Like us!
Follow us!
Connect us!
Watch us!

अव्यवहारिक कर खारेजीको माग गर्दै आज देशभरका हल बन्द

अर्थ संसार

सोमबार, २२ माघ २०८०, ०८ : ३३ मा प्रकाशित

अव्यवहारिक कर खारेजीको माग गर्दै आज देशभरका हल बन्द

अव्यवहारिक करहरुको खारेजीको माग गर्दै आज सोमबार एक दिन मुलुकभरका फिल्म हलहरु बन्द हुने भएका छन् ।

नेपाल चलचित्र संघको आह्वानमा विभिन्न करहरुले चलचित्र व्यवसाय सञ्चालन गर्न नसक्ने अवस्था आएको भन्दै सांकेतिक रुपमा एक दिन हल बन्द गर्न लागिएको हो । संघद्वारा जारी प्रेस विज्ञप्तिमा विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण पश्चात् नेपाली चलचित्र क्षेत्र धराशायी भएको उल्लेख गर्दै चलचित्र क्षेत्रले विभिन्न करहरुको नाममा ३३ प्रतिशतभन्दा बढी करहरु तिर्न बाध्य पारिएको जनाइएको छ ।

मूल्य अभिवृद्धि कर तथा कर्पोरेट कर लागूभएपछि अन्य करहरुको नलगाउने संहिता विपरीत चलचित्र विकाश शुल्क, स्थानीय मनोरञ्जन कर लगायत विभिन्न करहरुले चलचित्र व्यवसाय सञ्चालन गर्न नसक्ने अवस्था भएको हुँदा मूल्य अभिवृद्धि कर बाहेकका अन्य अव्यवहारिक करहरुको खारेजीको संघले माग गरेको छ । चलचित्र विकाश बोर्ड स्थापना हुनु पूर्व मुलुकमा करिब ४५० चलचित्र घरहरु सञ्चालनमा भएको बताउँदै हाल मुलुकभर चलचित्र घरहरुको संख्या घटेर करिब १५० मा सीमित हुन पुगेको संघले जनाएको छ ।

सञ्चालनमा रहेका चलचित्र घरहरुको पनि व्यवसाय शून्यप्राय हुँदा चलचित्र व्यवसाय सञ्चालन गर्न नसक्ने अवस्था आएकाले एक दिन मुलुकभरका चलचित्र घरहरु बन्द गर्ने निर्णय गरिएको जनाइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

सम्बन्धित खबर

धेरै पढिएको