Like us!
Follow us!
Connect us!
Watch us!

कच्चा तेलको मूल्य गत एक वर्ष यताकै उच्च तहमा

अर्थ संसार

विहीबार, ११ असोज २०८०, १३ : ५० मा प्रकाशित

कच्चा तेलको मूल्य गत एक वर्ष यताकै उच्च तहमा

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य गत एक वर्ष यताकै उच्च तहमा पुगेको छ ।

अमेरिकाको ओक्लाहोमास्थित कुसिङमा रहेको भण्डारण गृहमा कच्चा तेलको स्टक २०२२ को जुलाई यताकै न्यून पुगेसँगै तेलको भाउ उच्च विन्दुमा पुगेको हो । उक्त भण्डारण गृहमा तेलको स्टक २ करोड २० लाख ब्यारलमा झरेको जनाइएको छ जुन अघिल्लो साताको भन्दा करिब साढे नौ लाख ब्यारल कम हो । यसरी नै स्टक घट्दै गए कच्चा तेल बजारमा ल्याउन नै मुस्किल हुने जनाइएको छ । सन् २०२३ को अन्त्यसम्म नै पेट्रोलियम पदार्थको भाउ उच्च तहमै रहने पनि विज्ञहरुको भनाई छ । अहिले तेलको भाउ प्रति ब्यारल ९७.५६ डलरमा कारोबार भइरहेको छ । एक ब्यारलमा करिब १ सय ५९ लिटर हुनेगर्दछ ।

तेलको भण्डारण घट्नुमा तेल उत्पादक देशहरुको कार्टेल ओपेक प्लसले गरेको उत्पादन कटौती रहेको छ । ओपेक प्लसको मुख्य हिस्सेदार साउदी अरबले यस वर्षको अन्त्यसम्मका लागि दैनिक १० लाख ब्यारलले घटाउन निर्णय गरिसकेको छ । यससँगै साउदीले अहिले दैनिक ९० लाख ब्यारल कच्चा तेल उत्पादन गरिरहेको छ । अर्को मुख्य कच्चा तेल निर्यातकर्ता रसियाले पनि दैनिक ३ लाख ब्यारल निर्यात कटौती कायम राख्ने जनाएको छ ।

यसैगरी आउने महिनामा कच्चा तेल प्रशोधन गर्ने रिफाइनरीहरुको मर्मत सम्भारको समय हुने हुँदा तेल प्रशोधनको मात्रामा थप गिरावट देखिने जनाइएको छ । तर लामो समयसम्म तेलको भाउ बढिँरहदा त्यसले मागलाई प्रभावित पार्ने हुँदा ओपेक समूहले तेल भाउ उच्च तहमा राखी नराख्ने विज्ञहरुले जनाएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको