Like us!
Follow us!
Connect us!
Watch us!

कसरी निर्क्योल गरिन्छ सेयर प्रिमियम ? हेर्नुहोस् नेपालमा के कस्तो छ व्यवस्था ?

अर्थ संसार

आइतबार, ०३ मंसिर २०८०, १२ : १७ मा प्रकाशित

कसरी निर्क्योल गरिन्छ सेयर प्रिमियम ? हेर्नुहोस् नेपालमा के कस्तो छ व्यवस्था ?

नेपालमा प्रिमियममा धितोपत्र वा सेयर निष्काशन गर्ने सुविधा धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ ले दिएको छ । नियमावलीले प्रिमियममा धितोपत्र निष्कासन गर्न चाहने कम्पनीलाई विभिन्न मापदण्ड तोकी प्रिमियम निर्धारण गर्ने तरिका बारे पनि खुलाएको छ ।

प्रिमियममा धितोपत्र निष्काशन गर्न संगठित संस्थाले विभिन्न शर्तहरु पूरा गर्नुपर्नेछ । त्यस्ता संगठित संस्था लगातार पछिल्लो तीन वर्षसम्म खुद मुनाफामा सञ्चालनमा रहेको हुनुपर्नेछ भने प्रति शेयर चुक्ता पूँजी भन्दा प्रति शेयर नेटवर्थ बढी भएको हुनुपर्दछ । यसैगरी संगठित संस्थाको साधारण सभाले प्रिमियम मूल्यमा धितोपत्र जारी गर्ने निर्णय गरेको हुनुपर्छ भने प्रिमियम मूल्य निर्धारण गर्दा अपनाईएको बिधि, औचित्य र औचित्यलाई पुष्टि गर्ने गरी संगठित संस्था भन्दा बाहिरका विज्ञ वा विज्ञ संस्थाबाट प्रमाणित धितोपत्र मूल्यांकन प्रतिवेदन पनि प्रस्तुत गर्नुपर्नेछ । यसैगरी संगठित संस्थाले कम्तिमा औसत वा सो भन्दा माथिल्लो क्रेडिट रेटिङ्गको ग्रेड प्राप्त गरेको हुनु पर्नेछ ।

कसरी हुन्छ प्रिमियम निर्धारण ?
प्रिमियम निर्धारणका धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशन वा बिक्री प्रस्ताव मार्फत निष्काशन गर्न चाहने सङ्गठित संस्थाको धितोपत्रको प्रिमियम गणना गर्दा पछिल्लो तीन वर्षको पूँजीकृत भएको आम्दानी (क्यापिटलाइज्ड अर्निङ्ग), भविष्यमा प्राप्त हुने नगद प्रवाहको वर्तमान मूल्य (डिस्काउन्टेड क्यास फ्लो) र अन्तर्राष्ट्रिय प्रचलनको आधारमा मूल्याङ्कनकर्ताले अपनाएको अन्य कुनै एक विधि अवलम्बन गरी प्राप्त हुने कुल मूल्यको औसत मूल्य गणना गर्नुपर्नेछ ।

यसरी कायम भएको औसत मूल्य र सङ्गठित संस्थाको पछिल्लो लेखापरीक्षण भएको वित्तीय विवरण अनुसारको प्रति शेयर नेटवर्थको दुई गुणाले हुन आउने मूल्यमा जुन कम हुन्छ सो रकमलाई प्रिमियम मूल्य  कायम गर्नुपर्नेछ । यसैगरी थप सार्वजनिक निष्काशन एफपिओमा प्रिमियम निर्धारण गर्दा सूचीकृत सङ्गठित  संस्थाको पछिल्लो लेखापरीक्षण भएको वित्तीय विवरण अनुसारको प्रति शेयर नेटवर्थ भन्दा बढी नहुने गरी प्रिमियम सहितको निष्काशन मूल्य निर्धारण गर्नुपर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको