Like us!
Follow us!
Connect us!
Watch us!

बाह्रबिसेमा २२० केभीको सबस्टेसन निर्माण सम्पन्न, मर्स्याङ्दी जलविद्युत् पूर्ण क्षमतामा सञ्चालित

अर्थ संसार

आइतबार, ०९ असार २०८१, १४ : २० मा प्रकाशित

बाह्रबिसेमा २२० केभीको सबस्टेसन निर्माण सम्पन्न, मर्स्याङ्दी जलविद्युत् पूर्ण क्षमतामा सञ्चालित

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा २२०/१३२ केभी सबस्टेसन निर्माण सम्पन्न भएको छ । बाह्रबिसे सबस्टेसनमा २२०/१३२ केभी, १६० एमभीए र १३२/११ केभी, ५ एमभीएका पावर ट्रान्सफर्मर छन् । ग्यास इन्सुलेटेड प्रणाली (जीआईएस) प्रविधिमा आधारित सबस्टेसनका सम्पूर्ण उपकरणहरुको परीक्षण सम्पन्न भइसकेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । बाह्रबिसेमै ४०० केभीको अर्को सबस्टेसन पनि निर्माणाधीन छ ।

नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माण गरिएको १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत् आयोजनाको विद्युत् यही सबस्टेसनमा जोडिने छ । मध्यभोटेकोशी जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन सुरु भएपछि सोही विद्युत् प्रयोग गरी बाह्रबिसे सबस्टेसनलाई चार्ज गरिने छ ।

निर्माण सम्पन्न भएको मध्यभोटेकोशीबाट विद्युत् उत्पादनका सुरु गर्न संरचना तथा उपकरण परीक्षणका क्रममा पानी हाल्दा सुरुङ चुहिएपछि हाल सुरुङको मर्मत भइरहेको छ । सुरुङ मर्मत आगामी भदौ दोस्रो साताभित्र (अगस्ट) सक्ने लक्ष्य राखि काम भइरहेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शनिबार सबस्टेसन, प्रसारण लाइन र मध्यभोटेकोशीको सुरुङ मर्मत कार्यको अनुगमन गरे । उनले तोकिएको समयभन्दा अघि नै सम्पूर्ण काम सम्पन्न गर्न आयोजना व्यवस्थापन र निर्माण व्यवसायीलाई आग्रह गरे । कार्यकारी निर्देशक घिसिङले बाह्रबिसे सबस्टेसन निर्माण सम्पन्न भइसकेकाले मध्यकोटेकोशीबाट उत्पादित विद्युत् प्रवाहका लागि समस्या नरहेको बताए ।

घिसिङका अनुसार सबस्टेसन तयार गर्न नसक्दा मध्यभोटेकोशीको विद्युत् जोड्न नसकिने हो कि भन्ने अवस्था थियो । अब २२० केभीे सबस्टेसन निर्माण सम्पन्न भइसकेपछि आयोजनाको विद्युत् जोड्न विभिन्न विकल्पहरु तयार भएको उनले बताए ।

मध्यभोटेकोशीबाट उत्पादित विद्युत् २२० केभी प्रसारण लाइनमार्फत बाह्रबिसे सबस्टेसनमा जोडिनेछ । आयोजनाले आफ्नो विद्युतृगृहको स्वीचयार्डबाट बाह्रबिसे सबस्टेसनसम्मको करिब ४ किलोमिटर लामो २२० केभी सिङ्गल सर्किट प्रसारण लाइनको टावरहरु निर्माण गरिसकेको छ । प्रसारण लाइनको करिब २ किलोमिटर तार तानिएको छ ।बाह्रबिसे नगरपालिका–३ र ४ स्थित पलाँतीका स्थानीय बासिन्दाको अवरोधका कारण आयोजनाले २ किलोमिटर तार तान्न सकिरहेको छैन ।

मध्यभोटेशीको विद्युत् प्रवाहका लागि अस्थायी रूपमा वैकल्पिक व्यवस्था गरिएको छ । २०० केभी प्रसारण लाइनबाट बाह्रबिसे सबस्टेसनमा पुगेको विद्युत्लाई सोही सबस्टेसनमार्फत १३२ केभीमा झारेर १३२ केभी प्रसारण लाइनबाट प्रवाह गरिने छ । यसका लागि २२ मेगावाटको माथिल्लो चाकु ए जलविद्युत आयोजनाको प्रवद्र्धक कम्पनी शिवश्री हाइड्रोपावरले निर्माण गरेको १३२ केभी सिङ्गल सर्किट प्रसारण लाइनलाई डबल बनाएर बाह्रबिसे सबस्टेसनमा लगिने छ । सोही प्रसारण लाइनबाट मध्यभोटेकोसीको विद्युत लामोसाँघु सबस्टेसन हुँदै राष्ट्रिय प्रणालीमा समाहित गरिने छ । अस्थायी बैकल्पिक व्यवस्था खिम्ती–बाह्रबिसे वा बाह्रबिसे–काठमाडौं प्रसारण लाइन सम्पन्न नभएसम्म रहने छ । उक्त लाइनहरु सम्पन्न भएपछि सोहीमार्फत विद्युत् प्रवाह हुने छ ।

तामाकोशी–काठमाडौं २२०÷४०० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत रामेछापस्थित नयाँ खिम्ती सबस्टेसनबाट बाह्रबिसेसम्म ४३ किलोमिटर प्रसारण लाइन निर्माणाधीन छ । प्रसारण लाइनमा पर्ने ११८ वटा टावरहरुमध्ये २ वटाको मात्र निर्माण बाँकी छ । नयाँ खिम्ती सबस्टेसन नजिक स्थानीयको अवरोधका कारण १ वटा टावर निर्माण हुन सकिरहेको छैन ।

सोही क्षेत्रमा प्रसारण लाइनको मार्गधिकारमा पर्ने जग्गाधनीहरुले जग्गाको शतप्रतिशत क्षतिपूर्तिको माग गरेका कारण १.३ किलोमिटर तार तान्न समस्या भएको प्राधिकरणको भनाई छ । ४३ किलोमिटर प्रसारण लाइनमध्ये ३४ किलोमिटर तार तानिएको छ ।

बाह्रबिसेबाट काठमाडौंको लप्सीफेदीसम्मको ४६ किलोमिटर ४०० केभी डबल सर्किट प्रसारण लाइन निर्माण अन्तिम चरणमा छ । ४६ किलोमिटर प्रसारण लाइनमा पर्ने १२२ वटा टावरमध्ये लप्सीफेदीका स्थानीयको अवरोधका कारण ५ वटा टावर निर्माण बाँकी छ । अहिले स्थानीयको अवरोध हटिसकेकाले टावर प्याड निर्माणका लागि जग्गा अधिग्रहण गर्न मुआब्जा निर्धारणको प्रक्रियामा रहेको आयोजना प्रमुख नितेश पौडेलले जानकारी दिए । ४६ किलोमिटर प्रसारण लाइनमध्ये ४२ किलोमिटर तार तानिसकिएको छ । अबरोध भएको ठाउँको मात्र काम बाँकी छ ।

तामाकोशी तथा सुनकोशी नदी र ती नदीहरूका सहायक खोलानालाको जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न तामाकोशी–काठमाडौं प्रसारण लाइन र सबस्टेसन निर्माण गरिएको हो । आयोजनामा नेपाल सरकार तथा प्राधिकरणको लगानी र एसियाली विकास बैकको सहुलितपूर्ण ऋण रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको