Like us!
Follow us!
Connect us!
Watch us!

रास्वपा सांसद श्रेष्ठको प्रश्न : "एनसेल बिक्री प्रकरण पुँजीगत लाभकर छल्न त हैन?"

अर्थ संसार

सोमबार, १८ मंसिर २०८०, १४ : २२ मा प्रकाशित

रास्वपा सांसद श्रेष्ठको प्रश्न : "एनसेल बिक्री प्रकरण पुँजीगत लाभकर छल्न त हैन?"

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले एनसेल बिक्री प्रकरणमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिलाई पाँच प्रश्न सोधेकी छन् ।

श्रेष्ठले मलेसियन कम्पनी आजियाटाले एनसेल बिक्री गर्ने क्रममा निकालेको वक्तव्यले नेपालको अन्तर्राष्ट्रिय छविमा आँच पुग्ने र भविष्यमा वैदेशिक लगानी निरुत्साहित हुने हुँदा प्रश्नहरुको सम्बोधन हुनुपर्ने भन्दै विभिन्न पाँच प्रश्न सोधेकी हुन् । पहिलो प्रश्नमा नेपाल दूरसञ्चार प्राधिकरणबाट पूर्व स्वीकृति नलिई प्रमुख शेयरधनी आजियाटा बाहिरिँदा परिणाम के हुन्छन्? आजियाटाले बेहोर्नुपर्ने कुनै जरिवाना वा सजाय हुन्छ? यदि हुन्छन् भने संकलन प्रक्रिया के हुन्छ? भनेर सोधिएको छ ।

दोस्रो प्रश्नमा टेलियासोनेराले आजियाटालाई एनसेल बिक्री गर्दा निर्धारण गरेको र आजियाटाले कबोल गरेको क्यापिटल गेन कर पूर्ण भुक्तानी गरेको छ कि छैन? यस बाहेक ठूला करदाता कार्यालयले थप निर्धारण गरेको कर बक्यौता कति छ र एक्सियाटा बाहिरिएको अवस्थामा तिर्ने जिम्मा कसको हुन्छ? भनेर सोधिएको छ ।

तेस्रो प्रश्नमा चलिरहेको व्यवसाय किनेको रकमभन्दा ९६ प्रतिशत कम रकममा एनसेल बेच्नु अस्वभाविक देखिन्छ । यसमाथि आगामी ६ वर्षसम्मको मुनाफामा भने आजियाटाकै हक लाग्ने भनेर सम्झौता भएको सुनिन्छ । यो सम्झौता २५ प्रतिशत क्यापिटल गेन करको सट्टा ५ प्रतिशत लाभांश कर तिर्न रचिएको प्रपञ्च त हैन? यति कम मूल्यमा बिक्री भइरहँदा खरिदकर्ता र बिक्रिकर्ता बीच अन्य देशमा रहेको सम्पति सट्टा–पट्टा गरी दुवै देशमा क्यापिटल गेन कर छल्ने योजना त हैन भनेर खोज गर्न पर्ने हो कि? सोधिएको छ ।

चौथो प्रश्नमा नेपालमा दुरसञ्चार प्रदायक संस्थाले सेवा लाइसेन्स नवीकरण दस्तुर कति लाग्छ भनेर सोधिएको छ । यसैगरी पाँचौ प्रश्नमा निजी स्वामित्वमा रहेको दुरसञ्चार संस्था निश्चित वर्षपछि सरकारी स्वामित्वमा वा पब्लिक लिमिटेडमा जाने प्रावधान कस्तो हो र यो प्रावधान रहँदा निजी स्वामित्व अवधि सकिन लाग्दा स्वामित्व हस्तान्तरणमा नियमन गर्न पर्ने हो कि होइन? भनेर सोधिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको