एनसेलले गत हप्ताको आन्दोलनका क्रममा आफ्ना कार्यालयहरूमा पुगेको क्षति र त्यसबाट उत्पन्न चुनौतीबीच पनि सेवाप्रति आफ्नो अटुट प्रतिबद्धता दोहोर्याएको छ। कम्पनीले जारी गरेको वक्तव्यमा काठमाडौंस्थित मुख्यालय “एनसेल आइकन” सहित महेन्द्रनगर, धनगढी र पोखराका क्षेत्रीय कार्यालयमा भएको तोडफोडका कारण ठूलो क्षति भएको स्पष्ट पारेको छ। एनसेलले यसलाई भौतिक क्षतिमा मात्र सीमित नभई कर्मचारीहरूको सुरक्षा र सेवाको निरन्तरतामाथि समेत ठूलो खतरा रहेको टिप्पणी गरेको छ।
यस्तो कठिन अवस्थामा पनि एनसेलले आफ्नो मूल उद्देश्य, अर्थात् नेपाली जनतालाई दूरसञ्चार सेवामा निरन्तर पहुँच सुनिश्चित गर्ने प्रतिबद्धता कायम राखेको जनाएको छ। सेवामा अवरोध नआओस् भन्ने लक्ष्यका साथ कम्पनीले तीन दिनसम्म निःशुल्क लोकल भ्वाइस कल, एसएमएस र इन्टरनेट उपलब्ध गराएको जानकारी दिएको छ। एनसेलका अनुसार यस कदमले जनतालाई संकटका समयमा सहज संचार सुविधा प्राप्त गर्न सहयोग पुगेको छ।
वक्तव्यमा कम्पनीले नेपालको दूरसञ्चार यात्रामा दुई दशकदेखि खेलिरहेको भूमिकालाई स्मरण गर्दै रोजगार सिर्जना, आर्थिक वृद्धिमा योगदान र डिजिटल नेपाल निर्माणको अभियानलाई अघि बढाउन आफू निरन्तर सक्रिय रहेको उल्लेख छ। कम्पनीले भोगेका कठिनाइले आफ्नो संकल्प अझ दृढ भएको र भविष्यमा अझ प्रभावकारी रूपमा नेपाली समाज र अर्थतन्त्रमा योगदान गर्ने विश्वास व्यक्त गरेको छ।
देश अन्तरिम सरकारको नयाँ यात्रातर्फ अघि बढिरहेको अवस्थामा एनसेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिँदै परिवर्तनलाई सकारात्मक रूपमा स्वागत गरेको छ। युवाहरूको अगुवाइमा भएको आन्दोलनले ल्याएको राजनीतिक परिवर्तनले देशलाई एकता, शान्ति र समृद्धितर्फ डोर्याओस् भन्ने आशा कम्पनीले प्रकट गरेको छ।
एनसेलले आफ्ना कर्मचारी, ग्राहक र नेपाली जनताप्रति निरन्तर दिएको साथ, समर्थन र ऐक्यबद्धताप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि काँधमा काँध मिलाएर अघि बढ्ने प्रतिबद्धता जनाएको छ। साथै, आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको स्वास्थ्य लाभको कामना गरिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस