Like us!
Follow us!
Connect us!
Watch us!

एक सेकेन्डको खेलले बुद्धभूमीमा लगानीकर्ताले गुमाए करिब ९ प्रतिशत मुनाफा

अर्थ संसार

मंगलबार, ०८ जेठ २०८१, २० : ४७ मा प्रकाशित

एक सेकेन्डको खेलले बुद्धभूमीमा लगानीकर्ताले गुमाए करिब ९ प्रतिशत मुनाफा

मङ्गलबार अन्तिम मिलिसेकेन्डको कारोबारले बुद्धभूमी हाइड्रोपावरका लगानीकर्ता करिब ९ प्रतिशत मुनाफा गुमाएका छन् ।

सर्किट मूल्यमा कारोबार भएको कम्पनीको सेयरमा अन्तिम समयमा न्यून मूल्यमा केही कित्ता एमकेटी प्रयोग गरि बिक्री गरिदिँदा लगानीकर्तालाई ठूलो घाटा परेको हो । ब्रोकर २८ बाट करिब ६ हजार कित्ता खरिद भई ६६१.७ रुपैयाँमा पुगेको सेयरभाउमा अन्तिम सेकेन्डमा एमकेटी अप्सन प्रयोग गरि एकैचोटी ६१० रुपैयाँमा सेयर बिक्री गरिएको थियो ।

एमकेटी अप्सन प्रयोग गरि यस अघि पनि सेयरको भाउ घटाउने कार्य हुँदै आएको छ । यसलाई नियन्त्रण गर्न सेयरभाउको दैनिक कारोबारको औसत मूल्यलाई नै अन्तिम मूल्य कायम गरे सुझाव आए पनि त्यसबारे खासै छलफल अघि बढेको छैन । ठूला लगानीकर्ताले आफू दिनभरी कारोबार गरि बस्ने समय नहुँदा अन्त्यमा बल्कमा खरिद गर्ने गरेको तर यस्ता गतिविधिले निरुत्साहित भएको बताउँदै आएका छन् ।

हकप्रदको स्वीकृतिपछि आकर्षण 

विद्युत नियमन आयोगले बुद्धभूमी हाइड्रोपावर कम्पनी लिमिटेडलाई हकप्रद निष्कासनको स्वीकृति प्रदान गरेपछि कम्पनीको सेयरमा लगानीकर्ताले आकर्षण देखाएका हुन्। 

कम्पनीले हालको चुक्तापुँजीको २:३ अनुपातमा हकप्रद सेयर निष्कासनका लागि आयोगसँग स्वीकृति माग गरेकोमा आयोगले १:१ अनुपातमा निष्कासन अनुमति दिएको हो । कम्पनीको हालको चुक्ता पुँजी ४० करोड रुपैयाँ रहेकोमा हकप्रद निष्कासन पछि चुक्तापुँजी ८० करोड रुपैयाँ पुग्नेछ । आयोगले अनुमति दिएसँगै अब कम्पनीले साधारणसभामा हकप्रद प्रस्ताव पेश गर्नेछ ।

कम्पनीले हकप्रद निष्काशन सम्बन्धी कार्य गर्न एनआइसी एशिया क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गर्ने सम्झौता गरिसकेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको