सोलु हाईड्रोपावर लिमिटेडले यही मंसिर ७ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि कुल १ करोड १० लाख कित्ता आईपीओ जारी गर्न लागेको हो ।
कम्पनीले गत कात्तिक २४ गते २ अर्ब रुपैयाँ बराबरको प्रतिशेयर एक सय रुपैयाँ अंकित दरका २ करोड कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसमध्ये १ अर्ब रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका १ करोड कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो।
सोमध्ये पनि आयोजना अति प्रभावित क्षेत्र सोलु दूधकुण्ड नगरपालिकाको वडा नं. ७, ११ र थुलुङ दूधकोशी गाउँपालिकाको वडा नं. १ को स्थानिय बासिन्दाहरुका लागि ४० प्रतिशत अर्थात ४० लाख कित्ता तथा सोलु दूधकुण्ड नगरपालिका र थुलुङ दूधकोशी गाउँपालिकाको अति प्रभावित वडा बाहेक अन्य वडामा बस्ने स्थानिय बासिन्दाहरुलाई ६० प्रतिशत अर्थात ६० लाख कित्ता बाँडफाँट गरिनेछ।
पहिलो चरणको आईपीओमा आवेदन दिंदा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने बढीमा १ लाख कित्तासम्मका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीले मंसिर १० गतेभित्र र आयोजना प्रभावितले मंसिर २१ गतेभित्र आवेदन दिइसक्नु पर्नेछ। तर मागबमोजिम आवेदन नपरेमा वैदेशिक रोजगारीमा रहेकाको अवधि मंसिर २१ गतेसम्म र आयोजना प्रभावितको पुस ७ गतेसम्म लम्बिन सक्नेछ।
स्थानिय बासिन्दाले ग्लोबल आइएमई बैंकको सल्लेरी, सोलुखुम्बु शाखा, लक्ष्मी सनराइज बैंकको नेले, सोलुखुम्बु शाखा र आयोजनास्थल तिङ्गलाबाट आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्। आईपीओ निष्काशनको लागि गराएको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीलाई ‘आइआरएन डबल बी इस्यूअर रेटिङ’ दिएको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड र हिमालयन क्यापिटल लिमिटेड रहेका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस