्ने बताए। “देशमा शुद्ध शासन र पारदर्शी नेतृत्वको आवश्यकता छ,” ओलीको भनाइ थियो।
अन्त्यमा उनले लोकतन्त्र, राष्ट्रियता र जनताको अधिकारको संरक्षणका लागि एमाले सधैं जनताको पक्षमा दृढ रहेको दाबी गरे।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस