Like us!
Follow us!
Connect us!
Watch us!

सरकारी कर्मचारीलाई अनिवार्य स्वदेशी जुत्ता लगाउनुपर्ने व्यवस्था गर्न उद्योगीहरुको माग

अर्थ संसार

विहीबार, ०६ बैशाख २०८१, १७ : ११ मा प्रकाशित

सरकारी कर्मचारीलाई अनिवार्य स्वदेशी जुत्ता लगाउनुपर्ने व्यवस्था गर्न उद्योगीहरुको माग

जुत्ता चप्पल उत्पादक उद्योगीहरुले सरकारले सरकारी कार्यालयका कर्मचारीहरुले प्रयोग गर्ने जुत्ताहरु नेपाली उत्पादन लगाउनु पर्ने नीति नियम ल्याउन आवश्यक रहेको बताएका छन् । 

बिहीबार जुत्ता चप्पल उत्पादक उद्योगी व्यवसायीहरुले बागमती प्रदेश सरकारसँग नेपाली जुत्ता चप्पलको बजारीकरण र निर्यातका लागि सहज वातावरण बनाउन सरकारसँग माग गर्दै उद्योगीहरुले यस्तो बताएका हुन् ।

व्यवसायीहरुले स्वदेशी नेपाली जुत्ता चप्पल उत्पादनमा मुलुक आत्मनिर्भर रहेको भन्दै विदेश निर्यातको लागि संघ र प्रदेश सरकारले उचित वातावरण बनाउन आवश्यक रहेको बताए । उनीहरुले नेपाली जुत्ता चप्पल उद्योगीहरुले कच्चा पदार्थ, बजारीकरण, निर्यातका लागि गुणस्तरका विषयमा समस्या रहेको भन्दै सरकारले नेपाली उत्पादनको प्रोत्साहन र प्रवर्द्धन गरी निर्यातको लागि सहजिकरण गर्न माग गरे ।

बजारीकरणको लागि संघ, प्रदेश र स्थानीय निकायहरुका कर्मचारीहरुले प्रयोग गर्ने जुत्ता स्वदेशी उत्पादन अनिवार्य बनाउने गरी नीति बनाउन पनि माग गरेका छन्  । फुटवेयर म्यानुफ्याक्चर्स एशोसिएशन अफ नेपालका अध्यक्ष रुद्र न्यौपाने नेपाली उत्पादन जुत्ता बिक्री वितरण, उत्पादन गर्ने दक्ष जनशक्ति, नेपाली ब्राण्डिङ जुत्तालाई गुणस्तरीय छ भनेर चिनाउने काममा सरकारले सहयोग गर्नुपर्ने बताएका छन् । 

उनले सरकारको प्रतिवद्धताले राष्ट्रियता र आत्मियता बढाउने र व्यवसायीको आत्मवल उच्च हुने भन्दै सरकारले सहज वातावरण बनाउँदा मात्रै उत्पादन वृद्धि हुने अवस्था रहेको बताए । न्यौपानेले एशोसियसनले सिंहदरबारमा नेपाली जुत्ता अभियान चलाउन लागेको बताए । 

एशोसिएशनका वरिष्ठ उपाध्यक्ष सुरज बन्जाडेले नेपालमा बार्षिक नौ करोड फुटवयेरको माग रहेको तर नेपाली उद्योगको उत्पादन पूर्वाधार १६ करोड रहेको बताए । सरकारी नीति र बजारीकरणको समस्याको कारण उत्पादन क्षमता भन्दा ६० प्रतिशत मात्रै उत्पादन भइरहेको उनले बताए । बन्जाडेले अहिले छ करोडसम्म उत्पादन गरेर बिक्री वितरण गरिएको बताए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको