Like us!
Follow us!
Connect us!
Watch us!

एनटिसीको नयाँ सिमकार्ड किन्दा अब थप सुविधा

अर्थ संसार

विहीबार, २८ मंसिर २०८०, १६ : ४८ मा प्रकाशित

एनटिसीको नयाँ सिमकार्ड किन्दा अब थप सुविधा

नेपाल टेलिकमको नयाँ प्रिपेड सिमकार्ड लिएर चलाउँदा उपलब्ध हुने विभिन्न निःशुल्क सुविधा थप हुने भएको छ । त्यसैगरी कक्षा ८ देखि माथिका विद्यार्थीलाई समेत नयाँ सिम उपलब्ध गराइनेछ भने रिचार्ज गर्दा पाइने बोनस सुविधा समेत थप गरिएको छ । 

रु. ९० मा उपलब्ध हुने नयाँ प्रिपेड सिमकार्डमार्फत ३०० एमबी डाटा चलाउन, ४० मिनेट कल गर्न र २० वटा एसएमएस पठाउन सकिने सुविधा उपलब्ध भइरहेको छ । तर अब सो सिमकार्डमार्फत १ जीबी डाटा चलाउन सकिने छ भने नेपाल टेलिकमकै नेटवर्कमा १०० मिनेट भ्वाइस कल गर्न र १०० वटा एसएमएस पठाउन सकिने छ । यी सबै सुविधा ३० दिन सम्म प्रयोग गर्न सकिने छ । पहिले जस्तै यसमा रु. १० ब्यालेन्स समेत उपलब्ध हुनेछ ।

एनटिसीले अब कक्षा ८, ९ र १० का विद्यार्थीलाई समेत निजको अभिभावकको नागरिकता र सम्बन्धित विद्यालयद्वारा जारी गरिएको परिचय पत्रको आधारमा रु. ९० मा प्रिपेड सिमकार्ड उपलब्ध गराउने भएको छ । सो सिमकार्डमा समेत नयाँ सुविधा उपलब्ध हुनेछ । नयाँ सिमकार्डमार्फत १ जीबी डाटा चलाउन सकिने छ भने नेपाल टेलिकमकै नेटवर्कमा १०० मिनेट भ्वाइस कल गर्न र १०० वटा एसएमएस पठाउन सकिने छ । सो सिमकार्डमा पनि रु. १० ब्यालेन्स हुनेछ ।

यसैगरी विभिन्न दरका एमपोस तथा फिजिकल रिचार्ज कार्डमार्फत प्रिपेड तथा पोस्टपेड मोबाइलमा रिचार्ज गर्दा डाटा बोनस पनि उपलब्ध गराइने भएको छ । अब रु. १०० को रिचार्ज गर्दा समेत डाटा बोनस उपलब्ध हुनेछ । यस अनुसार एमपोसमार्फत रु. १०० देखि १९९ को रिचार्ज गर्दा १ दिनका लागि १ जीबी, रु. २०० देखि ४९९ को रिचार्ज गर्दा प्रतिदिन १ जीबीका दरले २ दिनका लागि २ जीबी र रु. ५०० वा सो भन्दा माथिको रिचार्ज गर्दा प्रतिदिन २ जीबीका दरले ४ दिनका लागि ८ जीबी डाटा बोनसको रुपमा उपलब्ध हुनेछ । 

त्यसैगरी फिजिकल रिचार्जमार्फत रु. १०० को रिचार्ज गर्दा १ दिनका लागि १ जीबी, रु. २०० को रिचार्ज गर्दा प्रतिदिन १ जीबीका दरले २ दिनका लागि २ जीबी र रु. ५०० तथा रु. १००० को रिचार्ज गर्दा प्रतिदिन २ जीबीका दरले ४ दिनका लागि ८ जीबी डाटा बोनसको रुपमा उपलब्ध हुनेछ । यी सबै नयाँ सुविधा आगामी पुस १ देखि प्रारम्भ हुनेछ र फागुन ३० सम्म उपलब्ध हुनेछ । 

नेपाल टेलिकमले विभिन्न चाडपर्व र अन्य अवसरमा समेत सेवाग्राहीका लागि विभिन्न सुविधा उपलब्ध गराउँदै आएको छ । यसैको निरन्तरताको रुपमा उपलब्ध हुने नयाँ सुविधाबाट सेवाग्राहीले थप लाभ लिन सक्ने अपेक्षा गरेको कम्पनीले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको